|

काठमाडौं : प्राडा कृष्णप्रसाद घिमिरेले तत्त्ववेत्ताहरू मानिसको चेतनातत्त्वको विकास प्रकृतिबाट हुने बताएका छन्। काठमाडौंको प्रदर्शनी मार्गस्थित आरआर क्याम्पसमा भएको साहित्य सन्ध्याको नियमित मासिक ३९५ औँ शृंखालाअन्तर्गत ‘समृद्ध समाज निर्माणमा प्रगतिशील साहित्यको भूमिका’ विषयमा विशद चर्चा गर्दै घिमिरेले ‘कला कलाका लागि’ भन्ने र ‘कला जीवनका लागि’ भन्ने दुई खाले मत पाइने र ‘कला जीवनका लागि’ भन्ने दार्शनिकहरू ‘साहित्य जीवनसँग सम्बन्धित हुने बताए।

सन १९४७ को सेप्टेम्बरमा हंस पत्रिकामा भारतीय समालोचक रामविलास शर्माले समाजलाई प्रगतिशील साहित्य किन आवश्यक छ भन्नेसम्बन्धमा चर्चा गरेको बताउँदै उनले अहिले पनि प्रगतिशील साहित्यले समाजको रूपान्तरणका पक्षमा चिन्ता गर्ने, व्यक्तिमनमा चेतना सम्प्रेषण गर्ने काम गर्दछ भन्ने बहस गम्भीररूपमा र राष्ट्रियस्तरमा आवश्यक रहेको औँल्याए। मान्छेका चेतना बढाउन र समृद्ध साहित्य सिर्जना गर्न अनि समाजलाई समृद्ध र सुदृढ पार्न प्रगतिशील साहित्यको विशिष्ट भूमिका रहने उनको भनाइ थियो।

गोष्ठीमा विधान आचार्य, भोलानाथ सुवेदी, प्रकाश बस्नेत ‘गफाडी’, गोविन्द नेपाल, माधव प्रधान, प्रशान्त खरेल, कल्पना आचार्य, डिल्लीराज अर्याल, शीतल गिरी, चूडा निर्भीक, ललिता दोषी, भावना न्यौपाने, धनबहादुर मगर, कृतिका आचार्य, दुर्गा रिमाल, भारद्वाज मित्र, मन्दिरा मधुश्री, रूपक अलङ्कार र नर्मदेश्वरी सत्यालले आआफ्ना कविता, गजल, गीत, हाइकु वाचन गरेका थिए। माधव प्रधानले राणा शासकले शहीद बनाएका गंगालालले लेखेको कवितालाई संगीत भरेर गाए थिए।

वाचित रचनामाथि टिप्पणी गर्दै नर्मदेश्वरी सत्यालले कविता भनेको सङ्छिप्तताभित्र विस्तृतता अभिव्यक्त गर्ने विधा भएको बताए। सर्जकले सिर्जना गर्दा सकारात्मक सोच राखेर समस्याको प्रकटीकरण वा उदात्तीकरण मात्र होइन सङ्केत वा उपायसमेत देखाउनु आवश्यक हुने उनको भनाइ थियो।

गोष्ठीका अध्यक्ष राम विनयले स्रष्टाले निराशा लेख्न नहुने बताउँदै सर्वहारा अधिनायकवाद होइन, सबैलाई मिलाएर लानुपर्छ, शान्तिपूर्ण सहअस्तित्व स्वीकार गर्नुपर्दछ भन्ने ख्रुस्चेभको मान्यतानुसार नै हाम्रो मुलुकको शासनसत्ता अहिले चलिरहेको बताए। उनले साम्राज्यवाद, दलाल नोकरशाही पुँजीवादको चर्को प्रहार पनि भोगिरहेकाले यसैको प्रतिविम्बनस्वरूप समाजमा नकारात्मकताको विकास भएको पाइएको उनको भनाइ थियो।

सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष शृंखलाको सञ्चालन सन्ध्याका कोषाध्यक्ष गोपाल मैनालीले गरेका थिए। गोष्ठीका अतिथिहरूमा प्राडा कृष्णप्रसाद घिमिरे, साहित्यकार नर्मदेश्वरी सत्याल, साहित्यकार विधान आचार्य, गायक एवं संगीतकार माधव प्रधान, वरिष्ठ कवि डिल्लीराज अर्याल, साहित्यकार शीतल गिरी उपस्थित थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.