संगीत क्षेत्र बिग्रेको भए सपारौँ

|

काठमाडौं : लोकदोहोरी क्षेत्रमा २० वर्षदेखि अनवरत साधनरत सर्जक हुन् गायक बिमलराज क्षेत्री। नेपाली लोकदोहोरी पारखीबीच लोकप्रिय उनी पछिल्लो पटक रमिता चलचित्रको 'बनैमा चरी' बाट चर्चामा छन्। उनले आफ्नै शब्दमा असंख्य  गीतमा स्वर भरेका छन्। मेला महोत्सवमा पनि उनको उपस्थिति बाक्लै छ। कुनै लक्ष्य लिएर यस क्षेत्रमा नआएको उनी बताउँछन्। भन्छन्, 'सांगीतिक क्षेत्रमा आउँदा कुनै लक्ष्य थिएन। गीत गाउँदा खुशी महसुस गर्छु।'

भारतीय सैनिक छाडेर गायनमा

कुनै बेला नका बुवा भारतीय सैनिकमा थिए। एउटा छोरालाई सैनिकमै लगाउन पाए आफ्नो विरासत धान्छ भन्‍ने विश्वास र आशा बुवाले पालेका थिए।त्यो आशाको पहिलो आधार थिए बिमल। बुवाको विश्वास र उनको रहरको तादम्यता मिलेन। बुवाका अगाडि उनले आफ्नो रहर मारे। अनि बुवालाई पछ्याउँदै बैंगलोर पुगे। अनि सुरु गरे सैनिक जीवन। तर राइफलसँग खुशी हुन सकेनन्। एकबारको जुनीमा आफूले चाहेको कुरा पाउन संघर्ष नगरे आफू हुनुको प्रमाण के?  आफैँले आफैँलाई सोध्न थाले। अनि आफैँलाई जवाफ दिएर सैनिक जीवन छाडे।  भन्छन्, 'बुवा पनि विरामी हुनुहुन्थ्यो।मरेपछि कालिगण्डकीमा अस्तु सेलाउने बुवाको इच्छा मार्न सकिनँ।नेपाल फर्केँ।'  तर संगीतको भोक उस्तै थियो।  वि.सं.‌ २०५६ सालमा बाँसुरी बोकेर पर्वतको तत्कालिन विकट कुर्घा गाउँबाट काठमाडौको नाइट बस समाते।

काठमाडौ आउदैँमा कहाँ सपना पुरा हुन्थ्यो र! काठमाडौं सपना फुलाउने कुनै बेलुन थिएन। सपनालाई पुरा गर्न संघर्षकै खाँचो थियो। उनीसँग मिठो स्वर थियो तर प्रस्तुत गर्ने ठाउँ थिएन। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, फाइनान्स, शिक्षक हुँदै उनले दोहोरीमा जागिर गरे। जागिरको चक्कर लगाउँदै केही रकम जोहो गरे। डिभी गुरूङ र कृष्णसुधा ढुंगाना लगायतका चर्चित हस्तीसँग भेट भयो। केही गीत रेकर्ड गरे। तर ती गीत स्रोताको ओठमा झुन्डिएनन्, हराएर गए। गीतका तत्व पुरा गर्न नसक्दा बिमल पनि फ्लप भए। तर हिम्मत हारेनन्। साथीहरुकै सहयोगमा रेडियो नेपालमा स्वर परीक्षण दिए। पहिलोपल्ट फेल भए । तर दोस्रोपटक पास भए वि.स २०६० सालमा।

लुम्ले काँडे जाउँ, बल्लै भेट भयो, रानी घाटैमा, हिमाल सेतै छ, औँठी स्वयम्बर, रमिता चलचित्रको 'बनैमा चरी' सम्म आइपुग्दा लगभग चार सय भन्दा बढी गीतमा उनको स्वर गुन्जिसकेको छ। 'सायद भारतीय सैनिकमै हुन्थेँ भने आफैँले आफैँलाई कहिल्यै माफी दिन सक्दिनथे होला,' उनी विगतमा फर्किँदै सुनाउँछन्। 

सर्जक धनी हुन नेपाली भाषा जोगाउँ

नेपाली लोकदोहोरी क्षेत्रसँग लामो उतारचढावको इतिहास छ। प्रविधिको विकासले लोकदोहोरी क्षेत्रलाई अहिले झ्याम्मै प्रभाव पारेको छ। नयाँ प्रविधि विकासको पूर्वसन्ध्यामा हरेक क्षेत्रमा खटपट र छटपटी भइहाल्छ। यसको निरन्तरता लोकदोहोरी क्षेत्रमा पनि देखियो।

लोक भन्‍ने कुरा हरेकको जनजिब्रोमा झुन्डिएको हुन्छ। जहाँ मानव छ। त्यहाँ संस्कृति छ। भाषा छ। धर्म छ। नेपालको सन्दर्भमा पप र पश्चिमा गीतको प्रभाव बढ्दै गएको बताउँछन् उनी। 'यो पनि कुनै न कुनै समुदायको संस्कृति हो। कमजोरी के भइदियो भने हामीले तिनै संस्कृतीलाई पछ्याउँदै हिड्यौँ,' उनी भन्छन्। 

