|

बर्दिया : बर्दियाका पर्यटन व्यवसायी र संरक्षणकर्मीले पर्यटन प्रवर्द्धनका लागि कार र्‍याली आयोजना गरिएको छ। नेपाल भ्रमण वर्ष सन् २०२० र बर्दिया भ्रमण वर्ष २०७६ लाई सफल बनाउन बर्दियाका पर्यटन व्यवसायी र संरक्षणमा आबद्ध ब्यक्तिहरू कार र्‍यालीमा सहभागी भएका छन्।

आइतबार बिहान बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय परिसरमा ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठको अध्यक्षतामा तथा प्रतिनिधिसभा सदस्य सन्तकुमार थारु, संजय गौतम, विमला विक, बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष नेत्रराज आचार्य पर्यापर्यटन विकास मञ्चका अध्यक्ष मोहनलाल चौधरी लगायतको सहभागितामा बर्दियाको समग्र पर्यटन विकासका लागि आयोजना गरिएको सप्ताहव्यापी कार र्‍यालीको उद्धघाटन गरि र्‍याली पूर्वतर्फ पोखरा प्रस्थान गरेको छ।

आइतबार बिहान बर्दिया राष्ट्रिय निकुञ्जको कार्यालयबाट निस्किएको र्‍यालीले बर्दिया हुँदै बाँके, दाङ, कपिल्बस्तु, बुटवल पाल्पा हुँदै पोखरासम्म पुगेर पर्यटन प्रवर्द्धनका विषयमा त्यहाँका संरक्षणकर्मीहरूसँग अन्तरक्रिया गर्नेछ।

देशको शान, अन्तर्राष्ट्रिय पहिचान, हेर्न जाऔँ बर्दिया भन्ने मूल नारासहित २०७६ लाई बर्दिया भ्रमर्ण वर्ष घोषणा गरिएको छ। बर्दियाको समग्र पर्यटन विकासमा टेवा पुर्‍याउने र बर्दिया भ्रमण वर्ष २०७६ लाई सफल पार्ने उद्देश्यसहित सप्ताहव्यापी कार र्‍यालीको आयोजना गरिएको पर्यापर्यटन विकास मञ्चका अध्यक्ष मोहनलाल चौधरीले बताए।

कार र्‍यालीमा संरक्षणमा आबद्ध करीब ८० जना सहभागी भएका छन्। देशको शान, अन्तर्राष्ट्रिय पहिचान बोकेको बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको दुर्लभ वन्यजन्तुहरु र थारू समुदायको मौलिक संस्कृतिको जगेर्ना गर्न संरक्षण र पर्यटन सबैले बुझ्न जरुरी रहेको बताइएको छ। समग्र बर्दिया जिल्लाको भ्रमण गरी बर्दिया भ्रमण वर्ष २०७६ र नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल पार्नसमेत सम्पूर्ण पर्यटकहरूमा आग्रह गरिएको छ। र्‍यालीको यही जेठ १२ गते गुलरियामा एक कार्याक्रम आयोजना गरी समापन गरिने आयोजकले जनाएको छ।

बर्दिया राष्ट्रिय निकुञ्ज बर्दिया जिल्लाकै मुख्य पर्यटकीय गन्तव्य हो। निकुञ्ज भ्रमण गर्दा जंगल पदयात्रा, जीप सफारी, हात्ती सफारी, जलयात्रा, क्याम्पिंग, फिसिंग, थारू सांस्कृतिक नाच, थारू समुदायको मौलिक परिकारहरू, आदिको अबलोकन गर्न सकिन्छ।

बर्दियामा पछिल्लो समय बाघको संख्या बढेसँगै बाघ हेर्न बर्दिया आउने पर्यटकको संख्यासमेत बढ्दो छ। आन्तरिक तथा बाह्य पर्यटकहरू बाघ हेर्न चितवनपछि बर्दिया आउने परेका छन्।

बर्दिया राष्ट्रिय निकुञ्जमा अहिले ८७ वटा बाघ रहेका छन् भने १ सय २० बढी हात्ती रहेका छन्। यस्तै निकुञ्जमा ५ सय १३ प्रजातीका चराचुरुङ्गीलगायत अन्य थुप्रै वन्यजनतुहरू रहेको निकुञ्जले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.