|

विराटनगर : सरकारी निकायबीच समन्वय नहुँदा कोशी राजमार्गको ढाट टंकीसिनुवारी खण्डको ६ लेन सडककुरुप देखिएको छ। सडक निर्माण सम्पन्न गर्ने समय आइसक्दा पनि विराटनगर इटहरी खण्डको अधिकांश भागमा निर्माण नै सुरु भएको छैन भने भएको काम पनि अस्तव्यस्त छ। 

६ लेन सडक निर्माण यति अस्तव्यस्त छ भन्ने कुरा विराटनगर महानगरपालिका प्रवेशद्वारदेखि टंकी सिनुवारी खण्डलाई मात्र हेर्दा जो कोहीले पनि अनुमान गर्नसक्छ। सो खण्डमा सडक पिच भइसकेको छ। तर, सडक बीचका बिजुलीका खम्बा उखेलिएका छैनन्।

चौडा सडकमा उभिएका खम्बाले सडक कुरुप देखिएको छ। सुरक्षाका दृष्टिले पनि सो बिजुलीका पोल संवेदनशील छन्। त्यसप्रति सम्वन्धित निकाय जिम्मेवार देखिएको छैन। खम्बामा खतरा लेखिएको फ्लेक्स बोर्ड त झुण्ड्याइएको छ तर प्रभावकारी छैन। 

लामो समयदेखि नेपाल विद्युत प्राधिकरणलाई खम्बा उखेल्न अनुरोध गर्दा पनि नटेरेपछि ठेकेदार कम्पनीले खम्बा नउखेली सडक पिच गरेको हो। यसले विकास निर्माणमा आवश्यक पर्ने समन्वय कति कमजोर छ भन्ने पनि उजागार गरेको छ। त्यति मात्र होइन सडक निर्माण गर्दा कार्यालयको तर्फबाट गर्नुपर्ने सहयोग र समन्वय नहुनुमा दुई पक्षबीचको समझदारीमा समस्या भएको अनुमान गर्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.