|

भद्रपुर (झापा) : नेपालमा आएर वंशजको आधारमा नागरिकता लिन खोज्दा पक्राउ परेका भारतीय नागरिक ३५ वर्षीय भूपाल गुरुङलाई झापा जिल्ला अदालतले पुर्पक्षका लागि झापा कारागार चलान गरेको छ। 

भारतीय नागरिकलाई जेठो छोरा भन्दै नागरिकता दिने क्रममा पक्राउ परेका कचनकवल गाउँपालिका २ बस्ने बमबहादुर गुरुङ धरौटी बुझाएर तारिखमा रिहा भएका छन्। भारतीय नागरिक आसाम राज्यको मणिपुर कानकोपी जिल्ला बस्ने भूपाल र बमबहादुरलाई प्रहरीले प्रशासन कार्यालयबाटै वैशाख १० गते पक्राउ गरेको थियो।

२४ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गरेका भूपाल र बमबहादुरलाई प्रहरी कार्यालय झापाले जेठ ३ गते अदालतमा लगेर मुद्दा दर्ता गराएको थियो। जेठ ३ गते शुक्रबार परेकाले अदालतले दुवै जनाको बयान मात्र लिए। आइतबार न्यायाधीश सन्तोषप्रसाद पराजुलीको एकल इजलासले थुनछेकको आदेश सुनाउँदै भारतीय नागरिक भूपाललाई पुर्पक्षका लागि कारागार चलान गरेको अदालतका उपसचिव तथा श्रेस्तेदार दुर्गाप्रसाद खनालले जानकारी दिए। 

न्यायाधीश भुपालकै थुनछेक आदेश बमोजिम नेपाली नागरिक बमबहादुरलाई ३० हजार धरौटी तिराएर तारिखमा रिहा गरेको स्रेस्तेदार खनालको भनाइ छ। प्रचलित मुलुकी ऐन अनुसार नेपाली नागरिकता लिएको खण्डमा तोकेको सजाय तथा जरिवाना अनुसार विदेशी नागरिकको हकमा एक वर्षदेखि पाँच वर्ष सम्म कैद वा ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना तोकेको छ। तर, नागरिकता नलिई पक्राउ परेकाले सो सजाय तथा जरिवाना उद्योगमा गएर दर्ता हुन्छ। उद्योगमा ६ महिनादेखि साढे दुई वर्ष कैद र २५ हजारदेखि ५० हजार सम्म जरिवाना हुन्छ। त्यस्तै नागरिकताको कागजात मिलाउने वा सिफारिस गर्ने व्यक्तिको हकमा ६ महिनादेखि ३ वर्षसम्म कैद वा २५ हजारदेखि ५० हजार सम्म जरिवाना हुन्छ। 

वडा सदस्य अदालतमा उपस्थित

भारतीयसहित दुई जना नागरिकता काण्डमा पक्राउ परेपछि प्रहरी कार्यालय झापाले कागजात मिलाउने कचनकवल २ का वडा अध्यक्ष, वडा सचिवसहित ९ जनाको नाममा अदालतबाट पक्राउ पुर्जी जारी गरेको गरेको थियो। अदालतले जारी गरेको पक्राउ पुर्जीमा वडा अध्यक्ष मेखबहादुर भट्टराई, वडा सदस्य धनबहादुर गुरुङ, कार्यालयका वडा सचिव हरिप्रसाद गौतम, कर्मचारी खगेन्द्रप्रसाद खतिवडा, कचनकवल २ बस्ने कविता गुरुङ, सोही ठाउँका गङ्गाप्रसाद भट्टराई, तुलसीराम गुरुङ, प्रेमप्रसाद तिम्सिना, शिवकुमार दाहालको नाम छ।

प्रहरीले २४ दिनपछि अदालतमा दुई जनाको नाममा मुद्दा दर्ता गराएपछि फरार रहेका वडा सदस्य धनबहादुर गुरुङ सोमबार अदालतमा उपस्थित भएका छन्। अदालतले वडा सदस्य गुरुङलाई ५० हजार धरौटी तिराएर तारिखमा रिहा गरेको अदालतमा स्रेस्तेदार खनालले बताए। 

अदालतमा मुद्दा दर्ता पर्खिँदै थिए फरार

प्रहरीले नौ जनाको नाममा पक्राउ पुर्जी जारी गरेपछि सबै जना फरार रहेका थिए। फरार व्यक्तिहरू प्रहरीको सम्पर्कमा भए पनि राजनीतिक संरक्षण र दबाबका कारण प्रहरी कार्यालय झापाले उनीहरूलाई पक्राउ गर्न खासै दबाब दिएनन्। प्रहरी कार्यालय झापाले पक्राउ पुर्जी इलाका प्रहरी कार्यालय बनियानीका प्रहरी नायब निरीक्षक उदयशमेशर राणालाई पठाएका थिए। तर, प्रहरी नायब निरीक्षक राणा उनीहरूको सम्पर्कमा भए पनि पक्राउ गर्न कुनै चासो देखाएनन्।

प्रहरी नायब निरीक्षक राणाले भने, ‘वडा अध्यक्ष लगायतका व्यक्ति सम्पर्कमा छन्, आउँछु भन्छन् तर कोही आउँदैन।, प्रहरीकै सल्लाह बमोजिम उनीहरू फरार रहेको देखिन्छ। प्रहरीले कहिले अदातलमा मुद्दा दर्ता गराउँछ र अदालतमा गएर धरौटी रकम बुझाएर रिहा हुन्छु भन्दै फरार व्यक्तिहरूको पखाई रहेको यो घटनाले पुष्टि गर्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.