|

बाँके : नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो, प्रदेश ५ नेपालगन्जको टोलीले लागुऔषध सहित सात जनालाई नियन्त्रणमा लिएको छ। लागुऔषधसम्बन्धी विज्ञता हासिल गरेका कुकुरको सहायताले लागुऔषधसहित सात जनालाई नियन्त्रणमा लिएको ब्यूरो प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए। 

भारतबाट नेपालगन्ज आउँदै गरेकालाई कुकुरले सुँघेर पहिचान गरेको बताउँदै उनले लागुऔषधसम्बन्धी विज्ञता भएकी गौरी नामक कुकुर सोमबार बेलुकी परिचालन गरिएको बताए।

कुकुरको सहायतामा १० ग्राम ब्राउनसुगर सहित सर्मरानी गाउँपालिका ५, प्यूठानका अदिल मियाँलाई नियन्त्रणमा लिएको थापाले बताए। उनले भारतीय सीमा बजार रुपइडिहाबाट आउँदै गरेका घोराही उपमहानगरपालिका ३ की लक्ष्मी खड्का र नेपालगन्ज उपमहानगरपालिका १०, आदर्शनगरकी सुमन श्रेष्ठको साथबाट एक ग्राम ब्राउनसुगर बरामद भएको जानकारी दिए। 

नेपालगन्ज उपमहानगरपालिका १८, भुजईगाउँका किशोर कुमार धोवीलाई पनि प्रहरीले जमुनहा नाकाबाट नियन्त्रणमा लिएको छ। कुकुरको सहायतामा उनलाई नियन्त्रणमा लिएको थापाले बताए। उनको साथबाट ४ ट्याब्लेट नाइट्रोसन, १० क्याप्सुल स्पासमो र एक बोत्तल अल्टोरेक्स बरामद भएको छ। प्रहरीले सोमबार नै थप एकजनालाई पनि नियन्त्रणमा लिएको छ। कोहलपुर नगरपालिका ९ का राजेन्द्र हरिजनलाई लागुऔषधसहित नियन्त्रणमा लिएको उनले बताए। हरिजनको साथबाट ३९ ट्याब्लेट नाइट्रो भ्याट बरामद भएको छ।

पोलिथिन झोलामा रहेको चनाभित्र लुकाएर रुपइडिहाबाट ल्याउने क्रममा उनलाई नियन्त्रणमा लिएको थापाले बताए। प्रहरीका अनुसार रुपइडिहाबाट आउँदै गरेका थप दुई जनाबाट चार ट्याब्लेट नाइट्रोजन पनि बरामद भएको छ। ती दुवैजनालाई अभिभावकको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.