|

सोलुखुम्बु : सोलुखुम्बुको सदरमुकाम सल्लेरीसहित आसपासको क्षेत्रमा १२ विद्युत् सेवा अवरुद्ध छ। सल्लेरी च्याल्सा विद्युत कम्पनीको सेवा बन्द भएपछि सल्लेरीसहित आसपासको करिब एक हजार ८०० घरधुरी विद्युत् सेवाबाट बञ्चित भएका हुन्।

कम्पनीले वार्षिक मर्मत तथा सरसफाइ कार्यक्रमअन्तर्गत वैशाख २९ देखि जेठ ५ सम्म सेवा बन्द गरी काम गर्ने बताए पनि जेठ ८ सम्म पनि काम सकेको छैन। मौसम प्रतिकूल भएकाले निर्धारित समयमा काम नसकिएको कम्पनीका उपमहाप्रबन्धक रामेश्वर मास्केले बताए। 

उनका अनुसार मौसम अनुकूल भए बिहिबार दिउँसोदेखि विद्युत सेवा सञ्चालनमा आउने छ। सिभिल, इलेक्ट्रोमेकानिकल साथै फुटेको पेनस्टक पाइप फेर्न काम समेत सकिएको छ। ६०० किलोवाट क्षमताको उक्त विद्युत कम्पनीले लामो समयदेखि सदरमुकाम सल्लेरीसहित गार्मा, खोरिया, फाप्लु, जुनबेंशीलगायतको क्षेत्रमा विद्युत सेवा दिँदै आएको छ।

जनजीवन कष्टकर 

विद्युत सेवा अवरुद्ध भएपछि यहाँको जनजीवन कष्टकर बनेको छ। केही दिनका लागि बैकल्पिक व्यवस्था गरिए पनि लामो समयसम्म अवरुद्ध हुँदा समस्या भएको सल्लेरीका भोजकुमार अधिकारीले बताए। 

कक्षा ११ को परीक्षा सञ्चालन भइरहेकाले विद्यार्थीलाई अध्ययन गर्न समेत समस्या भएको छ। ‘चार्जवाला बत्ती भए पनि के गर्नु लामो समय टिक्दैन,’ कक्षा ११ की परीषार्थी संगीता कार्कीले भनिन्, ‘गाउँबाट परीक्षा दिन आएको, राम्ररी तयारी नगरी परीक्षा दिन बाध्य भएका छौं।’

विद्युत नहुँदा जेनेटेर सञ्चालन गरेका पसलमा महँगो शुल्क तिरेर मोबाइल फोनलगायत विद्युतीय सामग्री चार्ज गर्नुपर्ने बाध्यता छ। एउटा मोबाइल फोन चार्ज गर्न ३० रुपैयाँसम्म तिर्नु परेको स्थानीयले बताए। पाँच रुपैयाँमा हुने फोटोकपीको शुल्क १० तिनुपर्ने बाध्यता रहेको सल्लेरीमा भेटिएकी चोलामाया राईले बताइन्। राईले भनिन्, ‘बत्ती छैन भन्छन्, आफुलाई आवश्यक परेको छ, नगरेपनि भएको छैन, यसतर्फ चाहिँ सेवा प्रदायक कम्पनीले ध्यान दिनुपर्ने हो।’

विद्युतको भरपर्दो बैकल्पिक व्यवस्था नहुँदा सञ्चार सेवा समेत प्रभाववित बनेको छ। टेलिफोन, इन्टरनेटले समेत राम्रो काम गरेको छैन। जिल्लामा सञ्चालित एफएम रेडियोले नियमित कार्यक्रम सञ्चालन गर्न सकेका छैनन्। टेलिभिजन हेर्न पाएका छैनन्। यस्तै, यहाँका बैंकिङ सेवा पनि अवरुद्ध भएको छ।

स्वदेशी लघुवित्त सल्लेरी शाखा प्रमुख प्रेमबहादुर बस्नेतले महँगो शुल्क तिरेर जेनेटर प्रयोगकर्ता कहाँ गएर सेवा सञ्चालन गरिएको बताए। उहाँले भने, ‘कम्प्युटरको सिपियु बोकेर विजुली भएको ठाउ्रँमा गएर कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता छ।’

सरकारी कार्यालयले जेनेटरको प्रयोग गरी सेवा सञ्चालन गरिरहेका छन्। तर कतिपय कार्यालयमा बैकल्पिक व्यवस्था नहुँदा सेवाग्राही रित्तो हात फर्कन बाध्य भएका छन्। जिल्ला नापी कार्यालयमा फिल्डबुक उत्तार गर्न आएकी तिङ्लाकी होमाकुमारी भुजेलले रित्तो हात फर्कनुपरेको गुनासो गरिन्।

यता नापी कार्यालयका प्रमुख रिकेश महर्जनले बैकल्पिक व्यवस्था गर्ने कुनै श्रोत नभएको बताउँन्। कार्यालयमा भएको सोलार सिस्टम बिग्रेको छ भने जेनेरेटर समेत नपाएको उनको भनाइ छ।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.