|

बाग्लुङ : बाग्लुङको दक्षिण जैमिनी र पर्वतको फलेवास जोड्ने गरी कालीगण्डकी नदीमाथि झोलुङ्गे पुल निर्माण गरिएको छ।

व्यापारका लागि बाग्लुङको दक्षिण भेगवासीको बढी आउजाउ हुने फलेवास क्षेत्रलाई जोड्ने गरी पुल निर्माण गरिएको हो। फलेवास नगरपालिका–४ देवीस्थान र जैमिनी नगरपालिका–५ बिनामार मिरिङ्गे जोड्ने गरी ३१८ मिटर लामो पुल निर्माण सम्पन्न गरिएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौँका इञ्जिनियर सागरराम नेपालले जानकारी दिए। 

एक करोड ५२ लाख ५५ हजार रुपैयाँ लागतमा डेढ वर्षअगाडि निर्माण सुरु गरिएको उक्त पुल तोकिएको समयमै सम्पन्न भएको ठेकेदार कम्पनी सिभाको÷विएलटी जेभीका सञ्चालक तीर्खाराम खड्काले जानकारी दिए। 

पुल निर्माणपछि पर्वतको व्यापारिक केन्द्र फलेवास बजार र राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरलाई जोडिएको छ। बाग्लुङको दक्षिण जैमिनी तथा बरेङ गाउँपालिकाका धेरै गाउँको प्रमुख व्यापारिक केन्द्र फलेवास भएकाले त्यहाँसम्म पुग्नका लागि स्थानीयवासीलाई सहज भएको बिनामारेका स्थानीयवासी विजय पौडेलले बताए।

जैमिनी क्षेत्र तथा फलेवास क्षेत्र नगदेवाली तथा फलफूल खेतीको पकेट क्षेत्र भएकाले त्यसको बजारीकरणमा समेत पुलले राम्रो प्रभाव पार्ने स्थानीयको विश्वास छ। स्थानीय पौडेलले भने, ‘बाग्लुङका जैदी, छिस्ती र बिनामारे तथा पर्वतको देवीस्थान, मुडीकुवा, कर्घालगायतका क्षेत्र फलफूल एवं तरकारीको बीउ उत्पादनका लागि प्रख्यात भएकाले त्यहाँको उत्पादनलाई बजारसम्म ल्याउन पुलले ठूलो महत्व दिन्छ।’

बाग्लुङ र पर्वतलाई जोड्ने लामो झुलुङ्गे पुलमा विनामारे–फलेवास दोस्रो हो। यसअघि कुश्मा–बलेवा जोड्ने झुलुङ्गे पुल निर्माण भएको थियो भने नेपालकै लामो पाङ अदुवाबारी हुँदै बाग्लुङ नगरपालिका–१ रामरेखा जोड्ने (५६७ मिटर) पुल निर्माणाधीन छ। निर्माण सम्पन्न भएको उक्त पुलमा एकै पटक ६०० देखि ७०० मानिस धान्ने क्षमता रहेको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.