|

काठमाडौं : संघीय संसद प्रतिनिधिसभाका सांसदद्वय एकवाल मियाँ र प्रदीप यादवले अज्ञानतावश 'स्वतन्त्र तिब्बत'को वकालत गर्ने अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन पुगेको स्पष्टिकरण दिएका छन्। 

सोमबार विज्ञप्ति जारी गर्दै सांसदद्वय मियाँ र यादवले जानाजान नभई अज्ञानतावश लाट्भियाको राजधानी रिगामा भएको स्वतन्त्र तिब्बतको वकालत गर्ने 'तिब्बतबारे सातौँ विश्व संसदीय सम्मेलन'मा भाग लिन पुगेको प्रष्टिकरण दिएका हुन्। 

सांसदद्वय मियाँ र यादव व्यक्तिगत भ्रमणमा टर्की, स्वीजरल्यान्ड र लाट्भिया गएका थिए। त्यही अवसरमा लाट्भियामा भएको उक्त सम्मेलनमा भाग लिन पुगेको भन्दै क्षमायाचनासमेत गरेका छन्। 

मियाँ राष्ट्रिय जनता पार्टी, नेपालका सांसद हुन् भने यादव समाजवादी पार्टी, नेपाल (तत्कालिन संघीय समाजवादी फोरम, नेपाल)का सांसद हुन्। दुवै पार्टीले उनीहरू स्वतन्त्र तिब्बतसम्बन्धी कार्यक्रममा सहभागी भएको भन्दै प्रष्टिकरण दिन भनेको भनेका थिए। सभामुख कृष्णबहादुर महराले पनि यो विषयमा चासो राखेका थिए। 

सभामुखको चासोपछि सांसदद्वयले प्रष्टिकरण दिएका हुन। सभामुख महरालाई पनि प्रष्टिकरण बुझाइसकिएको सांसद मियाँले बताए। 

'अनभिज्ञतावश गलत सूचनाको कारणबाट उक्त सम्मेलनमा हाम्रो सहभागिता हुन गएकोप्रति दुःखी छौँ', दुवैले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, 'नेपालको संविधान प्रचलित कानुन ले निर्धारण गरेका अन्तर्राष्ट्रिय सम्बन्ध तथा नेपाल सरकारको एक चीन नीतिप्रति हाम्रो सदैव प्रतिवदध्ता र दृढ समर्थन रहेको कुरा हृदयदेखि नै व्यक्त गर्न चाहन्छौँ।'

उक्त सम्मेलन बैशाख २४ देखि २७ गतेसम्म आयोजना भएको थियो। जसमा स्वतन्त्र तिब्बतसम्बन्धी कार्यपत्रहरूमा छलफल भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.