|

काठमाडौं : पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेमा भएको नौजनाको हत्या प्रकरण अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो र प्रदेश प्रहरी कार्यालयको टोली परिचालित भएको छ।

घटना थाहा पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पाँचथरको टोली त्यहाँ पुगेको छ। घटनाको अनुसन्धानमा तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली खटाइएको छ । एक नम्बर प्रदेश प्रहरी कार्यालयबाट स‌ंघीय प्रहरी कार्यालय धरानका एसएसपी शरद खत्रीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली खटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डिएसपी सिद्धराज न्यौपानेले बताएका छन्। 

त्यसैगरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पनि काठमाडौंबाट घटनास्थल जाने भएको छ। पाँचथर घटना अनुसन्धानका लागि सीआईबीबाट एसपी उमाप्रसाद चतुर्वेदी नेतृत्वको टोली घटनास्थलतर्फ हिँडेको हो ।

एक नम्बर प्रदेश प्रमुख डीआईजी केदार रिजालले जिल्लाका सबै नाका बन्द गरेर अभियुक्तको खोजी सुरु गरिएको जानकारी दिएका छन्। डीआईजी रिजाल आफैँ पनि घटनास्थलतर्फ जाने भएका छन्। 

सोमबार राति आरुबोटे निवासी २ परिवारका ९ जनाको धारिलो हतियार प्रयोग गरी विभत्स हत्या गरिएको थियो । बमबहादुर फियाक र धनराज शेर्मा परिवारका ९ जनाको विभत्स हत्या भएको हो । उनीहरु नातामा ज्वाइँ-ससुरा हुन् । घटनाका क्रममा एकजना १२ वर्षीया किशोरीले भागेर ज्यान बचाउन सफल भएकी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.