|

काठमाडौं : प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विक्रमसिंह थापाले बुधवारदेखि अवकाश पाएपछि रिक्त रहेको काठमाडौं जिल्ला प्रहरी प्रमुख बन्न एसएसपीहरुको दौडधुप सुरु भएको छ। राजधानीको प्रहरी प्रमुख आकर्षक ठाउँ भएकाले एसएसपीहरुले आफू महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख बन्न लबिङ सुरु गरेका छन्। 

काठमाडौंको प्रहरी प्रमुख बन्ने दौडमा ६/७ जना एसएसपीहरु रहेका छन्। एसएसपीहरु छविलाल जोशी, दीपक थापा, ठूले राई, दिनेश अमात्य, भोगबहादुर थापा, मिलन बस्नेत, श्याम खत्री लगायतको दौडधुप चलिरहेको प्रहरी प्रधान कार्यालय श्रोतले बताएको छ। गृह मन्त्रालयको स्वीकृतिमा प्रहरी प्रधान कार्यालयले काठमाडौं प्रहरी प्रमुख छान्ने प्रचलन रहेको छ।

एसएसपी जोशी अहिले अञ्चल प्रहरी कार्यालय बाग्लुङमा छन्। ठुले राई, दिनेश अमात्य, भोगबहादुर थापा भने प्रहरी प्रधान कार्यालयको बिभिन्न विभागमा कार्यरत छन्। मिलन बस्नेत महानगरीय ट्राफिक प्रहरी महाशाखामा र श्याम खत्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत छन्।

राजनीतिक दलका नेतादेखि व्यापारीहरुसँग समेत राम्रो पहुँच राख्न पाइने र चुनौतीपूर्ण ठाउँ भएकाले प्रहरी संगठनभित्रै काठमाडौं प्रहरी प्रमुख आकर्षक ठाउँ मानिन्छ। त्यसैले पनि एसएसपीहरु शक्तिकेन्द्रलाई रिझाएर काठमाडौं प्रहरी प्रमुख बन्न लागिपरेका छन्।

राजधानीमा नै बसेर राम्रो काम गर्न सकेमा भोलि बढुवाको लागि पनि सजिलो हुने भएकोले उनीहरु काठमाडौं प्रमुख बन्न जोड गर्ने गरेको प्रहरी अधिकारीहरु बताउँछन्। काठमाडौं प्रहरी प्रमुख आकर्षक मात्र नभई चुनौती पनि भएको प्रहरी अधिकारीहरु स्वीकार्छन्। ‘काठमाडौंमा ७४ वटै जिल्ला ठोक्किन्छ, त्यसैले आकर्षक मात्र नभई चुनौतीपुर्ण पनि छ’, एक प्रहरी अधिकारीले भने ‘राम्रो काम गरेर देखाउने अवसर हुँदाहुँदै जोखिम पनि छ।’

काठमाडौं प्रहरी प्रमुख भएर राम्रो काम गरेकोमा अहिले पनि केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख डिआइजी नवराज सिलवाल, महानगरीय अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनाल र  हाल युएन मिसनमा रहेका एसएसपी रमेश खरेल प्रहरी संगठनभित्र चर्चित छन्। 

एसएसपी विक्रमसिंह थापाले अवकाश पाएपछि बुधबार नै काठमाडौं प्रहरी प्रमुख छान्नको लागि गृहमन्त्री विमलेन्द्र निधि र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीच छलफल गर्ने कार्यक्रम रहेको थियो। तर गृहमन्त्री निधि अस्वस्थ भएपछि उनीहरुबीच छलफल हुन सकेको छैन। 

बिहीबार र शुक्रबार काठमाडौं प्रहरी प्रमुख नछानिए काठमाडौं प्रहरी प्रमुख छान्ने काम १० दिनपछि धकेलिनेछ। शनिबार गृहसचिव लोकदर्शन रेग्मी १० दिनको लागि जापान जाने कार्यक्रम छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.