|

काठमाडौं : भित्ताभरी बुद्ध आकृतिका पेन्टिङ झुन्ड्याइएका छन्। ती पेन्टिङको भिडमा एउटा पृथक पेन्टिङ भेट्न सकिन्छ। जसले सबैको ध्यान खिच्छ। यस पेन्टिङमा बुद्ध छन्। नेपाल छ र भारत पनि छ। यस पेन्टिङको क्याप्सनमा लेखिएको छ,'संगम'।

नेपाल कला परिषद् बबरमहलको प्रदर्शनी हलमा एक हप्तादेखि भारतीय कलाकार ध्यान पासिकाका पेन्टिङ प्रदर्शन भइरहेका छन्। 'बुद्धः सेड्स अफ इनलाइटनमेन्ट' नाम दिइएको प्रदर्शनी नेपाल-भारत बीपी कोइराला फाउन्डेसनले आयोजना गरेको हो। जसमा सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गर्दाका विभिन्‍न चरण र बुद्धका विभिन्‍न स्वरुप पेन्टिङमा उतारिएको छ। 

तर प्रदर्शनीमा राखिएका चित्रमध्ये 'संगम' त्यस्तो चित्र हो जसले नेपाल-भारतबीचको सदियौंदेखिको सम्बन्धलाई दर्शाउँछ। 

'संगम' बारे के भन्छन् चित्रकार? 

यो पेन्टिङका सर्जक ध्यान पासिका सन्यासी हुन्। ओशाेका अनुयायी उनी आध्यत्मिक व्यक्तिका सोचलाई क्यानभासमा उतार्छन्। बुद्धको क्यानभास उनलाई मनपर्ने क्यानभास हो किनकी उनी बुद्धको ध्यानबाट प्रभावित छन्।

'संगम' लगायत बुद्ध नै बुद्धका पेन्टिङ बनाउने सोच लुम्बिनी भ्रमणपछि ध्यान पासिकामा आएको रहेछ। 'गतबर्ष लुम्बिनी भ्रमण गरे। बुद्धको जन्मभूमि र उहाँका पैतलाका छाप परेको ठाउँमा पुगेको थिए' उनले भने 'त्यसपछि बोधगया र सारनाथ गएको थिए। अनि पेन्टिङ मार्फत बुद्धका रुप दर्शाउन खोजे।' 'संगम' चित्रको स्पष्ट सन्देश छ,'गौतम बुद्ध नेपाल या भारतको मात्रै भनेर बुझ्यो भने अपुरो देखिन्छ।'

बुद्ध नेपाल र भारतको सेतु भएको उनको धारणा छ। बुद्धलाई धर्तीको उपहार मान्‍ने उनी बुद्धका दुई जन्म बताउँछन्। 'गौतम बुद्ध न त भारतको हो न नेपालको। उहाँ त यो धर्तीका हुनुहुन्थ्यो र हुनुहुन्छ।'

ध्यान पासिकाले प्रदर्शनीमा झुन्ड्याएका अन्य चित्रहरुको मुल्य तोकेका छन्। तर नेपाल-भारतको झण्डा भएको यो चित्रकला अनमोल रहेको उनी बताउँछन्।  उनले यो चित्रकला नेपाल- भारत विपी फाउन्डेसलाई उपहार दिनेछन्। जसलाई काठमाडौंमा रहेको नेपाल भारत बीपी फाउन्डेसनमा राखिनेछ।

'यो धर्तीमा बुद्धको जन्म हुनु नै हाम्रा लागि उपहार हो। उहाँको भारत र नेपालमा जन्म हुनुसँग कुनै लिनुदिनु छैन। हामी गौतम बुद्धकी आमालाई धन्यवाद दिनुपर्छ कि उनले गौतम बुद्धलाई लुम्बिनीमा जन्म दिनुभयो।' पासिकाको भनाइ हो यो।

गौतम बुद्धका विभिन्‍न रुपको पेन्टिङमा हिन्दूधर्मका चरित्र हनुमान, मीरा, ॐ लगायत उनले एकै ठाँउमा कोरेका छन्। पासिकाका पेन्टिङमा मीरा नाच्दै-नाच्दै ध्यानमा रहेको देखिन्छिन्। ध्यानस्थ बुद्धले नाचेका छन्। धार्मिक किम्वदन्ती फरक छ, कृष्णको मायामा नाच्‍ने र उनको नाम जप्दै भगवान प्राप्त गरेकी मीरा कहिल्यै ध्‍यानमा बस्दिनन्। अनि गौतम बुद्ध कहिल्यै नाचेनन्। त्यसो भए ध्यान पासिकाले यस्तो पेन्टिङ किन बनाए त? 'मेरा पेन्टिङमा कुनै धर्मसँग सम्बन्धित छैनन्। मेरा कनेटेमपोरोरी (समकालिन) आर्टिस्ट हुँ। गौतम बुद्ध सधै कन्टेम्पोरोरी हुन्' उनी भन्छन्। 

बुद्धका यी पेन्टिङ चीन, श्रीलंका, भियतनाम लगायत देशहरुमा प्रदर्शनी गर्ने पासिकाको योजना छ। उनले बुद्ध पुर्णिमाका अवसरमा फेरि काठमाडौंमा यी पेन्टिङहरुको प्रदर्शनी गर्ने बताए।' त्यतिबेला मसँग थप नयाँ पेन्टिङ पनि हुनेछन्,' पासिकाले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.