|

धादिङ : प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बजेटले देश विकासको गियर बढाउने बताएका छन।

धादिङको गल्छीमा सोमबार मध्य पहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण कार्यको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आर्थिक वर्ष २०७६-७७ को बजेटले विकासलाई गति दिने बताए।

जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने संवैधानिक व्यवस्था छ। सोहीअनुसार सरकारले तयारी गरिरहेको छ।

नयाँ बजेटको तयारी भइरहेको बेलामा प्रधानमन्त्रीले भने, 'देश विकासको गति दुई गियरमा छ भने तीनमा पुर्‍याउँछ। तीनमा छ भने चारमा पुर्‍याउँछ।'

प्रधानमन्त्री ओलीले मध्यपहाडी लोकमार्गको सुरुवाती बिन्दु पाँचथरदेखि अन्तिम बिन्दु बैतडीसम्म सूचना महामार्गको बिस्तारले डिजिटल नेपाल बनाउन सहयोगी हुने बताए। 'हामी देशलाई विकासमा हरेक दिन एक कदम अघि बढाउन चाहन्छौँ', प्रधानमन्त्री ओलीले भने, 'सूचना महामार्गको शिलान्यासले विकासमा एक कदम थपेको छ।'

प्रधानमन्त्री ओलीले सरकारले विकास, शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा सामान्य सुधारमात्र नभई आमूल परिवर्तन गर्न चाहेको बताए। 'सरकारले साविक जस्तै काम गरेर दिन कटाउने हैन विविध क्षेत्रमा सामान्य सुधारको काम मात्र हैन, आमूल परिवर्तन गरेर देशको मुहार फेर्न चाहको छ' प्रधानमन्त्री ओलीको भनाई थियो।

प्रधानमन्त्री ओलीले २०३८ सालपछि सबै भन्दा बढी आर्थिक बृद्धिदर यसै वर्ष भएको दाबी गरेका थिए।

सरकार विकासको बाटोबाट नै समृद्धि हासिल गर्ने पक्षमा रहेको प्रधानमन्त्री ओलीको भनाई थियो। 'हामी केही वर्षभित्रै नेपाललाई तीव्र विकास हुने देशमा रुपान्तरण गर्दैछौँ',  प्रधानमन्त्री ओलीको भनाई थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.