विश्वका अग्ला चुचुराहरूको सफल आरोहण

|

पोखरा : एचआइभी संक्रमित पोखराका गोपाल श्रेष्ठले विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाएका छन्। एआइभी संक्रमित व्‍यक्तिले सगरमाथाको सफल आरोहण गरेको यो नै पहिलो हो।

पोखरा-७ का श्रेष्ठले आज (बुधबार) सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला राखेर नयाँ इतिहास रचेका हुन्। डेढ महिनाको समय लगाएर उनले सगरमाथाको सफल आरोहण गरेका हुन्। बुधबार विहान ७:३० बजे सगरमाथा चुचुरोमा गोपालसहितको  ६ जनाको टोली पुगेको स्टेप अप क्याम्पियन  अभियानकी अभियान्ता जमुना शर्माले सगरमाथा बेस्क्याम्पमा रहेका सरकारी सम्पर्क अधिकारी ज्ञानेन्द्र देउजालाई उदृत गर्दै थाहा खबरलाई जानकारी दिइन्।

श्रेष्ठले  ड्रिमर्स डेस्टिनेसन ट्रेक्स एण्ड एक्सपिडिसनका फूर्वा तेन्जिङ शेर्पाको नेतृत्वमा सगरमाथा आरोहण गरेका हुन्। विश्वभर छरिएर रहेका एचआइभी संक्रमितहरूको प्रतिनिधित्व गर्दै ‘स्टेप अप क्याम्पियन’ अभियानमार्फत सन् २०१५ मा सगरमाथा चढ्ने प्रयास गरेका गोपाल विनाशकारी महाभूकम्पका कारण त्यसबेला सफल भएका थिएनन्।

एचआइभी र एड्ससँग सम्बन्धित भेदभावको अन्त्य गर्ने उद्देश्यले सगरमाथा चढ्ने उनको पहिलो प्रयास विफल भए पनि यसपालि भने उनी सफल भए। 

‘अभियानले मूलतः मानिसको प्रेरणासँग दाँजेको हुन्छ,’ स्टेप अप क्याम्पियनका संयोजक पदमराज पहारीले त्यसबेला भनेका थिए, ‘संक्रमित भएपनि सम्पूर्ण रुपमा आफू अन्य मानिसहरूसरह सक्षम रही राष्ट्रको नाम उँचो राख्ने गोपाललाई हामी साथ दिन्छौं।’

गोपालको अभियानलाई सफल बनाउन विभिन्न संघ संस्थाहरूले आर्थिक सहयोगसमेत गरेका थिए। गोपालको अभियानलाई टे«किङ एजेन्सी अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघले पनि सहयोग गरेको थियो।   

विश्वका अग्ला पिकको सफल आरोहण

एचआइभी संक्रमित गोपालले यसअघि विश्वका अग्ला हिम चुचुराहरूको सफल आरोहण गरिसकेका छन्। गोपाल यसअघि सन् २०१३ मा विश्वका अग्ला शिखरहरु मध्येका हाई पास (थोर्राङला), सन् २०१४ मा आइसल्याण्ड पिक (६१८० मिटर), सन् २०१६ नोभेम्बरमा भर्जिन पिक (खानकार्पो) सफल आरोहण गरिसकेका थिए।

दोस्रो प्रयासमा सगरमाथा शिखर

सन् २०१५ मा सम्पूर्ण तयारीका साथ सगरमाथा आरोहण गर्ने क्रममा महाभूकम्पका कारण आधार शिविरबाटै फर्केर आएका गोपालले सो समयमा आरोहण समूहका ५ सदस्य साथी गुमाउनुपरेको थियो। ‘सगरमाथाको चुचुरोसम्म पुग्ने सपना अधुरै रह्यो,’ त्यतिबेला गोपालले भनेका थिए, ‘फेरि अग्रसर भएको छु, सबैको साथ सहयोगले मेरो प्रणलाई विफल बनाउने छैन म विश्वस्त छु, सगरमाथाको चुचुरोमा म पुग्ने नै छु।’

५६ वर्षीय गोपाल नेपाली राष्ट्रिय ए डिभिजन क्लबको पूर्वफुटबल खेलाडीसमेत हुन्। विगत २५ वर्षदेखि उनी एचआइभी संक्रमित छन्। उनी र उनको संस्था स्टेप अप क्याम्पियनले विश्वभर रहेका एचआइभी संक्रमितहरूको प्रतिनिधित्व गर्दै विश्व समुदायमाझ फरक पहिचान स्थापित गराउने ध्येयले साहसिक कार्यमा जुट्न प्रेरणा दिँदै आइरहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.