|

विराटनगर : मोरङ कटहरी गाउँपालिकाको एउटा उद्योगले उत्पादनका क्रममा निस्किएको केमिकलयुक्त पानी खोलामा मिसाएको छ। जसका कारण खोलाको पानी प्रयोग गर्ने वस्तीका मानिसमा चर्म रोग देखा परेको छ भने पानी प्रयोग गर्ने गाइवस्तु पनि मरेका छन्। 

मोरङको कटहरी ४ मा रहेको क्वालिटी सोप प्रालि उद्योगबाट निस्किएको पानी लोहन्द्रा खोलामा मिसाइएको छ। उद्योगले यसअघि प्रशोधन गरेर पानी खोलामा मिसाउने गरेको भए पनि केही समययता त्यसो नगरी उद्योगबाट निस्कने केमिकलयुक्त पानी सिधै खोलामा मिसाउँदा आफूहरू समस्यामा परेको स्थानीयको दाबी छ।

उद्योगको पानीका कारण खोलाको पानीमा खराबी आउँदा स्थानीय फुलटोल मधुराका किसानका गाइवस्तु मर्नुको साथै बिरामी भएको र मानिसमा समेत चर्म रोग देखा परेको स्थानीय विनोदकुमार सिंह बताउँछन्। उद्योगले केही समयअगाडिसम्म खोलाको पानीमा मिसाउँदा प्रशोधन गरेर मात्रै मिसाउने गरेको थियो। तर, अहिले सिधै पानी छोड्दा समस्या भएको उनीहरूको दाबी छ।

खोलामा तर परेको गन्धयुक्त पानी आउने आउँदा खोलामा पौडी खेल्ने बालबालिकालाई असर गरेको र ठूला मानिसमा समेत हातमा घाउ खटिरा आउने गरेको छ। त्यति मात्रै होइन खोलाको पानी बालिनालीमा प्रयोग गर्दा मर्नुको साथै उद्योगको धुँवाबाट आएको कण बस्दा उब्जनी पनि कम भएको स्थानीय रंजितसिंह कोइरीको भनाइ छ। कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले वातावरण प्रदूषित गर्नेगरी उद्योगले पानी खोलामा हाल्न नपाउने बताए।

आफूसँग पनि खोलामा पानी हालेको विषयमा जानकारी आएको बताउँदै उनले तुरुन्तै अनुगमन गर्ने र गाइवस्तु मरेको वा क्षति भएको भए उद्योगले क्षतिपूर्ति दिनुपर्ने बताए। यसैबीच हानिकारक रसायनयुक्त प्रदुषित पानी खोलामा मिसाइएको विषयमा जानकारी पाएपछि कटहरी गाउँपालिकाले अनुगमन गरेको छ। खोलामा प्रदूषण मिसाइएको विषय सार्वजनिक भए पनि गाउँपालिका प्रमुख सहितको टोलीले स्थलगत अनुगमन गरेको हो। यस्तै टोलीले लोहन्द्रा खोलमा प्रदुषित पानी मिसाउन बनाइएको नालाको समेत निरीक्षण गरेको छ।

अनुगमनपछि प्रतिक्रिया दिँदै कटहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कार्कीले खोलामा प्रदुषणयुक्त पानी मिसाइएको सम्बन्धमा जाँच गराइने र पुष्टि भए कारवाही प्रक्रिया अघि बढाइने बताए। उनले त्यसकारण किसानलाई पुगेको क्षतिको भपाइ समेत गराइने आश्वासन दिए। तर, अनुगमन भएको तीन दिन वितिसक्दा पनि उद्योगलाई कुनै कारबाही नभएको स्थानीयले बताएका छन्। 

वर्षौंदेखि बसोबास गर्दै आएका स्थानीयहरू खोलाकै पानीको भरमा छन्। गाइवस्तुलाई खोलामै नुहाइ दिन्छन्। गर्मीको समयमा बालबालिका तथा युवा खोलामा पौडी खेल्न कुदिँहाल्छन्। यता उद्योग प्रशासनले भने उद्योगबाट निस्किएको पानीका कारण कुनै समस्या नभएको दाबी गरेको छ। उद्योगले ५ वर्षअगाडि नयाँ प्लान्ट जडान गरेर संचालनमा ल्याएको छ। त्यसबाट फोहोर केमिकलयुक्त पानी खोलामा नमिसाइएको बताएको छ।

भुष बोइलरबाट चुहिएको पानी खोलामा गएको कारण स्थानीयलाई आशंका भएको भएपनि त्यसले कुनै असर नगर्ने उद्योग पक्षको दाबी छ। उद्योगका सुपरभाइजर जुगनारायण यादवले फोहोर पानी भएको भए व्यवस्थापन गर्नुपर्ने भए पनि केमिकलयुक्त पानी गएको विषयमा आफूले हेर्ने बताए। उक्त उद्योग ३ दशकभन्दा अगाडिदेखि त्यस ठाउँमा संचालनमा आएको हो। उद्योगले साबुन, सर्फ र बनस्पति घ्यु उत्पादन गर्दै आएको छ।

उद्योगको पूर्वपट्टि बग्ने लोहन्द्रा खोलामा केमिकलयुक्त पानी छोडिएको छ। स्थानीयले भने उद्योगले पानीको व्यवस्थापन उचित ढंगले नगरे आन्दोलन गर्ने बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.