बिरामी बढेको बढ्यै, चिकित्सक घटेको घट्‍यै

|

काठमाडौं : देशकै  ठूलो सरकारी बाल अस्पताल कान्ति थला पर्दै गएको छ। दैनिक पाँच सयभन्दा बढी बालबालिकाको उपचार हुने यो अस्पताल आफैँ बिरामी परेको छ। देशभरबाट जटिल रोग लागेका बालबालिकाको उपचारका लागि एक मात्र रिफरल अस्पताल कान्तिको अवस्था अहिले दयनीय अवस्थामा पुगेको छ।

धेरै बालबालिकालाई मृत्युको मुखबाट बचाएको कान्ति आफैँ बिरामी अवस्थामा पुगेको हो। दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सक नहुँदा यो अस्पतालले आवासीय  चिकित्सकको भर पर्नुपरेको छ।

५२ आइसियु बेडमा ३७ मात्रै सञ्चालन

यो अस्पतालमा गम्भीर बिरामी परेका बालबालिका आउने भएकाले तत्कालीन स्वास्थ्‍यमन्त्री गगनकुमार थापाले १८ शय्याको आईसीयुलाई बढाएर ५२ शय्या पुर्‍याएका थिए। बिरामीको चाप अनुसार सेवा विस्तार गर्ने क्रममा अहिले एनआइसीयुमा १०, पिआइसीयुमा १३ र एसआइसीयुमा आठ शय्या सञ्चालित छन्। कान्ति बाल स्पतालका प्रमुख प्रशासकीय अधिकृत गंगाराम गिरीका अनुसार जनशक्ति अभाव भएकाले उद्घाटन भइसकेको एनआइसीयु सञ्चालनमा आउनै सकेको छैन।

मुख्य जनशक्ति मेडिकल अफिसर र स्टाफ नर्स अभावले यहाँ ३७ आइसीयु बेड सञ्चालित छन्। समायोजनका कारण अझै आइसीयु बेड २५ देखि २० मा झर्नसक्ने अस्पतालले जनाएको छ।

विशेषज्ञ चिकित्सक अभाव

३९ जनाको दरबन्दी रहेको कान्ति बाल अस्पतालमा तीनजना मेडिकल अफिसर थिए। कर्मचारी समायोजनपछि दुईजना मेडिकल अफिसर प्रदेशमा समायोजन भएका छन्। समायोजनका कारण कान्तिमा अहिले १२ जना विशेषज्ञ चिकित्सको दरबन्दी खाली छ।

३२३ शय्याको अस्पतालमा हाल ३०५ शय्या मात्र सञ्‍चालनमा छन्। तर, सबै शय्याका बिरामी हेर्ने चिकित्सक कम छन्। ३९ जना मेडिकल अफिसरको दरबन्दी छ। अस्पतालमा आउने बिरामीको अनुपातमा विशेषज्ञ चिकित्सक र अन्य चिकित्सक नहुँदा आवासीय चिकित्सको भरमा हुँदै  चलेको छ।

हाल अस्पतालमा विभिन्‍न विधाका आवासीय चिकित्सकहरूले सेवा दिइरहेका छन्। हाल अस्पतालमा एनेस्थेसिया र बाल सर्जरी तथा बाल रोग विधाका ३४ जना आवासीय चिकित्सकले सेवा दिइरहेको अस्पताल प्रशासनले जनाएको छ।  

बिरामी बढेको बढ्यै

कान्तिमा दैनिक चार सयभन्दा बढी  बालबालिका उपचारका लागि आउने गरेको अस्पतालको तथ्‍यांकमा उल्लेख छ। यसका अलवा रिफरल बिरामी बालबालिकाको समेत अस्पतालमा चाप उत्तिकै छ।

चिसो मौसममा बहिरङ्ग र अन्तरङ्ग गरी दैनिक पाँच सय बिरामी आउने गरेका थिए। गर्मी मौसममा बहिरङ्ग र अन्तरङ्गमा दैनिक ६ सय बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ।

गर्मी मौसममा विभिन्‍न संक्रमणसहित ज्वरोका बिरामी धेरै आउने भएकाले अन्य बेलाभन्दा बिरामीको चाप बढ्ने चिकित्सकको भनाइ छ। तर, बिरामीको चापअनुसार स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई सेवा दिन समस्या भइरहेको छ।

धेरै दरबन्दी रिक्त

अस्पताल विकास समिति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका चिकित्सक कार्यरत कान्ति अस्पतालमा धेरै दरबन्दी खाली छन्। मन्त्रालय मातहत २६४ जनाको दबन्दीमा हाल ९७ जना मेडिकल अफिसर, नर्सिङ अफिसर र अन्य विभिन्‍न विधाका चिकित्सकको दरबन्दी खाली रहेको प्रशासन प्रमुख गिरीले बताए।

‘हाम्रो मुख्य समस्या भनेकै दरबन्दीअनुसार चिकित्सक र अन्य स्वास्थ्यकर्मी छैनन्', उनले भने, 'जसले गर्दा बिरामीले पाउने सेवामा असर गरेको छ। हामीले धेरै व्यवस्थापन गरेर कठिनसाथ बिरामीलाई सेवा दिइरहेका छौँ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.