समाज

छ हजार ट्याक्सीको मिटर भाडा समायोजन
SHARES

जेठ ८, २०७६

    काठमाडौं : नेपाल गुणस्तर तथा नापतौल विभागले ६ हजार ८७ ट्याक्सीको मिटर भाडा समायोजन गरेको छ।

    विभागले २०७५ असोज ७ मा सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने यातायात व्यवस्था विभाग र मन्त्रालयको निर्णयलाई कार्यान्वयन गर्दै मंसिर पहिलो सातादेखि ट्याक्सीमा मिटर भाडा समायोजनको कामलाई अगाडि बढाएको हो। 

    विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले उपत्यकामा सञ्चालित हरेक ट्याक्सीमा बढेको भाडा समायोजन गरिँदै आएको जानकारी दिए। उनले भने, ‘मिटर र प्रिन्टर मेसिन ठीक छ वा छैन हेरेर मिटरमा भाडा समायोजनका काम अगाडि बढाएका छौँ।’ 

    विभागले दैनिक ८० देखि १०० ट्याक्सीको भाडा समायोजन गर्दै आएको छ। पहिला ट्याक्सी चलाउन थालेपछि सुरुमा १४ र एक किलोमिटर गुडिसकेपछि ५० रुपैयाँ उठ्ने गरेकामा नयाँ भाडा समायोजन गरेपछि शुरुमा १५ र एक किलोमिटर गुडेपछि ५३ रुपैयाँ उठ्नेछ। 

    यसअघि विभागले उपत्यकामा गुड्ने सबै ट्याक्सीमा प्रिन्टर मेसिनसमेत जडान गरिसकेको छ। सरकारले ट्याक्सीमा भाडा समायोजन गरेपछि केही ट्याक्सी चालक भने अझै पनि मिटरमा जान मान्दैनन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाले २०७५ मंसिररदेखि हालसम्म मिटरमा जान नमान्ने तीन हजार ट्याक्सीलाई कारवाही गरेको छ। 

    महाशाखाका प्रमुख वसन्तकुमार पन्त ट्राफिक प्रहरीमा ट्याक्सी चालक मिटरमा जान नमान्ने उजुरीका आधारमा कारवाही गर्दै आएको बताउँछन्। महाशाखाले दैनिक ४० ट्राफिक प्रहरीलाई सादा पोशाकमा खटाउँदै आएको छ। 

    नेपाल मिटर ट्याक्सी व्यवसायी सङ्घका अध्यक्ष अर्जुन गौतम ट्याक्सीमा भाडा समायोजन गरेसँगै ट्याक्सी व्यवसायीलाई थोरै भए पनि राहत पुगेको टिप्पणी गरे। उनले भने, ‘समायोजन गरेको भाडा वैज्ञानिक भाडा होइन, भाडा बढाउने विषयमा सङ्घले सम्बन्धित निकायको ध्यानाकर्षण गरिरहेको छ।’

    यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा मात्र १० हजार ६०० मिटर ट्याक्सी सञ्चालनमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]