मेयर आफैँ डोजर लिएर पुगे

|
सार्वजनिक जग्‍गामा डिभिएम स्कुलको पूर्वाधार भत्काइँदै

सुनसरी : इटहरीस्थित नेपाल डिभीएम स्कुलले मिचेको सार्वजनिक जग्गा खाली नगरेको भन्दै इटहरी उपमहानगरपालिकाले डोजर लगाएको छ । 

विद्यालय व्यवस्थापन पक्षसँग सहमती जुट्न नसकेपछि इटहरी उपमहानगरपालिकाले विद्यालयका संरचनामा डोजर चलाएको हो । 

मेयर द्ववारीकलाल चौधरी आफैँ डोजर लिएर बिद्यालयमा पुगेका थिए । बुधबार बिहान डोजर लिएर पुगेका मेयरले प्रारम्भीक चरणमा विद्यालय परिषरले बनाएको सिमेन्टको एरिया भत्काएका छन । बिहीबार यसलाई निरन्तरता दिइने मेयर चौधरीले बताए । 

के हो विवाद ?

मेयरको कार्यभार सम्हालेपछि द्ववारिकलाल चौधरीले ऐलानी र अतिक्रमित जग्गा फिर्ता ल्याउने उद्घोष गरेका थिए । त्यही क्रममा इटहरी–९ बूढीखोला किनारमा रहेको डिभिएम स्कुलले आफ्नो थोरै जग्गा देखाएर धेरै सार्वजनिक जग्गा प्रयोग गरेको भेटियो ।

डिभिएमले ओगटेको जग्गामध्ये ६ कठ्ठा ५ धुर मात्र उसको स्वामित्वमा रहेको प्रमाण पेस गरेको छ । विद्यालयले झण्डै ३ विगाह ३ कठ्ठा ३ धुर जग्गा सार्वजनिक प्रयोग गर्दैै आएको पाइएको छ । 

विद्यालयले जग्गा हडप्न आफ्नो जग्गा पछाडि खाली छाडेर सार्वजनिक जग्गामा भवन र खेल मैदान बनाएको भेटिएको छ । 

विद्यालयले सरासर जग्गा हडप्ने नियतले सो चलखेल गरेको उपमहानगरको दावी रहेको छ । स्वामित्व नै नरहेको जग्गा मेरो भन्दै घेराबारा गरी प्रयोग गरेको विद्यालयले अहिले सो जग्गा छाड्नु पर्ने भएको छ । 

उपमहानगरले आफ्नो सार्वजनिक जग्गा खाली गराउन पटक पटक विद्यालय प्रशासन र सञ्चालकलाई आग्रह गर्दै आएको थियो । तर सुरु सुरुमा विद्यालय प्रशासन र सञ्चालकले हल्का रुपमा लिँदै वेवास्ता गरेका थिए । 

मेयर चौधरीले पत्रकार सम्मेलन नै गरेर सार्वजनिक जग्गामा रहेको भौतिक संग्रचना भत्काउने चेतावनी दिएका थिए । विद्यालय सञ्चालक र उपमहानगरपालिकाका मेयर वीच पटक पटक वार्ता भएको छ । 

गत आइतबार साँझ उपमहानगरले ४ विकल्प दिँदै सहमतिमा आउन आग्रह गरेको थियो । सहमतिमा नआए सोमबार संरचना भत्काउने मेयर चौधरीले चेतावनी दिएका थिए । 

तर विद्यालय सञ्चालकहरुले सोमबार थप २ दिनको समय माग गरेका थिए । दुई दिनमा पनि विद्यालय सञ्चालक सहमतिमा नआएपछि बुधबार उपमहानगरपालिकाले डोजर चलाएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.