भ्रष्टाचार प्रमाणित भए झुन्डिन्छु : घिसिङ

|

काठमाडौं : सांसद तथा नेकपा नेता अमनलाल मोदी र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच संसदीय समितिमा जुहारी चलेको छ। सांसद मोदीले नीतिगत प्राधिकरण नेतृत्वबाट भ्रष्टाचार भएको आरोप लगाए भने घिसिङले काम गर्न नदिएको दाबी गरे।

मनपरी नबोल्न मोदीले चेतावनी दिएपछि घिसिङले त्यसैगरी जवाफ फर्काउँदै भ्रष्टाचारी प्रमाणित भए झुन्डिन तयार भएको बताएका थिए। ट्रङ्क र डेडिकेटेड लाइनका विषयमा पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणले गरेको पत्राचारबारे छलफल गर्न ऊर्जा मन्त्रालय र प्राधिकरणको नेतृत्वलाई लेखासमितिले बोलाएको हो। 

'तत्कालीन मन्त्री र सबैको प्रयासको कारण लोडसेडिङ अन्त्य भयो, त्यसको पुरै जस कुलमान घिसिङजीले मात्रै लिन खोज्नु भयो' छलफलको क्रममा आफ्नो मत राख्दै सांसद मोदीले भने, 'लोडसेडिङ अन्त्यका नाममा प्राधिकरण नेतृत्वबाट गम्भीर नीतिगत अनियमितता भएको छ।'

एक वर्ष भन्दा पहिलेको मिटर बक्सको जडान गर्न नमिल्ने अवस्थामा दुई/तीन वर्षपछि गणना गर्ने नाममा प्राधिकरणले अनियमितता गर्न खोजेको आरोप मोदीले लगाएका थिए। विगतमा बिलिङ नगर्ने र अहिलेको काम पनि  सच्चा मनले नगरेको उनको आरोप थियो। 

मोदी त्यतिमै रोकिएनन्। विभिन्‍न आयोजनामा क्षमताअनुसारको उत्पादन नगरेर प्राधिकरणले अनियमितता गरेको भन्दै लेखा समितिबाट उपसमिति बनाइ अख्तियारको जिम्मा लगाउनु पर्ने बताए। उनले माथिल्लो त्रिशूली अनुगमनको क्रममा नुवाकोटमा पुगेर स्थानीयलाई थुन्दिन्छु भनेर कुलमानले दम्भ देखाएको आरोप लगाए। 

मोदीले यति भनेपछि घिसिङले तीन/तीन महिनामा डाउनलोड गरेको टिओडी मिटर हेरेर मात्रै ट्रङ्क र डेडिकेटड लाइनको महसुल निर्धारण गर्ने  प्रष्टोक्ति दिएका थिए। मोदीका अन्य सवालमा सत्यता नभएको भन्दै उनले मोरङको कटहरी प्रशारणलाइन निर्माणका क्रममा सांसदले काम गर्न नदिएको आरोप लगाए।

'समयमै काम गर्ने सवालमा सांसदहरूले पनि प्राधिकरणलाई सहयोग गर्नुपर्छ, पूर्वको कटहरी प्रशारण लाइन निर्माणका क्रममा त्यहाँका सांसदहरूसँग मेरो गम्भीर असहमति भयो, समयमै काम पूरा हुन सकेको छैन, त्यसको जवाफ पनि दिन पर्छ होला, अहिले पनि काम पूरा भएको छैन,' घिसिङले यति भनेपछि मोदीले टेबल ठोकेर बिचमै रोके।

त्यसपछि मोदीले भने, 'सांसदको मर्यादामामाथि धावा बोलिएको छ, काम गर्न नदिएको प्रमाणित गरेर देखाउनु पर्छ।' त्यसपछि कुलमान थप कड्किए, 'भ्रष्टाचार गरेको प्रमाणित गरेर देखाउनुपर्छ, प्रमाणित भए झन्डिएर मर्न तयार छु,' घिसिङले आक्रोशित मुद्रामा भने। आक्रोश बढेपछि लेखा समिति सभापति भरतकुमार शाहाले संयमित भएर बोल्न अनुरोध गर्नुपरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.