|

काठमाडौं : नेपालमा स्नातक उत्तीर्ण गरेपछि मात्र कानुन विषय पढ्न पाउने व्यवस्था थियो तर काठमाडौं बानेश्वरस्थित नेपाल विद्यापीठ कलेजमा भने अब एसइई उत्तीर्णबाटै कानुन विषय पढ्‍न पाइने भएको छ। 

दस जोड दुई (प्लस–टु) उत्तीर्णबाटै कानुन विषय पढाउने यो कलेज नेपालको पहिलो र एकमात्र कलेज हो। यस वर्षको नयाँ शैक्षिक सत्रबाट उक्त विद्यापीठले कानुन संकायको पढाइ सुरु  गर्ने भएको हो।

कलेजले काठमाडौं महानगरपालिकाबाट विद्यालय सञ्चालनको अनुमति लिइसकेको विद्यापीठकी संयोजक अनिता भट्टराईले बताइन्। उनका अनुसार एसइई परीक्षामा ‘डी’ ग्रेडसम्म ल्याएका विद्यार्थीले कानुन विषय पढ्न पाउनेछन्। उनले उक्त विषय अध्यापनका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश, वरिष्ठ अधिवक्ता, नेपाल बारका पूर्वपदाधिकारी, शिक्षाविद् तथा वरिष्ठ वकिलहरू आबद्ध रहेको बताइन्।

संयोजक भट्टराईले विद्यार्थीले ‘ल’ विषय नै पढ्ने भएपछि स्नातक तह सकिँदासम्ममा सामान्य वेस बनिसक्ने र विद्यार्थीलाई पढ्नमा सहज हुने हुँदा ११ कक्षाबाटै यो विषय पढाउन लागेको बताइन्। विद्यार्थीलाई एलएलबी गर्न निकै गाह्रो हुन्छ, उनले भनिन्, ‘तल्लो तहदेखि नै कानुन विषय पढेपछि विद्यार्थीको समय पनि खेर जादैन, फेरि प्लस टु उत्तीर्ण गरेपछि विद्यार्थीले लाइसेन्स पाउँछन् र सामान्य लेखापढीको काम गर्ने अवसर पनि उनीहरूलाई हुन्छ।’

विद्यापीठका अनुसार कक्षा ११ र १२ मा कानुन संकायको ५०० पूर्ण‌ांकको पढाइ हुनेछ। कक्षा ११ र १२ मा विद्यार्थीले अनिवार्य नेपाली, अनिवार्य अंग्रेजीसँगै कानुनका सिद्धान्त, न्यायशास्त्र/ विधिशास्त्र र शासनशास्त्र गरी पाँच विषय पढ्नुपर्ने पनि संयोजक भट्टराईले सुनाइन्।

असार\ श्रावण महिनाबाट कक्षा सञ्चालन हुने हुँदा कलेजले यसै शैक्षिक क्षेत्रका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ। कलेजले प्रिन्सिपल, भ्वाइस प्रिन्सिपल, प्रयोगशाला सहायक, संयोजक, परीक्षा नियन्त्रक, परामर्शदाता, सेक्यिुरेटी गार्डलगायत विभिन्न पदमा खुला प्रतिस्पर्धाबाट शिक्षक र कर्मचारी लिन लागेको हो।

विद्यार्थीले भविष्यमा कानुनसम्बन्धी नै काम गर्ने र पढ्ने भएपछि ११ कक्षाबाटै कानुन विषय पढाए विद्यार्थीको बेस बन्दै जाने विद्यापीठका शिक्षक बताउँछन्। उनीहरूले तल्लो तहबाटै कानुन विषय पढ्दा भविष्यमा अधिवक्ता वा न्यायधीश हुने वा कानुनी क्षेत्रमा काम गर्ने व्यक्तिहरुको विज्ञतामा निखार आउने हुँदा प्लस टु बाटै कानुन विषय पढाउन थालिएको बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.