|

संखुवासभा : खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाई कार्यालयको २० लाख तिन हजार रुपैयाँ रकम हिनामिना गरेको प्रतिवेदन सार्वजनिक भएको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै खानेपानी उपभोक्ता समितिले प्रतिवेदनमार्फत २० लाख बढी रकम अनियमितता भएको जानकारी दिएकाे हाे। 

रकम हिनामिना भएपछि लुकाइयो खाँदबारी खानेपानीको लेखा प्रतिवेदन भन्ने समाचार थाहा खबर दैनिकमा प्रकाशित भएपछि समितिलाई प्रतिवेदन सार्वजनिक गर्न उपभोक्ताले दवाब दिएपछि समितिले प्रतिवेदन सार्वजनिक गरेको हो। खानेपानी कार्यालयको रकम सबैभन्दा बढी रकम अनियमितता काउन्टर साहयक सुरेश ढकालले गरेको अध्यक्ष नरेन्द्र राईले जानकारी दिए।

काउन्टर  साहयक ढकालले १३ लाख ९५ हजार ४७ रुपैयाँ अनियमितता गरेको भएको प्रतिवेदनमा उल्लेख छ।  लेखापाल लक्ष्मण पराजुलीले ६२ हजार ६२७ र प्रशासन साहयक जुनिता कार्कीले ५ लाख ४५ हजार अनियमितता गरेको अध्यक्ष राईले बताए। काउन्टर सहायक ढकालले पानीको महसुल तर्फबाट उठाउन प्रयोग गरेको रसिदको अर्द्ध कट्टीमा लुकाएर र अर्द्ध कट्टीमा रद्ध लेखेर ६ लाख ५६हजार  ४०० रुपैयाँ अनियमितता गरेको पाइएको छ।

आर्थिक वर्ष २०७५/०७६मा सफ्टवेर प्रणालीको विलमार्फत दुई लाख २८ हजार १०० रुपैयाँ हिनामिना गरेको समितिका अध्यक्ष राईले जानकारी दिए। त्यसैगरी ढकालकै जिम्मेवारीमा राखिएको आर्थिक वर्ष २०७४/०७५ मा समेत पाँच वटा रसिद बुक गायव बनाएको उनी माथि समितिले आरोप छ। एक बुकमा ५० प्रति रसिद रहेको संस्थाले जनाएको छ।

अन्य विलमा उठेको न्युनतम र अधिकतम रकम अंकलाई आधार मानि पाँच वटा रसिदबाट ५ लाख ५ हजार रुपैयाँ अनियमितता भएको हुन सक्ने लेखा प्रतिवेदनमा उल्लेख गरिएको छ। लेखापाल लक्ष्मण र प्रशासन सहायक जुनिताले अनियमितता गरेको रकम दाखिला गरिसकेको समितिले जनाएको छ। मंगलबार रकम दाखिला गर्न अन्तिम म्याद भए पनि काउण्टर साहयक ढकाल अनियमितता गरेको रकम दाखिला नगरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो।

लेखापाल लक्ष्मणले सफ्टवयर प्रणाली र प्रशासन सहायक जुनिताले ५ प्रतिशत अनुदानको रकम अनियमितता गरेको प्रतिवेदनमा उल्लेख भएको जानकारी गराइएको थियो। उनीहरुलाई समितिले ४ महिना अघिनै निलम्बन गरेको थियो। खानेपानी कार्यालयमा आर्थिक रकम हिनामिना व्यापक भएको गुनासो आए पनि महशुल र उपभोक्ताबाट उठाएको रकमको बारेमा छानविन गर्न गत माघ १५ गते त्कालीन खाँदबारी नगरपालिकाका  लेखा अधिकृत रुद्रमणि श्रेष्ठलाई छानविनका लागि  जिम्मेवारी दिएको थियो।

लेखा अधिकृत श्रेष्ठले बुझाएको प्रतिवेदन मंगलबार मात्र सार्वजनिक गरिएको हो। खानेपानी आयोजनाले नगर विकास कोषबाट २० करोड २ लाख ऋण लिइएको थियो। आयोजनाको निमार्ण खर्च खर्च हाल सम्म ४५ करोड ५१ लाख रुपैयाँ पुगेको समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.