|

काठमाडौं : मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधानप्रति गम्भीर असहमति जनाउँदै आएको नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ।

महासंघको आइतबार बसेको केन्द्रीय समितिको बैठकले पहिलो चरणको आन्दोलन सम्पन्न हुँदासमेत सरकारले महासंघले उठाएका जायज माग सम्बोधन गर्नेतर्फ कुनै गम्भीरता नदेखाएको भन्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो।

समस्या समाधान गर्न सरकार सकारात्मक नदेखिएकाले आन्दोलन घोषणा गर्नुपरेको महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। महासंघले मिडिया काउन्सिल विधेयक संसद्‍मा पेस हुने दिन देशव्यापीरूपमा आकस्मिक विरोध प्रदर्शन गर्नेदेखि मानव हातेसाङ्लो बनाई बृहत् प्रदर्शन गर्नेसम्मका विरोधका कार्यक्रम तय गरेको छ। महासंघले जेठ ६ गतेदेखि जेठ २५ गतेसम्मका विरोधका कार्यक्रम सार्वजनिक गरेको हो।

कार्यक्रमअनुसार यही जेठ ६ र ७ गते महासंघका पूर्वअध्यक्षहरूसँग छलफल र परामर्श गर्ने, जेठ ८ गते संसद्‍मा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीहरुको ध्यानाकर्षण गराउने, जेठ ९ देखि १२ गतेसम्म सञ्चारमाध्यमका सम्पादकहरुसँग भेट गरी सञ्चार अभियान सञ्चालन गर्ने महासचिव विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यस्तै महासंघले जेठ १३ र १४ गते सांसदहरुसँग भेट गरी छलफल गर्ने, जेठ १६ र १७ गते प्रेस स्वतन्त्रता सेनानीको ऐक्यबद्धता, जेठ १८ देखि २० गतेसम्म महासंघको प्रतिष्ठान शाखा र एसोसिएटहरुको आयोजनामा उक्त विधेयकका कारण समाचार कक्षमा पर्ने प्रभावबारे छलफल कार्यक्रम चलाउने तय गरेको छ। यस्तै जेठ २१ र २२ गते महासंघका जिल्ला शाखाहरुले राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र

अधिकारकर्मीसँग अन्तरक्रिया गर्ने, जेठ २३ र २४ गते केन्द्रमा राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अधिकारकर्मीसँग अन्तरक्रिया गर्ने, जेठ २५ गते अपरान्ह ३:०० बजे बानेश्वरदेखि बबरमहलसम्म मानव हातेसाङ्लो बनाई बृहत प्रदर्शन गर्ने, काठमाडौं उपत्यका बाहिर प्रदेश राजधानी रहेको स्थानमा सोही खालको प्रदर्शन गर्ने र त्यसको संयोजन प्रदेश समितिले गर्नेलगायतका विराधका कार्यक्रम सार्वजनिक गरेको हो। मन्त्रिपरिषदवाट पारित भई संसदमा वैशाख २६ गते दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधानप्रति महासंघले असहमति जनाउँदै आएको हो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.