|

काठमाडौं : शान्त, सफा र स्वच्छ वातावरण। वरिपरी हरियाली। न धुलो छ त्यहाँ न धुँवा नै। यहाँ आइपुग्ने जो कोहीलाई राजधानीको धुलो र प्रदूषणबाट निकै टाढा रहेको आभाष हुन्छ। तर यो राजधानीभित्रकै एक ठाउँ हो जहाँ निकै शान्त र सौम्य माहोलमा विद्यार्थीलाई पढाइन्छ।

विद्यार्थीले पढ्ने कक्षाकोठामा सुकुल बिछ्याइएको छ, अनि विद्यार्थी पलेटी कसेर पढिरहेका छन्। उनीहरूको शरीर न त अन्य विद्यालयका विद्यार्थीको जस्तो 'बेल्ट'ले कसिएको छ न त टाई सुटले सजिएको नै। उनीहरूको शिर नेपाली ढाकाटोपीले सजिएको छ। पोसाक, दौरा सुरुवाल।

विद्यालयको शान्त वातावरण जस्तै शान्त छन् विद्याश्रमका विद्यार्थी पनि। जहाँ विद्यालयको मूल प्रवेशद्धारमा छिर्नेबित्तिकै अन्य होहल्ला होइन, विद्यार्थीले पढेको संस्कृत मन्त्र मात्र सुनिन्छ। यो विद्यालय हो, गौशालास्थित नेपाल वेद विद्याश्रम (संस्कृत माध्यमिक विद्यालय)।

यो विद्यालयलाई गुरुकुलीय शिक्षा पद्धतिअनुसार पढाइ हुने नेपालको सबैभन्दा पुरानो र केन्द्रीय विद्यालय भनेर पनि चिनिन्छ। विद्यार्थीको पोसाक, पढाइ पद्धति, प्रकृति, आन्तरिक रहनसहन र अनुशासनका कुरा अन्य विद्यालयकोभन्दा फरक छ।

आधुनिकता भित्रिएसँगै विद्यार्थीहरू आधुनिक पोसाक नै लगाउन खोज्छन्, टाईसुटमा नसजिइकिनै विद्यार्थी स्कुल जान समेत मान्दैनन्। तर विद्याश्रमका विद्यार्थीको पोसाक र शान्त व्यवहार देखेर लाग्छ यो विद्यालय होइन कुनै मन्दिर हो। विद्याश्रममा नेपाली पोसाक ढाका टोपी, दोरा सुरुवालमा सजिएर अहिले २०० विद्यार्थीले निःशुल्क रूपमा पढिरहेका छन्। यही पोसाकबाट उनीहरूले आफ्नो जीवनको गन्तव्य पनि तय गर्छन्।

विद्यार्थीको पोसाक त भयो नै। त्योसँगै विद्याश्रममा पढ्ने विद्यार्थीको खानपानको तौरतरिका पनि फरक छ। यहाँ पढ्ने विद्यार्थीले सात्विक भोजन मात्र गर्न पाउँछन् अर्थात् माछा, मासु, लसुन, प्याज बर्जित छ।

विद्याश्रमका प्रध्यानाध्यापक केशवप्रसाद अधिकारीले विद्याश्रममा नेपालका अन्य विद्यालयको भन्दा फरक तौरतरिकाले पढाई हुने हुँदा संस्कृत भाषा र विद्यार्थीको उज्वल भविष्यको लागि सदैव अग्रसर रहेको बताए। उनले विद्याश्रममा काठमाडौं बाहिरका टाढाटाढाका जिल्लाबाट विद्यार्थीहरु संस्कृत पढ्न आएको बताउँछन्।

उनले काठमाडौंबाट १०\१५ जना र बाँकी सबै विद्यार्थी बाहिरी जिल्लाबाट आएको बताउँछन्। विद्यार्थीलाई संस्कृत वेद, पुराण सँगसँगै प्राविधिक शिक्षा पनि आवश्यक हुन्छ, उनले भने, ‘विद्यार्थीसामु प्राविधिक शिक्षा पुर्‍याउने हाम्रो उद्देश्य हो, हामी विद्यार्थीलाई प्राविधिक विषय पनि पढाउन चाहन्छौँ तर रकम अभावका कारण सीमित कक्षामा मात्र प्राविधिक शिक्षा र साधनको प्रयोग भएको छ।’ विद्यालयले थेग्न सकेसम्म विद्यार्थीलाई संस्कृतसँगै प्राविधिक शिक्षा पनि उपलब्ध गराउने बताउँछन् उनी।

