महानगरको हैसियत नटुंगिदा अल्झियो एकता

|

विराटनगर : नेपाल कम्युनिष्ट पार्टी मोरङको एकता प्रकृयाको अन्तिम टुंगो लगाउन सकस भएको छ। तात्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको तर्फबाट जिल्ला कमिटीमा सहभागी हुने सदस्यको सिफारिस भइसके पनि एकता प्रक्रिया भने टुंगिएको छैन।

नेकपा केन्द्रीय समितिले जेठ ३ गते नै जिल्लाको संयोजक र सचिव तोकेर पठाइसकेपछि धेरै जिल्लामा एकता प्रक्रिया टुंगिसकेको छ। मोरङमा भने एकता टुंग्याएर जिल्ला कमिटी गठन गर्ने विषयमा अन्यौलमा परेको हो। महानगरस्तरीय कमिटी जिल्ला कमिटीको मातहतमा राख्ने वा जिल्लाकै हैसियतमा रहने भन्ने विषयको टुंगो नलागेका कारण एकता अघि नबढेको हो।

जिल्ला कमिटीमा रहने सदस्यहरुको टुंगो लगाउन यसअघि गठन भएको कार्यदलका सदस्य गणेश उप्रेती सुशिलले एउटा जिल्लामा समान हैसियतका दुई कार्यकारी कमिटी गठन गर्नु उपयुक्त नहुने बताए। उनले भने ‘यतिबेला महानगरपालिकाको विषय नटुंगिएकै कारण मोरङ जिल्ला कमिटी गठन गर्न सकिएको छैन, यसको समाधान हुनेबितिकै जिल्ला कमिटी बन्छ।’

केन्द्रीय कमिटीले पठाएको सकुर्लरमा महानगर कमिटीको हैसियत जिल्लासरहकै हुने वा मातहतमा रहने भन्ने कुरा दोहोरो अर्थलाग्ने गरी पठाएका कारण समस्या उत्पन्न भएको हो। नेपाल कम्युनिष्ट पार्टी प्रदेश कमिटीका सचिव सुरेश किराँतीले जिल्लाको मातहतमा रहने र समान हैसियत हुने भन्ने जनिने खालको विषयले मोरङको कमिटी गठनमा केही जटिलता भएको स्वीकार गरे। उनले केही दिनभित्रै छलफल गरेर समस्याको निकास निकाल्ने जानकारी दिए।

एउटै भूगोलमा समान हैसियतका दुई कार्यकारी कमिटी गठन गर्दा चरम बिवाद सृजना हुन सक्नेतर्फ नेताहरु सचेत देखिएका छन्। महानगरपालिका जिल्ला कमिटी सरकै हुने अवस्थामा कार्यदलले दिएको सर्वसम्मत प्रतिवेदनका आधारमा कमिटी गठन गर्न समस्या छैन। तर, महानगर कमिटी जिल्लाको मातहतमा रहने अवस्था भए महानगरको नेतृत्व गर्ने केही नेताहरुलाई जिल्लामा लैजानुपर्ने हुन्छ। त्यसले गर्दा पनि पहिले हैशियत स्पष्ट हुनु आवश्यक रहेको बताइएको छ।

अर्कोतर्फ पेशागत संगठनहरु कर्मचारी, शिक्षक र पत्रकारहरुलाई पार्टीको जिल्ला कमिटीमा लैजाने कि नलैजाने भन्ने अर्को जटिलता पनि देखिएको छ। पेशागत संगठनको पार्टी हैसियत कसरी मिलाउने र उनीहरूको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि सहमति बनिसकेको छैन। यसले जिल्ला कमिटी गठन अझै केही दिन लम्बिने सम्भावना देखिएको छ।

नेपाल कम्युनिष्ट पार्टीले १ सय ८५ जनाको मोरङ जिल्ला कमिटी गठन गर्ने सहमति यस अघि नै गरिसकेको छ। त्यसमा पूर्व नेकपा एमालेबाट १ सय १० जना र पूर्व नेकपा माओवादी केन्द्रबाट ७५ जना रहनेछन्। जेठ ३ गते संयोजक र सचिवको टुंगो लागेको भएपनि जिल्ला कमिटी गठनको विषयमा औपचारिक छलफल अघि बढेको छैन।

सुनसरी, धनकुटा, तेह्रथमुलगायतका जिल्लामा एकता सम्पन्न भएको र बुधबार ताप्लेजुङ, पाँचथर, इलाम, झापाको एकता टुंगो लाग्ने नेकपा प्रदेश १ का सहइन्चार्ज सावित्री काफ्लेले बताए। मोरङको विषयमा भने पार्टी केन्द्रले देशभरका ६ वटा महानगर कमिटीको बारेमा जस्तो नीति बनाउँछ सोही अनुसार गर्नेगरी केही समय पछि टुंगो गर्ने उनले बताए।

मोरङ जिल्ला कमिटीको अध्यक्ष तोकिएका विनोद ढकाल र सचिव गोपी अछामी दुवै केन्द्रीय सदस्य हुन्। उनीहरूले भने यसअघिको सिफारिसअनुसार ऋषि पोखरेललाई अध्यक्ष र गणेश उप्रेतीलाई नै सचिव बनाउनु उपयुक्त हुने सुझाव नेतृत्वलाई दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.