नेपाली संस्कृति पनि झाङ्गिँदै जाने हो भने हामीलाई पछ्याउनेको संख्या पनि बढ्ने थियो। विदेशीहरू पहिले आफ्नो भाषा बोल्छन् । नबुझे मात्रै अंग्रेजी बोल्छन्। तर नेपालीले जानी नजानी, कनीकनी अंग्रेजी बोल्नै पर्छ। टुटेफूटेको अंग्रेजी जानेपछि बौद्धिक हुने भ्रममा हामीले आफ्नो भाषा, संस्कृति भुल्दै गएको उनी सुनाउँछन्।

उनको बुझाइमा राज्यले नेपाली भाषीको गणना गर्नु जरूरी छ। नेपाली भाषाको प्रवर्द्धनमा सरकार मौन छ। नेपाली भाषी नेपालदेखि भारतका दार्जिलिङ, सिक्किम बर्मा र भुटानसम्म छन्। उनीहरूको गणना भएकै छैन। नेपाली भाषा सिक्ने विदेशी पनि छन्। तर आकडा खै? उनीहरूसम्म हामीले आफ्नो भाषा प्रवर्द्धन जरूरी छ। सर्जक सम्पन्‍न बन्‍न भाषा बलियो हुन जरूरी छ। जबसम्म भाषा बलियो हुँदैन तबसम्म सर्जकले जति नै इमान्दार भएर कर्म गरेपनि सम्पन्‍न नहुने निचोड उनी निकाल्छन्।

परिवारको साथ, सन्तानमा विश्वास

रहर जन्माउनु, सपना देख्नु जुनसुकै भूगोलका व्यक्तिका लागि बर्जित विषय होइन। हरेक वर्गका मानिससँग सपना छन्। तर आर्थिक अवस्थाले थिलोथिलो परेको समाजमा सपना  देख्‍ने अवसर कहाँ हुन्छ र? न त अभिभावकलाई सन्तानको सपना बुझ्‍ने र अभिप्रेरित गर्ने समय नै।

केन्द्रीकृत विकास योजना नेपालको मुख्य समस्या हो। हरेक नेपालीको चाहना,रहर, अवसर प्राप्तिका लागि काठमाडौं आउनुको विकल्प छैन। कुनै  पेशा वा व्यवसायदेखि आत्मतृप्तिका लागि गरिएका रहरको एउटै समाधान काठमाडौं नै हो। जब केही बन्‍ने हुटहुटी मनमा जाग्छ तब पागलपन जरूरी छ। 'हरेक क्षेत्रमा सफल हुने वा नहुने भन्‍ने मूख्य जड परिवार हो। इमान्दारीसाथ गरेको आम्दानीले परिवार सन्तुष्ट बनिदियो भने सफल हुन धेरै समय लाग्दैन,' बिमल भन्छन्, 'अभिभावकले सन्तानलाई अनेक दबाब दिदैँमा सन्तान सफल हुँदैनन्। सन्तानको सही लक्ष्यलाई मार्ग दर्शन गर्ने काम अभिभावककै हो।'

लोकगीत बिगार्‍यौं

नेपाली लोकगीतको क्षत्रेको गहिराई र उचाई अझै बृहत बनाउन धेरै स्रस्टाहरूको मेहनत छ। यो कुरालाई आत्मसात गर्नु अहिलेको पुस्ताको दायित्व हो। तर लोकगीतको विकृति नयाँ पुस्तालाई  थुपारेर पानीमाथिको ओभानो हुँदै पुरानो पुस्ताले उम्कन सक्दैन। त्यो सोच्‍नु उचित होइन। रोजीरोटीका लागि नारायण गोपाल, तारादेवी, झलकमान गन्धर्व र धर्मराज थापाहरू पलायन भएको भए आज हामीले नेपाली संगीत भन्‍न पाउने अवस्था आउँदैन थियो। ग्रीनकार्ड र चर्चाको लोभले गर्दा नेपाली लोकदोहोरी क्षेत्र धरासायी बन्दै गइरहेको छ।

'चर्चामा आउनेबितिक्कै आफ्नो धरातल भुल्ने प्रवृत्ति बढ्दै गएको छ। अग्रजको सम्मान छैन। नयाँ अनुहारलाई सहयोग छैन। अनि कसरी हुन्छ समृद्धि ?', उनी आफैँलाई प्रश्न गर्छन्, 'विकृति छ भने सुधार गर्नुपर्ने दायित्व पनि हाम्रै हो।'

लोकगीत बुझेको मान्छे यस क्षेत्रका विकृतिबारे पनि जानकार छ। मौन बस्दैमा समस्याको समाधान हुन सक्दैन। 'सिर्जनाले उमेर हेर्दैन। पुराना स्रस्टाले नयाँ स्रष्टाको विकृतिमाथि हस्तक्षेप गर्न अनवरत सिर्जना गर्न जरूरी छ', उनी भन्छन्, 'होइन भने कुना पसेर चिन्तित हुनुको तुक छैन।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.