प्रा.अधिकारीले संस्कृत भाषा र ज्ञानको संरक्षण गर्न तथा संस्कृत भाषालाई अझ अघि बढाउनका लागि विद्याश्रममा ११ र १२ कक्षा सञ्चालन गर्न लागेको बताए। उनले भने, ‘यही शैक्षिक सत्रबाट विद्याश्रममा ११ र १२ कक्षाको पढाई सुरु गर्ने तयारीमा छौँ, यसका लागि स्नातक तहको अनुमति लिइसकेका छौँ र संस्कृत भाषामा आधारित पाठ्यक्रम पनि तयार भइसकेको छ।’

विद्याश्रममा पढाइने तौरतरिकाबाट अन्य विद्यालयमा संस्कृत भाषाको पढाइ नहुने हुँदा उच्च शिक्षाको लागि कक्षा सञ्चालन गर्न लागेको बताउँछन् उनी। यो सँगै देशको धर्म, संस्कार संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले उक्त विद्यालय खोलिएको हुँदा उच्च तहमा पनि पाठ्यक्रम र अध्यापन शैली त्यही लक्ष्यतर्फ उन्मुख भएको उनले बताए।

विद्याश्रमका शिक्षक मनोज घिमिरेले संस्कृत भाषा र ज्ञानको सबैले संरक्षण गर्नुपर्ने बताए। यहाँ अहिले विद्याश्रममा आधुनिक विषयतर्फ नेपाली, गणित, सामाजिक, अंग्रेजी र संस्कृततर्फ वेद, कर्मकाण्ड, संस्कृत व्याकरण\संस्कृत साहित्य र ज्योतिषको पढाइ हुन्छ।

विद्याश्रममा पढ्दै आएका एक विद्यार्थीले आफू जुम्लाबाट संस्कृत पढन यहाँ आएको बताए। ‘म अहिले कक्षा १० मा अध्ययनरत छु, मलाई संस्कृत भाषाबाट उच्च शिक्षा ग्रहण गर्ने ठूलो रहर छु', उनले भने,  'बाबाममीले पठाएर नै म विद्याश्रममा संस्कृत पढ्न आएको हुँ।’

विद्याश्रममा विद्यार्थीलाई निःशुल्क शिक्षा त छदै छ। यो सँगै विद्याश्रममा १०८ विद्यार्थीलाई छात्राबासको सुविधा समेत रहेको छ। विद्यार्थीले लगाउने नेपाली पोसाक विद्यालयको अनिवार्य 'ड्रेस' हो। ‘छात्राबासमा बस्ने १०८ विद्यार्थीलाई नै पोसाक निःशुल्क उपलब्ध गराइएको छ’, प्रा. अधिकारीले भने, ‘विद्यालय र अभिभावक मिलेर सबै विद्यार्थीको लागि पोसाक उपलब्ध गराएका छौं। यहाँका विद्यार्थीको परिचय नै नेपाली पोसाक हो।’

२०३१ सालमा स्थापना भएको यो विद्यालयमा अध्ययन पूरा गरेका विद्यार्थी अहिलेसम्म बेरोजगार बस्नु परेको छैन। संस्कृतसँगै अंग्रेजी पनि पढेका कारण उनीहरूको माग विकसित देशमा भएको बताउँछन् अधिकारी।

विश्वव्यापी रूपमा संस्कृत भाषाको महत्त्व बढ्दै गएको छ र त्यो महत्व बुझ्ने अभिभावक पनि बढ्दै छन्। अनि संस्कृतमा रुचि राख्ने विद्यार्थी पनि। तर विद्यालयको भौतिक संरचनाको अभावमा विद्यालयले चाहेजति विद्यार्थी भर्ना लिन नसकेको प्रा. अधिकारी बताउँछन्। त्यही संरचनामा पनि महानगरले एकाएक डोजर लगाएर जग्गा अतिक्रमण गर्दा उनीहरू दु:खी देखिन्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.