|
हत्या गरिएका धनराज शेर्मा र उनको परिवार

पाँचथर : यहाँको मिक्लाजुङमा ससुरा र साढुदाइसहित नौजनाको विभत्स हत्या प्रकरणमा नजिककै नातेदार संलग्न रहेको खुल्न थालेको छ । 

मिक्लाजुङ–३ आरुबोटेमा सोमबार राति भएको नौजनाको हत्याकाण्डमा ज्वाइँको हात रहेको प्रारम्भीक निचोड प्रहरीले निकालेको हो । 

ससुरा बमबहादुर फ्याक र साढुदाइ धनराज शेर्मासहित नौजनाको हत्यामा मिक्लाजुङ–७ का मानबहादुर माखिमको संलग्नता रहेको निचोड प्रहरी र स्थानीय जनप्रतिनिधिले निकालेका हुन्।

घटनाको अनुसन्धान सुरुवाती चरणमै रहेका बेला यो घटनासँग जोडिएका विभिन्न पाटा खुल्दै गएका छन् । एक नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गत स‌ंघीय प्रहरी कार्यालय धरानका एसएसपी शरद खत्रीको नेतृत्वको टोलीले केही बेरअघि आरुबोटे पुगेर घटनास्थल जाँच प्रकृति मुचुल्का उठाइरहँदा घटना पछाडिका विभिन्न पाटा खुल्न थालेका हुन्। 

मिक्लाजुङ–३ का वडाअध्यक्ष हस्तराज फ्याकले यो हत्याकाण्डमा बमबहादुरका कान्छा ज्वाइँ मानबहादुरकै संलग्नता रहेको कुरा पुष्टि गर्ने आधारहरु फेला पर्दै गएको बताए।
‘अहिलेसम्मको घटना विवरण हेर्दा मानबहादुरकै संलग्नताको सम्भावना देखिएको छ’, उनले भने, ‘उसको शव रहेको स्थान नजिकै रगत लत्पतिएका कपडा र खुकुरी भेटिएकाले यसमा थप बल मिलेको हो।’

धनराजाई धम्क्याएका थिए

प्रहरीले अनुसन्धानलाई तीब्र बनाएका बेला मानबहादुर र उनका साढुदाइ धनराजबीच झगडा परेको विवरण गाउँलेले सार्वजनिक गरेका छन्। माइतमा बसेकी पत्नी मनकुमारीसँग सम्बन्धविच्छेद गराउन खोजेको कुरामा मानबहादुरले धनराजलाई दोषी ठानेको स्थानीय गाउँलेले बताएका छन् ।

सोमबार दिउँसो मात्रै आफ्नो गाउँबाट ससुराली आरुबोटे पुगेका मानबहादुरले त्यहाँका गाउँलेसँग धनराजलाई केही न केही गर्छु भन्दै हिँडेको वडाअध्यक्ष फ्याकले बताए ।

‘हामीले बुझ्दै जाँदा पत्नीसँसगको झगडालाई लिएर ससुरा बमबहादुर र साढुदाइ धनराजसँग पनि झगडा परेको बुझियो’, वडाअध्यक्ष फ्याकले भने, ‘सोमबार मात्रै ‘यसलाई म केही न केही गर्छु’ भन्दै धनराजलाई धम्क्याएको सुनियो।’ 

सम्बन्धित समाचार:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.