रसुवा : उत्तरगया गाउँपालिका–३ ठूलोगाउँमा घाटुनाचको रौनकता बढेको छ। हरेक वर्ष गुरुङ समुदायले मनाउने सति घाटु नाच सुरु भएसँगै रौनकता बढेको हो।
पछिल्लो समय लोप हुने खतरामा पुगेको नाचको संरक्षण गर्न युवा पुस्ता मिलेर सति घाटु समारोह समिति निर्माण गरी शनिबारदेखि सुरु भएको समितिका अध्यक्ष सन्तोष गुरुङले बताए। उनले भने ‘उत्तरगया गाउँपालिका र नागरिकको सहयोगमा लोप हुने खतरामा पुगेको नाचलाई बचाउन हामी युवाहरु मिलेर सञ्चालन गरेका हौं।’
प्रत्येक वैशाख पूर्णिमा तथा बुद्ध जयन्तीको अवसर पारेर नाचिने नाच रसुवाको ठूलोगाउँमा पनि सुरु भएकोे समितिका अध्यक्ष गुरुङले बताए। सति घाटु नाचलाई गुरुङ जातिलाई चिनाउने सांस्कृतिक पर्वको रुपमा लिइन्छ। यो नाच परापूर्वक कालदेखिनै चलिआएको मान्यता छ।
शनिबारदेखि सुरु भएको नाच सोमबारसम्म सञ्चालन हुनेछ। नाचमा राजा र रानीको जीवन कथालाई प्रस्तुत गरिने सुनितामाया गुरुङले बताइन्। नृत्यमा रजश्वला नभएका दुई जना कन्यालाई स्थानीय भेषभूषामा सजाई १५ औँ शताब्दीका राजा परशुराम र रानी आम्पावतीको प्रतीकका रूपमा घाटु नृत्यको प्रारम्भ गरिइन्छ।
घाटु नृत्यको गीतमा मानिसको जीवनशैली, जन्म, कर्म, श्रृंगार, बिहेवारी, शिकार, माछा मार्ने, खेतीपाती तथा युद्धबारे व्याख्या तथा अभिनय गरिने सुनिताले बताइन्। गुरुङ समुदायको महत्त्वपूर्ण संस्कृतिको रुपमा रहेको घाटुनाच पछिल्लो समय उत्सवको रुपमा पनि मनाउन थालिएको छ।
परम्परागत संस्कृतिको संरक्षण गर्न तथा गुरुङहरुको पहिचानलाई जोगाउन विशेष महत्त्वका साथ मेला महोत्सवमा पनि घाटु नाच प्रदर्शन गर्ने गरिँदै आइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।