|
फाइल फोटो

काठमाडौं :  चिकित्सा शिक्षाको सुधारको माग राख्दै पटकपटक अनशन बसेका डा गोविन्द केसीले  विभिन्न माग राख्दै १० दिनदेखि अनशन बसेका नर्सहरूको माग पूरा गर्न आग्रह गरेका छन्।

आइतबार एक विज्ञप्ति जारी गर्दै डा केसीले  पेशागत सुधारसहित न्यायको माग गर्दै अनशन बसेका दुई नर्स जिता बराल र डिकी शेर्पाको माग पूरा गर्न आग्रह गरेका हुन्।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नर्सहरू जिता बराल र डिकी शेर्पाको बिग्रँदो स्वास्थ्य अवस्था तथा सरकारले उहाँहरूको मागप्रति देखाएको चरम असंवेदनशीलताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। स्वास्थ्य सेवा प्रवाहमा अद्वितीय भूमिका हुने नर्सहरू चर्को श्रम शोषणमा पर्नु, पेशागत सुरक्षा नहुनु, पेशागत माग राख्दा अपमानित हुनु, बारम्बार जायज आवाजहरु उठाइरहँदा कतै पनि सुनुवाइ नहुनु तथा केही सीप नलागेर अनसनरत हुँदा समेत राज्य र सम्बन्धित निकाय संवेदित नहुनु हाम्रो समाजकै लागि लाजमर्दो कुरा हो।'

यस्तै, डा केसीले चिकित्सा क्षेत्र तथा स्वास्थ्य शिक्षामा देखिएको व्यापारीकरण रोक्न पनि माग गरेका छन्। सेवा सुविधाको माग राख्दै आन्दोलन सुरु गरेका प्रत्यारोपण केन्द्रका नर्सहरूले लोकसेवाबाट स्थायी प्रक्रियामा सहभागी हुन भन्दै सूचना जारी गरेपछि आक्रोशित  भए पछि वैशाख ११ देखि आन्दोलनमा उत्रिएका  छन्।

नर्सहरूले प्रत्यारोपण केन्द्र प्रशासनले पाँच महिनादेखि पुराना कर्मचारीलाई स्थायी, काम र अनुभव हेरेर बढुवा गर्नुपर्ने, आफ्ना मान्छेलाई भन्दा काम गरेकैलाई प्रोत्साहन गर्नुपर्ने, जोखिम भत्ता प्रदान गर्नुपर्ने सहितका माग अघि सारेका छन्। आन्दोलनको बीचमै लोक सेवामार्फत आवेदन खुला गरिएको छ। तर, त्यसमा पनि चिकित्सक र नर्सको मात्रै आवेदन खोल्नुमा चलखेल भएको आरोप नर्सहरूले लगाउँदै आएका छन्। नर्सहरू विगत २१ दिनदेखि आन्दोलनमा छन्।

 हाल प्रत्यारोपण केन्द्रमा भएका ९६ जना नर्सहरूलाई बेवास्ता गरेर ९६ जना नै खुला प्रतिस्पर्धाबाट ल्याउन लागेको भन्दै आफूहरू आन्दोलनमा उत्रिनुपरेको नर्सहरूको भनाइ छ।  स्थायी, काम र अनुभवका आधारमा बढुवा, जोखिम भत्तालगायत माग राखेर शुक्रबारदेखि शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र र नेपाल नर्सिङ संघमा अनशनरत दुई नर्सको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ।

 नौ दिनदेखि प्रत्यारोपण केन्द्रको प्रांगणमा अनशनमा बसिरहेकी केन्द्रमा कार्यरत डिक्की‍ शेर्पा र नेपाल नर्सिङ संघको केन्द्रीय कार्यलय लाजिम्पाटमा जिता बराल अनशनमा छिन्। अनशनको पाँचौँ दिनसम्म आइपुग्दा स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनीहरूलाई इमर्जेन्सीमा भर्ना गरिएको छ। बराललाई वान्ता हुने, ज्वरो आउने, शरीर काँप्ने समस्या देखिएपछि आइतबारदेखि नै बिपी स्मृति अस्पताल भर्ना गरेर उपचार जारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.