|

देशमा संघीय व्यवस्था लागू भएको दुई वर्ष पूरा भएको छ। दुई वर्षको अवधिमा निर्वाचित जनप्रतिनिधिले जनताको लागि के काम गरेका छन्। २० वर्ष कर्मचारीले चलाएको स्थानीय तहमा जनताबाट प्रत्‍क्षय निर्वाचित भएर आएका प्रतिनिधिले कति काम गरे काम गर्दै जाँदा के के समस्या छन्, स्थानीय सरकार कसरी चलेका छन्, विकास निर्माणका काम कसरी भएका? दुई वर्षसम्म देखिने गरी के के काम भए बाँकी दिनमा आफ्नो स्थानीय तहलाई समृद्ध बनाउने योजना के छन्? यस्तै विषयवस्तुमा रहेर चामुण्डा विन्द्रासैनी नगरपालिकाकी उपप्रमुख ताराकुमारी शाही (खत्री) सँग थाहाकर्मी उदयराज अधिकारीले गरेको कुराकानी :

नगरपालिकाले विकासका कामलाई कसरी अगाडि बढाएको छ?

विकासको कुरा गर्ने हो भने  हामी निर्वाचित भएको पनि दुई वर्ष भएको छ। दुई वर्षको अवधिमा नगरमा तीव्र गतिमा विकास भइरहेको छ। समाजमा हुनुपर्ने सोचको विकास हो। तर सोचको विकास नभएको देखिन्छ। भौतिक विकासको कुरा गर्दा दुई वर्षको अवधिसम्म मेरा हेराईमा काम राम्रा भएको देखेकी छु। सङ्घीय व्यवस्था कार्यान्वयको चरणमा रहेकाले सामान्य समस्या आउन स्वाभाविक हो।

दुई वर्षको अवधिमा देखिने गरी के के काम गर्नुभयो?

हामीले देखिने गरी स्वास्थ्य नीतिमा रहेर नौ वटा वडामा १५ वटा सहरी स्वास्थ्य  क्लिनिक स्थापना गरेका छौँ। सबै स्वास्थ्य  क्लिनिकमा  स्वास्थ्यकर्मीको दरबन्दी सिर्जना गरेर राखेका छौँ। कृषिका क्षेत्रमा पनि तीव्र गतिमा काम भइरहेका छन्। कृषि पकेट क्षेत्र घोषणा गरेर काम गरेका छौँ।

शिक्षा क्षेत्रमा मोडेल एरिया तोकिसकेका छौँ। तिनीहरूलाई व्यवस्थित गरेर लैजानेतर्फ लागिरहेका छौँ। खनिएका बाटोको स्तर उन्नति गर्नतर्फ लागेका छौँ। हाम्रो नगरमा समावेशी तरीकाले विकास भइरहेको छ। दुई वर्ष नीति बनाउन तर्फ खटिएकै कारण काममा केही जटिलता भएकै हो। अब लगातार विकास गर्ने प्रतिबद्धताका साथ अगाडि बढेका छौँ।

उपभोक्ता समितिका काम प्रभावकारी भएनन् भन्ने गुनासो छ नि?

यो प्रभावकारी भएन भन्ने कुरा गलत छ। काम एकदमै राम्रो भइरहेका छन् जनताले स्थानीय स्तरमै  रोजगारी पाएका छन्। असिना प्रभावित जनताका लागि जीविकोपार्जन गर्न सहज भएको छ। म आफैँ अनुगमन समितिको संयोजक भएकाले पनि उपभोक्ता समितिमार्फत गरिएका काम चित्तबुझ्दो भएको देखेकी छु।

असिनापीडितको लागि के  के काम गर्नुभयो?

यस क्षेत्रमा असिनाले ठूलो मात्रामा अन्नबालीमा क्षति पुर्‍याएपछि एक करोड रुपैयाँ असिना प्रभावित क्षेत्रका लागि भनेर विनियोजन गरिसकेका छौँ। कार्यविधि बनाएर जनतालाई राहत बाँड्नतर्फ लागिरहेका छौँ।

काम गर्दै जाँदा जटिलता के पाउनुभयो?

