|

ताप्लेजुङ : मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोलाका नागरिकले अझै पनि स्थानीय सरकारको महसुस गर्न पाएका छैनन्। स्थानीय सरकार गठन भएपछि घरनजिकैबाट सेवा पाइने आशा लिएका उनीहरुका लागि स्थानीय तह गठन ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ भनेजस्तै भएको छ।

नागरिकलाई घरदैलोमै सेवा दिन भनेर गठित स्थानीय सरकार तोक्पेगोलावासीका लागि एक दिनको पैदल दूरीमा छ। गोलाबाट मुस्किलले एक दिनमा पुगिने पापुङमा वडा कार्यालय, प्राथमिक विद्यालय, स्वास्थ्य र प्रहरी चौकी छ। ‘हामीकहाँ कुनै पनि सरकारको उपस्थिति छैन,’ स्थानीय अगुवा सागर शेर्पाले दुखेसो पोखे, ‘वर्षांैदेखि अन्धकारमा बसिरहेका छौं।’ 

तोक्पेगोला तिब्बतसँग सीमा जोडिएको चार हजार १०० मिटर उचाइमा रहेको वस्ती हो। सिमान्तकृत समूहमा सूचिकृत तोक्पेगोला जातिको यस क्षेत्रमा बसोबास रहेको छ। गाउँ र जातिको नाम एउटै रहेका उनीहरुको मुख्य पेशा पशुपालन हो। यहाँका २३ परिवारका सबैले आफ्ना छोराछोरी पढाउन बाहिर पठाएका छन्।

‘सक्नेले काठमाडौ, दार्जेलिङलगायतका शहरमा लगेर पढाउँछन्,’ शेर्पा भन्छन्, ‘अर्थिक अवस्था कमजोर हुनेमध्ये केहीले पापुङमा राखेका छन्, केहीले नानीहरु विद्यालय नै जान सक्दैनन्।’ बाबुआमासँग छुटाएरै विद्यालय पठाउनुपर्ने भएकाले यहाँका बालबालिकाले ढिलो गरी मात्रै पढ्न सुरु गर्छन्। 

वडा कार्यालयबाट लिनुपर्ने सेवाका लागि कम्तीमा पनि तीन दिन छुट्याउनु पर्छ। ‘नागरिकतालगायतका सिफारिस, जन्म मृत्यु पञ्जीकरण, कर तिर्नेजस्ता काम गर्नलाई एक साताअघि नै योजना बनाउनुपर्ने अवस्था छ, खाजा, कपडा बोकेरै लानुपर्छ,’ स्थानीय मिलनदोर्जी शेर्पाले भने, ‘त्यति गरेर कार्यालय पुग्दा वडाध्यक्ष र सचिव भेटिएनन् भने त कति दिन लाग्छ भन्नै सकिँदैन।’

तोक्पेगोलाको नाममा रहेको प्रहरी चौकी पनि पापुङमै राखिएको छ। सबैभन्दा ठूलो समस्या स्वास्थ्यको रहेको मिलनदोर्जी बताउँछन्। ‘गोलावासीलाई सबैभन्दा ठूलो समस्या नै स्वास्थ्यको छ,’ उनले भने, ‘कोही सामान्य बिरामी भए बोकेर लैजान्छौं, गम्भीर बिरामी परे सक्नेले हेलिकप्टर चार्टर गर्छन्, नसक्नेको कुनै उपाय छैन।’ 

मेवा खोलैखोला जाने बाटो धेरै अप्ठ्यारो भएकाले स्ट्रेचरमा बोक्न नमिल्ने हुँदा डोकोमै बोक्नुपर्ने र कहिले त बोकेर लैजाने मान्छे समेत गाउँमा नपाइने स्थानीयको गुनासो छ। याक र चौैरीहरु बिरामी परे भने माया मार्नुको विकल्प नभएको स्थानीय बताउँछन्। पशु कार्यालय र वन कार्यालयका कर्मचारी हालसम्म नदेखेको उनीहरुको भनाइ छ।

तोक्पेगोला सोदु पोखरीसहित सयौं पोखरी, ताल, झरना र असंख्य जडिबुटी रहेको क्षेत्र हो। अत्यन्तै चित्ताकर्षक र मनमोहक लेकाली तथा उच्च हिमाली फाँट र खर्कहरु यहाँ छन्। नेपाली नागरिक भए पनि गोलावासीले अधिकांश सामग्री तिब्बतको प्रयोग गर्छन्। तिब्बतीहरुसँग राम्रो व्यापारिक सम्बन्ध रहेको छ। 

‘चामलबाहेक सबै सामान माथि(तिब्बत)बाटै ल्याउछौं,’ मिलनदोर्जीले भने, ‘यताबाट याकका बाछा र जडीबुटी लिएर जान्छौं, खाद्यान्न र लत्तापकडा लिएर फर्कन्छौं।’ यहाँबाट अम्बोला नाका हुँदै दुई दिनमा तिब्बतको रिउ बजार पुगिन्छ। दुई वर्षको याकका बाछा रिउमा ८० हजारदेखि एक लाख रुपैयाँसम्म बिक्री हुने मिलनदोर्जीले बताए। 

यस क्षेत्रमा पुस र माघमा अत्यधिक चिसो हुने हुँदा गाउँमा कोही पनि बस्दैनन्। याक गोठसहित जाडो छल्न औल झर्छन्। बिजुली भए बाह्रै महिना बस्न सकिने तेञ्जिङ शेर्पा बताउँछन्। ‘बिजुली भए हिटरको प्रयोग गरेर पनि वर्षभरि गाउँमै बस्न सकिन्छ,’ उनले भने, ‘पानी प्रसस्त छ, स्वास्थ्य र विद्यालय पनि अति आवश्यक छ, अब सरकारले यसमा ध्यान देओस्।’

तोक्पेगोला क्षेत्रको विकासका लागि आफू गम्भीर रहेको वडाध्यक्ष डण्डु लामा बताउँछन्। पहिलो चरणमा अस्थायी भए पनि स्वास्थ्य चौकी र विद्यालय स्थापना गर्ने साथै विद्युत् उत्पादन गर्ने विषयमा छलफल भइरहेको उनले बताए। सिङ्गो वडा नम्बर ५ मै सडक पुगेको छैन। यस वर्ष वडा नम्बर ४ को फुङफङ्गे झरनासम्म सडक पुग्ने र अर्को वर्षदेखि आफूहरु पनि सडक निर्माणमा लाग्ने लामाको भनाइ।

‘आर्थिक वर्षमा गाउँपालिकामा योजना लैजाने सोच बनाएको छु,’ लामाले भने, ‘यो वर्ष सोदु पोखरीका लागि २० लाख, पुलनिर्माणमा ४ लाख र बाटो मर्मतमा १ लाख विनियोजन भएको छ।’ 

मिक्वाखोला गाउँपालिकाको ९० प्रतिशत भूभाग यही क्षेत्रमा पर्ने भएकाले गाउँपालिकाले पनि यहाँको विकासका लागि प्राथमिकतामा राखेको गाउँपालिकाका प्रवक्ता दीपेन्द्र लिबाङले बताए। ‘गाउँपालिकाले तोक्पेगोलालाई स्वायत्त र जडीबुटिको क्षेत्र घोषणा गरेको छ,’ उनले भने, ‘अब गुरु योजना बनाएरै पर्यटकीय गन्तव्यको रुपमा विकास गर्छौं।’ यसका लागि गाउँपालिकाको मात्रै बजेट पर्याप्त नहुने भएकाले प्रदेश र केन्द्र सरकारसँग अनुरोध गर्ने उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.