गाउँपालिकामै एक शिक्षक एक ल्यापटप, एउटा कक्षा एउटा 'प्रोजेक्टर'

|

पर्वत : जिल्लाको महाशिला गाउँपालिकाले गाउँपालिकाभित्रका विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियान सुरु गरेको छ। वर्तमान शैक्षिक प्रणाली प्रविधिबाट सञ्चालन भइरहँदा पनि विद्यालयमा भने परम्परागत घोकन्ते शिक्षा प्रणाली नै कायम रहेकोले यसको अन्त्यका लागि यो अभियान सुरु गरिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उचैले जानकारी दिए।

अभियानअन्तर्गत गाउँपालिकाभित्र रहेका विद्यालयका प्रत्येक शिक्षकसँग ल्यापटप अनिवार्य गरिएको छ भने एउटा कक्षामा एउटा ‘प्रोजेक्टर’ प्रदान गरिने भएको छ। ‘श्रव्य दृश्य सामग्रीको माध्यमबाट शिक्षण गरियो भने त्यो दिगो हुन्छ। त्यसैले गाउँपालिकाले हरेक विद्यालयलाई प्रविधिमा जोड्नका लागि यो अभियानको सुरुवात गरेको हो’ उचैले भने।

माध्यमिक तहसम्म सञ्चालनमा रहेको विद्यालयहरूका लागि मात्र चलाइएको यो अभियान बिस्तारै आधारभूत तहको प्राविसम्म सञ्चालनमा रहेका विद्यालयहरूमा पनि लैजाने गाउँपालिकाको योजना छ। यसका लागि गाउँपालिकाले तत्कालका लागि ३२ लाख रुपैयाँ विनियोजन गरेको छ। उक्त रकमबाट गाउँपालिकाभित्र रहेका आठवटै माध्यमिक विद्यालयमा ‘प्रोजेक्टर’ प्रदान गरिने छ।

गाउँपालिकाले विनियोजन गरेको बजेटबाट मावि तह सम्म सञ्चालनमा रहेका विद्यालयको एउटा कक्षाका लागि एउटा प्रोजेक्टर खरिद गरिने छ। यसका लागि आवश्यक पर्ने ल्यापटप भने सम्बन्धित विद्यालय वा सम्बन्धित शिक्षक आफैँले व्यवस्थापन गर्नुपर्ने मापदण्ड राखिएको छ। ‘गाउँपालिकाले मापदण्ड पूरा गरेका विद्यालयलाई आवश्यक पर्ने ‘प्रोजेक्टर’ दिन्छ। ल्यापटप खरिद गर्ने काम विद्यालयले गर्नुपर्छ, वा शिक्षक आफैँले किन्नुपर्छ’ गाउँपालिकाका प्रमुख राजु पौडेलले भने।

विद्यालय र गाउँपालिकाको साझेदारी कार्यक्रमअन्तर्गत यो अभियानको सुरुवात गरिएको उनको भनाई छ। ‘विद्यालयमा आवश्यक पर्ने सबै सामग्री गाउँपालिकाले दिँदा त्यसको राम्रो सदुपयोग नहुन सक्छ। विद्यालयको लगानी पनि यसमा मिसियो भने आफ्नो लगानीको माया मान्नुपर्ने बाध्यता हुन्छ’ उनले भने।

तत्कालका लागि गाउँपालिकामा रहेका आठ मध्ये ६ विद्यालयमा मात्र यो योजना लागू हुँदै छ। ६ विद्यालयमा गाउँपालिकाले रोखको सर्त इन्टरनेटको सुविधा र हरेक शिक्षकसँग ल्यापटप हुनुपर्ने पूरा भएका कारण ती विद्यालयलाई मात्र ‘प्रोजेक्टर’ प्रदान गर्न लागिएको छ।

गाउँपालिकाका प्रवक्ता उचैका अनुसार तत्कालका लागि महेन्द्रज्योति मावि लुँखु, जनविकास मावि पाखापानी, सोधर्म मावि पाखापानी, विश्वज्योति मावि पाखापानी, महेन्द्रोदय मावि भोक्सिङ र सूर्य मावि होश्राङदीमा ‘माध्यमिक विद्यालय प्रविधिमैत्री शिक्षा’ योजना लागू हुँदै छ। तर बालाकोटमा रहेको बालारानी मावि र फलामखानीमा रहेको मदनआश्रित माविले इन्टरनेट र ल्यापटपको सर्त पूरा नगरी सकेका कारण ती विद्यालयलाई भने केही समय पछाडि मात्र यो योजनामा समेट्ने गाउँपालिकाको योजना छ।

अहिले माध्यमिक विद्यालयबाट प्रविधिमैत्री शिक्षा सुरुवात गरिएको भए पनि क्रमशः प्रावि तहसम्म मात्र चलेका विद्यालयमा पनि यो अभियान लैजाने गाउँपालिकाको योजना छ। पुराना शिक्षकहरू कम्प्युटरमा पोख्त नभएका कारण शिक्षकलाई गाउँपालिकाले कम्प्युटरको तालिम समेत गराई रहेको छ। शिक्षकले नै कम्प्युटर चलाउन नसकेमा विद्यालयमा प्रदान गरिने ‘प्रोजेक्टर’ हरू प्रयोगविहीन हुने र अभियान असफल हुने भएकोले विद्यालयको मागको आधारमा कम्प्युटरका तालिमहरू चलाइएको पनि गाउँपालिकाका प्रवक्ता उचैले जानकारी दिए।

‘विद्यालयको आवश्यकताको आधारमा कम्प्युटरका प्राविधिक र अपरेटरहरूलाई विद्यालयमा पठाएर विशेष तालिमहरू सञ्चालन गरिरहेका छौँ’ उचैले भने, ‘नयाँ शिक्षकमध्ये अधिकांशले त पहिले नै कम्प्युटर चलाउँदै आउनुभएको थियो। पुराना शिक्षकहरूले पनि सिकी सक्नु भएको छ।’ 

महाशिला गाउँपालिकामा प्राथमिकदेखि माध्यमिक तहसम्म कक्षा सञ्चालन गर्दै आएका विद्यालयको संख्या २७ रहेको छ। ती विद्यालयमा झन्डै २ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.