|

जाजरकोट : स्थानीय सरकार गठन भएपछि जाजरकोटमा अहिलेसम्म ४५० किलोमिटर सडकको ट्रयाक खोलिएको छ। स्थानीय तहहरुले चालु आर्थिक वर्षमा मात्र सडक निर्माणका लागि ३३ करोड रुपैयाँ खर्च गरेको छ।

एउटै स्थानीय तहमा १० देखि १५ वटासम्म सडक निर्माण भएको छ। कुशे गाउँपालिकाले १३३ किमी सडकको विस्तार गरेको छ। नलगाड नगरपालिकाले ९२, जूनीचाँदे गाउँपालिकाले ४० र बारेकोट गाउँपालिकाले २० किमी सडकको  विस्तार भएको छ।  भेरी नगरपालिकाभित्र केन्द्र र स्थानीय सरकारको गरी ४०८ किलोमिटर सडक निर्माण भएको छ। शिवालय गाउँपालिका र छेडागाड नगरपालिमामा समेत धमाधम काम भइरहेका छ। यी दुवै स्थानीय तहका अधिकांश ठाउँमा सडक पुगिसकेको छ। 

दुई आर्थिक वर्षमा प्रत्येक स्थानीय तहले सडक निर्माणमा मात्र चार करोडदेखि सात करोड रुपैयाँ खर्च गरेको पाइएको छ। कुशे गाउँपालिका र भेरी नगरपालिकाका सबै वडा केन्द्रमा सडक पुगेको छ। बारेकोट गाउँपालिकामा सडक निर्माण कार्य जारी रहेको छ। 

जिल्लाका सात वटा स्थानीय तहले सडक निर्माणमा भारी वजेट छुट्याएर काम थालेसँगै गाउँगाउँमा सडक निर्माणपछि यातायात सञ्चालन हुन थालेको छ। यातायाताको सहज पहुँच भएपछि सर्वसाधारणले  सेवा मात्र पाएका छैन्न, आफुले उत्पादन गरेका वस्तुहरु बजारीकरण गर्न समेत सजिलो भएको बताएका छन्।  कृषकले उत्पादन गरेका बस्तुहरु बिक्री भएसँगै अर्थ उपार्जनमा सघाउ पुगेको नलगाड नगरपालिका–५ का बलबहादुर रावलले बताए। 

सडकलगायत पूर्वाधार निर्माणबाट नागरिकले प्रत्यक्ष लाभ पाउँदा आफुहरु खुसी भएको भन्दै रावलले भने, ‘विकट विस्तारै निकट बन्दै खाद्यन्न, रोजगारी, गरिबीलगायतका समस्य दूर हुँदैछ।’ निर्माण भएका सडकमा यातायातका साधन नियमित सञ्चालन होस् भन्ने स्थानीयहरुले चाहेको रावलको भनाइ छ।

सडक निर्माणसँगै नागरिकको जनजीवनमा परिवर्तन आउनुका साथै नागरिकका दैनिक आधारभूत आवश्यकताहरु सहजै हल गर्न सकिने भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकास घर्तीले बताउँछन्। उनले भने, ‘हामी दैनिक नागरिकको माझमा छौँ, उनीहरुका गुनासा र पीरमर्का सुन्नुका साथै समस्या हल गर्ने प्रमुख काम हुँदै आएको छ।’

पहिले जिल्ला सदरमुकामबाट वाँडिएका सीमित योजना र कामले खासै परिवर्तन आउन नसकेकाले अहिले सबै कुरा जनताको घर, आँगनमा उपलब्ध गराउने योजनाका साथ काम भएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताए। ‘जाजरकोटको भविष्य मात्र होइन्, कर्णालीकै भविष्यमाथि गति दिन सक्ने नलगाड हाइडो«पावर कम्पनी नलगाड नगरपालिकमै बन्दैछ,’ उनले भने, ‘जिल्लाको खनिज तथा विभिन्न खानीको अध्यायन गर्न केन्द्र सरकारले नीति तथा कार्यक्रममै योजना समेटेको छ।’

केन्द्रीय सरकारमा समेत यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने व्यक्ति रहेकाले जिल्लाको मुहार फर्ने कुरामा कुनै समस्य नरहेको जूनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताउँछन्।

संघीय सरकारका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोटको सडक, खानेपानी, स्वास्थ्य, कृषि र शिक्षामा पाँच वर्षभित्र उल्लेख्य प्रगति बताउँछन्। एक वर्षभित्र जिल्लाका सबै सडकमा पिचका लागि डिपिआरको काम सुरु भई कामले तीव्रता पाउने उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.