|

काठमाडौं : दशबुँदे सहमति गरेर आइतबार साझ दश दिने लामो अनशन छोडेकी शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण ‍केन्द्रकी नर्स डिक्की शेर्पाको आफूले अनशन नतोडेको बताएकी छन्। आइतबार जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारको संयोजनमा वार्ता भएर अनशन तोडिएको थियो।

जसमा मन्त्रालय र प्रत्यारोपण केन्द्र प्रशासनबाट पाँच जना, नर्सहरूका तर्फबाट पाँच जना र नेपाल नर्सिङ संघका अध्यक्ष प्राध्यापक तारा पोखरेलको सहभागितामा नर्सहरूको मागको सम्बन्धमा वार्ता भई सहमति जनाएर अनशन तोडेकी शेर्पाले आफू बेहोस भएको बेला जालपूर्ण तरिकाले सम्झौतामा हस्ताक्षर गर्न लगाएर जुस खुवाएको आरोप लगाएकी छन्।

उनले आफूले अनशन नतोडेको बताएको उनको सहयोगी तथा संघर्ष समितिको सयोजक नर्स त्रजिना जतीले बताइन्। उनले भनिन् ‘आफूले राखेको मागविपरीत सम्झौता गराइ आफूलाई झुक्काएर जुस खुवाएको हुँदा आफ्नो अनशन नतोडेको उनले बताएकी छन्।'

सहमतिपछि आइतबार साँझ नर्सिङ संघकी अध्यक्ष प्राध्यापक तारा पोखरेल, नेपाल शेर्पा महिला संघकी अध्यक्ष मिङमी शेर्पा, भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारीक दिलीप लामिछानेले जुस खुवाएका थिए।

सहमतिका लागि प्रत्यारोपण केन्द्रमा दिउँसो ३ बजेदेखि झण्डै चार घण्टा बार्ता चलेको थियो। त्यसको संयोजन भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी लामिछानेले गरेका थिए। उनीसँगै नेपाल नर्सिङ संघका अध्यक्ष प्राध्यापक पोखरेल, नेपाल शेर्पा महिला संघकी अध्यक्ष ङिमी शेर्पा, अगुवा आङकाजी शेर्पा लगायतका पदाधिकारीहरू सहभागी थिए।

 बरालको अनशन भने जारी नै

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण ‍केन्द्रका नर्सहरूको माग, समग्र नर्सिङ क्षेत्रको सेवा र सुविधाको सुधारको लागि भन्दै अनशन बसेको पोखराकी नर्स जिता बरालले आफ्नो अनशन जारी राखेको बताइएको छ।

केन्द्रका नर्सहरूले उठाएको मागको समर्थनमा मात्र नभएर समग्र नर्सिङ पेशाको सेवासुविधा वृद्धि विकासको लागि अनशन बसेको भन्दै उनले अनशन नतोडेको उनको सहयोगी नर्स विमला शर्माले जानकारी दिइन्। उनले भनिन् ‘उहाँ समग्र नर्सिङ पेशाको गुणस्तरको लागि अनशन बस्नु भएको हो, सबै माग पूरा नभएसम्म अनशन तोड्नु हुँदैन।‘

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.