|
File Photo

काठमाडौं : लुम्बिनी विकास कोषले किंन्जो टाँगे लुम्बिनी गुरुयोजनाको बाँकी काम ३ वर्षभित्र सम्पन्न हुने बताएको छ।

संसदीय समितिको आइतबारको छलफलमा लुम्बिनी विकास कोषका योजना अधिकृत सरोज भट्टराईले किन्जो टाँगे लुम्बिनी गुरुयोजनाको ८२ प्रतिशत काम सकिएकाले बाँकी १८ प्रतिशत काम तीन वर्षभित्र सम्पन्न गरिने प्रतिबद्धता जनाए। बाँकीकाम सम्पन्न गर्नका लागि ६ अर्ब रुपैया लाग्ने पनि उनले स्पष्ट पारे।

कोषसँग तत्काल प्राविधिक जनशक्ति नभएकाले परामर्शदातामार्फत गर्ने गरि छनोट प्रक्रियाको प्रारम्भिक काम पनि सम्पन्न भएको जानकारी उनले गराए। उनले एक महिनाभित्र परामर्शदाता नियुक्तिको प्रक्रिया टुंगो लगाई समयमै निर्माण कार्य सम्पन्न गर्ने गरि टेण्डर आव्हान गरिने बताए। 

उनले लुम्बिनी गुरु योजनाअन्तर्गत ४२ वटा बिहार बनाउने भनिएकाले सोही अनुसारको व्यवस्थापन गरिएको भए पनि बिहार निर्माण र संचालनमा केही समस्या देखिए पनि अहिले त्यस्तो अवस्था नरहेको स्पष्ट पारे। चन्दाबापत प्राप्त विदेशी मुद्राको सवालमा सटहीमा आउँने पैसा बैंकको प्रतिनिधि र सुरक्षाकर्मीको रोहवरमा सटही गर्ने गरिएको स्पष्ट पारे।

उनले लुम्बिनी विकास कोषको ऐनमा नै १० वटा मात्रै क्षेत्र हेर्ने भनि किटान गरिएकाले कपिलवस्तु, नवलपरासी र रुपन्देहीका बुद्धसँग सम्बन्धित् क्षेत्रहरूलाई गुरुयोजनामा समावेश गर्न नसकिएको स्पष्ट पारे। बुद्धसँग सम्बन्धित बाँकी क्षेत्रलाई वृहत्तर लुम्बिनी गुरुयोजनामा समावेश गर्ने प्रयास भइरहेको जानकारी उनले गराए।

बैठकमा समिति सभापति भरत शाह, सदस्यहरू राजेन्द्र केसी, ह्दयेश त्रिपाठीले मायादेवी मन्दिरको दान दक्षिणाको सही व्यवस्थापन र विहारमा होटल संचालन गर्न दिन नहुने बताएका थिए।

समितिले किंन्जो टाँगे लुम्बिनी गुरुयोजना, दानबापत प्राप्त विदेशी मुद्राको व्यवस्थापन, विहारमा होटल संञ्चालन भएको भन्ने सम्बन्धमा लुम्बिनी विकास कोषका अधिकारीसंग छलफल गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.