स्थानीय तह पुनर्संरचना आयोगसँग कांग्रेस सांसद रुष्ट

|

काठमाडौं : नेपाली कांग्रेसका २७ सांसदले स्थानीय निकायको निर्वाचन हालकै संरचना अनुसार गर्न नेतृत्वलाई दबाब दिएका छन्। व्यवस्थापिका संसदमा प्रदेश नम्बर दुईबाट प्रतिनिधित्व गर्ने कांग्रेसका ती सांसदहरुले हालकै गाउँ विकास समितिलाई गाउँपालिका र नगरपालिका घोषणा गरी निर्वाचन गर्न आग्रह गरेका हुन्। 

सांसदहरुले सभापति शेरबहादुर देउवालाई बुझाएको मागमा भनिएको छ 'स्थानीय निकायको निर्वाचन अनिवार्य एवं आवश्यक भएकोले तत्काल संविधानको मर्म अनुसार संक्रमणकालको व्यवस्थालाई अनुुशरण गर्दै आयोग (स्थानीय तह पुनर्संरचना आयोग) ले सरकारसमक्ष हाल भइराखेको गाउँ विकास समितिलाई नैं गाउँपालिका र नगरपालिका घोषणा गरी सरकारको धारणा अनुसार नैं चैत मसान्तसम्म निर्वाचन गरी देशलाई निकास दिन आवश्यक छ।'

कांग्रेस केन्द्रीय सदस्य तथा सांसदहरु आनन्दप्रसाद ढुंगाना, किरण यादव, महेन्द्र यादव, मीन विश्वकर्मा, रामकृष्ण यादवसहित २७ सांसदले संविधान संशोधन विधेयक संसदमा पेश गरेर चुनावको वातावरण बनाउन पनि पार्टी नेतृत्वसँग माग गरेका छन्। 'संविधान संशोधन विधेयक सरकारले सदनमा प्रस्तुत गरेको अवस्थामा मधेशकेन्द्रित दललाई स्थानीय निर्वाचनमा भाग लिने वातावरण बनाउन समेत हाम्रो धारणालाई प्रवलरुपमा व्यक्त गर्न चाहन्छौं' उनीहरुको मागमा भनिएको छ। 

पार्टी सभापति शेरबहादुर देउवा र गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगलाई बुझाइएको मागपत्रमा आयोगले प्रदेश नम्बर २ का सांसदसँग काठमाडौंमा नै छलफल गरेर त्यहाँका जिल्लाहरुको स्थानीय तह पुनर्संरचना गर्न लागेकोमा आपत्ति जनाइएको छ। उनीहरुले सम्बन्धित जिल्लामा राजनीतिक दल, समुदायसँग छलफल र सांसदसँग सुझाव लिएर स्थानीय तह पुनर्संरचना गर्नुपर्ने बताएका छन्। 

कांग्रेस सांसदहरुले जनसंख्या र भूगोललाई आधार मानेर गाउँपालिका र नगरपालिकाको सीमांकन गर्नुपर्ने बताएका छन्। 'संविधान अनुसार जनसख्या र भूगोललाई आधार मानेर गाउँपालिका र नगरपालिकाको सीमाङ्कन निर्धारण गर्नुपर्ने देखिन्छ। सीमाङ्कन गर्दा जनताको सेवा प्रवाहलाई केन्द्र भागमा राखेर स्थानीय तहको पुनर्संरचना गर्न आवश्यक छ' उनीहरुको मागपत्रमा भनिएको छ। 

कांग्रेस सांसद महेन्द्र यादवले आफूहरुको मागलाई सभापति देउवाले सकारात्मक रुपमा लिएको बताए।  ‘आयोगका पदाधिकारीहरुले दुई नम्बर प्रदेशमा पर्ने जिल्लामा नगई काठमाडौंको हा्ेटलमा बोलाएर सांसदसँग सल्लाह र सुझाव लिएर गाउँ र नगरको पुनर्संरचना गर्न खोजेको रहेछ’ कांग्रेस केन्द्रीय सदस्य समेत रहेका यादवले भने ‘मधेशी जनतालाई वाइपास गरेर त्यहाँको पुनर्संरचना गर्न खोजेपछि हामीले विरोध जनाएका छौं।’

हस्ताक्षर गर्ने कांग्रेस सांसदहरु

धनुषाका आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादब, रामकृष्ण यादब, प्रेमकिशोरप्रसाद साह, प्रमिलादेवी दास, रश्मी ठाकुर, दिनेश प्रसाद प्रसैला यादब र मिनाक्षी झा, सप्तरीका तेजुलाल चौधरी, वाराका फरमुल्लाह मन्सुर, रामअयोध्या प्रसाद यादब, लालबाबु सिंह भूर्इँहार र राधेचन्द्र यादब,महोत्तरीकी किरण यादब, संगीता मण्डल, सीताराम भण्डारी, पर्षाका सुरेन्द्रप्रसाद चौधरी, राजेन्द्रबहादुर अमात्य र अनिलकुमार रुंगटा, सर्लाहीका हरेशप्रसाद महतो र रामचन्द्र चौधरी, सिरहाका डा. गणेश मण्डल छन्।

सो मागलाई समर्थन गर्दै केन्द्रीय सदस्य तथा एक नम्बर प्रदेशको सुनसरीका सांसद मीनबहादुर बिश्वकर्मा र मोरङकी भोटनीदेवी खवास, उदयपुरकी शान्तिदेवी चौधरी, तीन नम्बर प्रदेशको चितवनकी सांसद सावित्रीदेवी चौधरी र पाँच नम्बर प्रदेशको रुपन्देहीका सांसद अब्दुल रज्जाकले समेत हस्ताक्षर गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.