|
File Photo

पाँचथर : नौ जनाको हत्या भएको पाँचथरको मिक्लाजुङ गाउँपालिका-३,आरूबोटेमा बुधबार दिउँसो पुगेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली घटनास्थलबाट फर्केको छ।

एसपी उमा चतुर्वेदी नेतृत्वको टोली घटनासँग सम्बन्धित संकलन गरिएको सबुतप्रमाण र घटनास्थलको प्रकृतिसँगै स्थानीयसँग सोधपुछ गरेर फर्केको हो।

घटनास्थलमै रहेका जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक अनिलकुमार पौडेलका अनुसार सबुतप्रमाण संकलन सकेपछि प्रमाणको वैज्ञानिक परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइनेछ। तर, सबुतप्रमाण संकलनमा समय लाग्ने उनको भनाइ छ। हालसम्म रगत लतपतिएको एउटा दापसहितको खुकुरी, हाफ पाइन्ट, तीनवटा टिसर्ट, एक जोडी चप्पल र झोला प्रहरीले फेला पारेको छ।

यी सामानहरू मिक्लाजुङ गाउँपालिका-८, दुर्दिम्बाको हंसारिस्थित मालबासे जंगलमा मंगलबार दिउँसो प्रहरीले फेला हो। जुन ठाउँदेखि करिब १० मिनेटको दूरीमा धारिलो हतियार प्रहार गरी मारिएका बमबहादुर फियाकका कान्छा ज्वाइँ मानबहादुर माखिम रूखमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए।

उनले नै बमबहादुर फियाकसहित साढुदाइ धनराज शेर्माको परिवारको सामूहिक हत्या गरेको हुन सक्ने प्रारम्भिक अनुमान लगाइएको प्रहरीले जनाएको छ।   

सोमबार राति ७५ वर्षीय बमबहादुर फियाक, उनकी श्रीमती ७५ वर्षीया पुर्सिमाया फियाक,४१ वर्षीय ज्वाइँ धनराज शेर्मा, उनकी श्रीमती ३६ वर्षीया जस्मिता फियाक शेर्मा, कान्छी छोरी २६ वर्षीया मनकुमारी फियाक माखिम, नातिनीहरू १२ वर्षीया युहाना शेर्मा, १० वर्षीया मुना शेर्मा, ८ वर्षीया इक्सा शेर्मा र १० वर्षकी आशिकाकुमारी खजुमको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो।

उक्त घटनामा १२ वर्षीया किशोरी सीता खजुम लिम्बू भागेर ज्यान बचाउन सफल भएकी थिइन्। उनको अहिले झापाको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.