जटिलता र समस्याको कुरा गर्ने हो भने थुप्रै छन्। संविधान नयाँ छ तर मान्छेका सोच पुरानै छन्। त्यो सोचमा काम गर्दा धेरै जटिलता भोग्नु परेको छ। संविधानले गरेका व्यवस्था जनस्तरसम्म पुर्‍याउन नसकिरहेको अवस्था छ। हामीले धेरै कुरा सिक्न बाँकी छ।

महिलाहरूले प्रतिस्पर्धा गर्ने वातावरण अझै बनिसकेको छैन बालविवाह मुख्य चुनौतीको रूपमा देखिएको छ  महिला भएकै कारण झनै ठुलो चुनौती छ। उपप्रमुख अनुगमन समितिको संहयोजक संविधानमा तोकेको भए पनि कतिपय स्थानीय तहमा प्रमुखले नै अनुगमन सिफारिसमा हस्ताक्षर गर्नु भएको छ। यसबाट के स्पष्ट हुन्छ भने महिला भएकै कारण काम गर्न धेरै कठिनाइ हुने गरेको छ।

अबका योजना के के छन्? कसरी अगाडि बढ्नुपर्छ जस्तो लाग्छ?

हामीले देशको विकास गर्न 'सुखी नेपाल समृद्ध नेपाली' को नारालाई अवलम्बन गर्दै संविधान तह कार्यपालिका न्यायपालिका व्यवस्थापिकाको व्यवस्थाअनुसार सोही व्यवस्थामा रही प्रतिस्पर्धी नभई सहयात्री हो भन्ने भावनाका साथ काम गर्यौ भने अवश्य पनि देशको विकास हुनेछ। सकारात्मक सोचका साथ अघि बढौँ सहयात्री भावनाको विकास गरौँ सबैलाई समान रूपमा हेरेर समान अवसर प्रदान गर्ने सोच राखेर गर्‍यौँ भने 'सुखी नेपाली, खुसी कर्णालीका जनता' भन्ने नारा सफल हुनेछ।

घोषणापत्रमा भूमैत्री आयमूलक हरियाली सडक बनाइनेछ भनिको छ तर गाउँगाउँमा डोजर आत‌ं किन?

हाम्रो स्थानीय तहमा तपाईँले भने अनुसार डोजर आतङ्क छैन। जनतालाई काममा लगाएर आयमूलक जैविकमैत्री सडक बनाउने योजना बनाएर अगाडि बढेका छौँ सडकहरू कहाँ कहाँ बनाउने भनेर निश्चित एरिया तोकेका छौँ। जहाँ सडक खनिएका छन्।

त्यहाँ पिपल रोप्ने योजना बनाएका छौँ। असारको महिना सम्म वृक्षारोपण गरिसक्ने छौँ। एक वडा एक नर्सरीको अवधारणलाई अगाडि बढाएका छौँ। कृषिका क्षेत्रमा ५४ जना युवाहरूलाई अनुदान पनि दिएका छौँ। हाम्रो  नगरमा १३० वटा कृषिका समूहरु छन्। १६ वटा सहकारी छन् तिनीहरूको जग बसाली सकेका छौँ। यति गर्नु भनेको नै जैविक मैत्री सडकको जग हो। उहाँहरूलाई परिचालन गरेर काम अगाडि बढाउछौँ।

खनिएका सडकहरू कालोपत्रे गर्नलाई  के पक्रिया थाल्नुभएको छ

हामीले केन्द्र सरकारकोमा निर्णय गरेर पठाउने तयारी गरेका छौँ। प्रदेश सरकारले एक करोड रुपैयाँ हालेको छ। त्यही अनुसार काम सुरु गरेका छौँ।

बेरोजगार युवाहरूलाई रोजगारीबारे के सोच्नुभएको छ?

बेरोजगार युवाहरूको तथ्याङ्क सङ्कलन गरिसकेका छौँ। नेपाल सरकारको नीतिअनुसार नै युवाहरूलाई गाउँमै परिचालन गर्ने छौँ। हामीले पनि युवाहरूलाई कहाँ कुन काम दिन सकिन्छ भनेर योजना बनाएका छौँ। कुन व्यक्तिलाई कस्तो किसिमको काम दिने कस्तो काम दिँदा उसलाई राम्रो हुन्छ त्यो निर्धारण गरेर काम दिने तयारी मा छौँ।

घोषणापत्र अनुसार तपाईँको नगरपालिकामा २५ शय्याको अस्पताल कहिले बन्छ?

