संवेदनशील भएर कलम चलाउन आग्रह

|

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले राज्यलाई बलियो बनाउने अभियानमा पत्रकार पनि लाग्नुपर्ने बताएका छन्।आइतबार डडेल्धुरा सदरमुकाममा आयोजित पत्रकारिता प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री शाहले यस्तो बताएका हुन्।

पत्रकार राज्यको चौथो अंग भएको उल्लेख गर्दै मन्त्री शाहले राज्यले पत्रकारमाथि लगानी गरेकाले एकजुट भएर राज्यलाई बलियो बनाउने अभियानमा लाग्नु पर्ने समेत बताए। संचारमन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका मन्त्री शाहले पत्रकारले निमुखाको आवाज भन्न सक्नु पर्ने बताए। पत्रकारले समाजको सद्भावलाई अगाडि बढाउन सक्नुपर्ने बताउँदै उनले सार्वभौमसत्ता, स्वतन्त्रता खुम्चाउने प्रयत्न भयो भने त्यसका विरुद्ध खबरदारी गर्नेमा उनको जोड थियो।

पत्रकारले आफूभन्दा माथि उठेर समाज र राष्ट्रको अधिनमा बस्न सक्ने प्रण गरे मात्रै समाजको कायापलट गर्ने सकिने उनको भनाइ थियो। साथै उनले पत्रकार र राजनीतिकर्मी वा सरकार सञ्चालनमा रहेका व्यक्तिहरू एकअर्काका प्रतिस्पर्धी नभएको बताए। ‘पत्रकार र राजनीतिकर्मी एकअर्काका प्रतिस्पर्धी होइनन्’ मन्त्री शाहले भने।

संचारकर्मी र राजनीतिकर्मीको सहकार्यले यो समाजलाई बदल्न सकिनेसमेत उनले बताए। सञ्चार, राजनीति, प्रशासनिक क्षेत्र एकअर्काका परिपूरक भएको उनको भनाइ थियो। ‘पत्रकार र राजनीतिकर्मी एकअर्काका परिपूरक हुन्’, उनले भने, ‘हामीले एकअर्कालाई सहयोग गरेर अगाडि बढ्नुपर्छ।’ देशमा रहेको गरिबी, अशिक्षा हटाउनतिर पनि मिलेर अगाडि बढ्नुपर्नेमा उनको जोड थियो। 

संवेदनशील भएर कलम चलाउन आग्रह

मन्त्री शाहले नेपालमा पत्रकारिता क्षेत्रले ठूलो फड्को मारेको उल्लेख गर्दै आम सञ्चारकर्मीहरुलाई संवेदनशील भएर कलम चलाउन आग्रह समेत गरे। पत्रकारले दिने समाचार, सूचनाले समाजमा एकता कायम हुने र विभाजन समेत हुने भएकाले सचेत भएर कलम चलाउन आग्रह गरेका हुन्।

‘तपाईंहरूको लेख्ने कलमले, दिने सन्देशले हाम्रो समाजको चित्रलाई प्रस्तुत गर्दछ। त्यसैले पत्रकारहरुले संवेदनशिल भएर कलम चलाउनु पदर्छ’ उनले भने, ‘यो सञ्चारको युग हो। तपाईंले दिने सूचनाले निर्माण पनि हुन्छ विनास पनि हुन्छ।’ उनले संचारकर्मी र राजनीतिकर्मीले एकअर्कामा विश्वास गरेर वा सहयोग गरेर अघि बढेमा भने समाजमा परिवर्तन आउने र जनताका अपेक्षालाई पूरा गर्न सक्ने बताए।

आम सञ्चार नीति बनाउँदै सरकार

मन्त्री शाहकाे पत्रकारले दिएका सुझाव समेटेर प्रदेशको कानुन निर्माण गर्ने भनाइ थियो। प्रदेश सरकार आम सञ्चार नीति बनाउने क्रममा रहेको उनले जानकारी समेत दिए। उनले संचार ऐन ल्याउने तयारी भइरहेको पनि बताए। ‘हामी आम सञ्चार नीति बनाउने दौरानमा छौं। सञ्चार ऐन ल्याउने तयारी भइरहेको छ’ उनले भने। यहाँका सञ्चार सञ्चार माध्यम वा गृहलाई सहयोग हुने गरी बजेट पनि ल्याइने उनले जानकारी दिए।

पत्रकारिता क्षेत्रलाई अझै व्यापक बनाएर आगाडि बढाउनुपर्ने उनको भनाइ थियो। यस प्रदेशमा रहेका स्रोत साधनको सदुपयोग गरी समृद्ध प्रदेश बनाउने अभियानमा प्रदेश सरकार लागिरहेको समेत उनले बताए। पत्रकारिता क्षेत्रलाई जनताले विश्वास गरेको उल्लेख गर्दै मन्त्री शाहले जनताका अधिकारका निम्ति आफ्नो पेसागत मर्यादा र अधिकारका लागि अघि बढ्न संचारकर्मीलाई अनुरोध समेत गरे। साथै उनले यहाँको पत्रकारिता क्षेत्रको विकासका लागि आफू सधैं कटिवद्ध भएर लाग्ने समेत प्रतिवद्धता व्यक्त गरे।

सरकारको ध्यान पत्रकारिता क्षेत्रको विकासमा जान सकेन 

अमरगढी नगरपालिकाका उपप्रमुख संगीता भण्डारीले सरकारको ध्यान पत्रकारिता क्षेत्रको विकासमा जान नसकेको बताइन्। उनले पत्रकारिता क्षेत्रको विकासमा सरकारको ध्यान नजाँदा पत्रकारिता क्षेत्रमा नकरात्मक विषयवस्तुले प्रवेश पाइरहेको बताइन्। ‘पत्रकारको क्षमता अभिवृद्धिका कार्यक्रमहरू जसरी ल्याइनु पर्थ्याे, प्राथमिकतामा राखिनु पर्थ्याे’ उनले भनिन्, ‘सरकारले पत्रकारको क्षमता अभिवृद्धिका कार्यक्रम ल्यान सकेन।’

जनप्रतिनिधि हुनुभन्दा पहिला आफूले पनि पत्रकारिता नै गरेको उल्लेख गर्दै उनले पत्रकारको क्षमता अभिवृद्धिका कार्यक्रमहरू ल्याउन प्रदेश सरकारलाई आग्रह गरिन्। ती कार्यक्रम ल्याउँदा स्थानीय सरकारले कहाँ के गर्नु पर्छ त्यसका लागि आफूहरू तयार रहेको पनि प्रतिबद्धता जनाइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.