|

ललितपुर : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बेलायतको अन्तर्राष्ट्रिय विकास विभागमन्त्री बरोनेस सगले भेटवार्ता गरेकी छन्।

खुमलटारमा भएको भेटमा नेपालको वर्तमान राजनीति र आर्थिक समृद्धिका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

भेटमा अध्यक्ष प्रचण्डले नेपालमा राजनीतिक स्थिरता कायम भएको र आफूहरू आर्थिक समृद्धिका लागि अगाडि बढेको जानकारी दिएका थिए। 'आर्थिक विकासका लागि हामीलाई धेरै प्राविधिक जनशक्तिको आवश्यकता पर्ने भएकाले हामीले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गरी वर्तमान सरकार र पार्टीले व्यावहारिक तथा व्यवसायिक शिक्षालाई उच्च प्राथमिकतामा राखेका छौँ’ प्रचण्डले भनेका थिए।

शान्ति प्रक्रिया, नयाँ संविधान र तीन तहको निर्वाचन पश्चात अबको लक्ष्य आर्थिक समृद्धि रहेको प्रचण्डको भनाइ थियो। मुलुकमा लगानीमैत्री वातावरणका लागि वर्तमान समय उचित रहेको बताउँदै प्रचण्डले कृषिमा आधारित उद्योग, पर्यटन, जलविद्युत र भौतिक पूर्वाधारका क्षेत्रमा लगानी आवश्यक रहेको औँल्याएका थिए।

बेलायतकी मन्त्री सगले नेपालमा महिलाहरूको राजनीति र सामाजिक क्षेत्रमा भएको सहभागिताले आफू अत्यन्त प्रभावित बनेको बताएकी थिइन। उनले स्थानीय, प्रदेश र केन्द्रका निर्वाचनमा महिलाहरूको सहभागिता दुनियाँका लागि उदाहरणीय कार्य भएको बताइन्।

मन्त्री सगले नेपालको आर्थिक समृद्धिको निम्ति बेलायत सरकार पनि सहयोगका लागि तत्पर रहेको भन्दै प्रतिबद्धता व्यक्त गरेकी थिइन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.