चामुण्डा विन्द्रासैनी नगरपालिकामा स्वास्थ्य अवस्था राम्रो छ भन्न सकिँदैन। हामीले पाँच वर्षभित्र नगरपालिकामा २५ शय्याको अस्पताल निर्माण गर्ने भनेका छौँ। त्यहीअनुसार काम अगाडि बढेको छ। पाँच वर्षभित्र अस्पतालको कामले पूर्णता पाउने छ।

सेवा भने दिइरहेका छौँ। जनताले सहजै उपचार पाउनु उनीहरूको अधिकारको कुरा भएकोले १५ वटा सहरी स्वास्थ्य क्लिनिक निर्धारण गरेका छौँ। तिन वटा पुराना स्वास्थ्य चौकी पनि छन्। ठुला ठुला समस्याको उपचार नभई प्राथमिक उपचार मात्र गरिरहेका छौँ। २५ शय्या अस्पताल बनाउनको लागि भवन निर्माणको काम भइरहेको छ।

छाउपढी समस्यालाई  निराकरण गर्न के कस्ता योजना बनाउनुभएको छ? 

हाम्रो नगरपालिकामा छाउपडीको विकराल अवस्था छैन। तर त्यहाँ घटना घटेकाले त्यो घटनाले यहाँ छाउपडी अत्यधिक मात्रामा छ। भन्ने भयो। अहिले जनचेतनामूलक कार्यक्रम गरिरहेका छौँ। छाउपडी अन्त्यसम्बन्धी विभिन्न  प्रतियोगिता जनस्तरसम्म पुर्‍याइरहेका छौँ। छाउपडी बार्न समाजले नै बाध्य बनाउने भएकाले समाजमा समविकास तालिम सञ्चालनमा ल्याएका छौँ।

जनतालाई धेरै कर लगाइयो भन्ने गुनासो छ नि?

राज्य सञ्चालनको लागि सबै नागरिक करको दायरामा आउनु पर्छ। हामीले  अत्यधिक कर लिएका छैनौँ। कर लिने मात्र हैन करको दायरा फराकिलो बनाउनतर्फ लागेका छौँ। जनतालाई मान्ने हुने गरी कर लगाएका छौँ।

बाँकी कार्यकालमा के कस्ता काम गर्ने योजनामा हुनुहुन्छ?

बाँकी रहेको कार्यकालमा संविधानमा भएका सबै व्यवस्था जनस्तरसम्म पुर्‍याउँछौँ। संविधानमा भएका व्यवस्थालाई कार्यान्वयन गराउँदै जनतालाई मूल धारमा समेट्दै जनताले पाएका अधिकार जनताले उपभोग गर्न पाउने वातावरण बनाउँदै कागजमा सीमित रहने व्यवस्थालाई नितान्त जनताको घर दैलोमा पुर्‍याउनतर्फ लाग्ने छौँ। जनप्रतिनिधिमा सेवामूलक भावना हुनुपर्छ। अहिले भाषण गर्ने समय नभएर जनताका काम गर्ने समय भएकाले काम बढी  कुरा कम गदै जानुपर्छ। जुन देशको नागरिक सक्षम छ। अधिकार सम्पन्न छ भने त्यो राज्य सम्पन्न हुन्छन्। जनताले प्रश्न गर्नै नपर्ने गरी काम गरेका छौँ बाँकी काम पनि त्यसैअनुसार गर्नेछौँ।

न्याय सम्पादनका क्षेत्रमा समस्या कस्तो छ?

न्याय सम्पादनमा थुप्रै खालमा समस्या छन् हाम्रो नगरपालिकाकै कार्यालय छैन। इजलास नभएर पनि समस्या हुने गरेको छ। इजलासमा गरिने व्यवस्था परिपक्व ढङ्गले गरेका छौँ। राज्य बलियो बनाउनको लागि जनतालाई अधिकार सम्पन्न बनाउने हो भने न्यायपालिकाको व्यवस्थालाई अवलम्बन गर्न जरुरी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.