|

ओखलढुङ्गा : स्थानीय र ठेकेदार कम्पनीबीचको विवादका कारण ओखलढुङ्गा र रामेछाप जोड्ने विद्युत् आयोजनाको काम वर्षौंदेखि रोकिएको छ। रामेछापको साँघुटारदेखि ओखलढुङ्गा सदरमुकाम हुँदै सोलु जोड्ने साँघुटार–ओखलढुंगा ३३ केभी केन्द्रीय विद्युत् प्रशारण लाइन आयोजना पोलको विषयमा बढेको विवादले थलिएको काम रोकिएको हो।

साँघुटारदेखि घोराखोरीसम्मको १० किलोमिटर क्षेत्रमा गाडिएको पोल हराएको विषयमा स्थानीय र ठेकेदार कम्पनी न्यु साताक्री कन्ट्रक्सनबीच विवाद भएको थियो। ठेकेदार कम्पनीले उक्त क्षेत्रमा पोल गाडिएको र बीचका केही क्षेत्रको पोल स्थानीयले उखेलेर स्थानीय माइक्रोहाइड्रोमा प्रयोग गरेको आरोप लगाउँदै आएको छ। तर, स्थानीयले भने ठेकेदार कम्पनीले पाँचवर्षसम्म पनि पोल नगाडेपछि माइक्रोहाइड्रोमा प्रयोग गरेको दाबी गर्छन्। 

स्थानीय खड्ग कार्कीले भने, ‘बेवारीसे अवस्थामा सडकमा फालिएका पोलहरु प्रयोग गरेका हौं।’ साँघुटार–ओखलढुंगा सडकखण्डको घोराखोरी रानीवन क्षेत्रमा अझै पनि पोलहरु बेवारिसे अवस्थामा फालिएको छ।

२०६६ सालमा सुरू भएको आयोजनाले विवादका कारण गति लिन सकेको छैन। १३ करोड रुपैयाँ लागत अनुमानमा सुरू गरिएको उक्त आयोजना विद्युत् प्राधिकरणको जनकपुर क्षेत्रीय कार्यालयले ठेक्का लगाएको हो। आयोजनाको कुल लम्बाई ४० किलोमिटर रहेको छ। 

विवाद बढेपछि आयोजना क्षेत्रका साँघुटार–रानीवन क्षेत्रमा गाडिएका पोल तथा टाँगिएको तार अलपत्र भएको छ। गाडिएका अधिकांश पोलहरू ढलेका छन्। ठेकेदार र स्थानीयबीच विवाद बढेपछि दुई वर्षदेखि कामको टेण्डर नै हुन नसकेको नेपाल विद्युत् प्राधिकरण ओखलढुङ्गा वितरण केन्द्र रूम्जाटारका प्रमुख सञ्जित शाहले बताए। चाँडो विवाद सल्टाएर काम अगाडि बढाउन प्रयास भइरहेको उनको भनाइ छ। यस विषयमा क्षेत्रीय कार्यालय जनकपुरमा पटक पटक बुझ्ने प्रयास गर्दा कार्यालयको फोनमा सम्पर्क हुन सकेन। 

जिल्लाको ग्रामीण विद्युतीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने भनिएको उक्त आयोजना थलिएपछि अन्योल बढेको छ। ओखलढुङ्गा सदरमुकाममा भने खोटाङतर्फबाट केन्द्रीय विद्युत् प्रशारण लाइन सञ्चालन गरिए पनि भरपर्दो छैन।

२०५७ सालबाट सुरू भएको बुइपा–ओखलढुङ्गा ३३ केभी प्रशारण लाइन आयोजना दुई वर्षअघिदेखि नै सञ्चालनमा आए पनि उदयपुरको जलजलेदेखि खोटाङको बुइपासम्मको भागमा विद्युत् अवरोध भइरहने र बिग्रिरहने समस्या छ। लामो दूरी र जंगलको बीचबाट ल्याइएका कारण बिग्रिरहने समस्याले खोटाङको बुइपाबाट सञ्चालन गरिएको केन्द्रीय प्रशारण लाइनले यहाँका जनतालाई खासै आकर्षित गर्न सकेको छैन । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.