बस्तीबाटै लाइन लान खोजिए प्रतिकार : स्थानीय

|
फोटो : गिधनीया बस्तीमा पत्रकारमाझ भेला भएका स्थानीय

स्थलगत रिपोर्ट

विराटनगर : विराटनगर महानगरको पुष्पलाल चोकबाट पूर्व १५ किलोमिटर छिचोलेपछि ग्रामथान गाउँपालिका-५ तेतरिया पुगिन्छ। यही वडाको गिधनीया बस्ती पुग्न करिब ३ किलोमिटर पश्चिमतर्फ लाग्नुपर्छ। यही बस्तीबाट विद्युत् प्राधिकरणले सडकको डिल हुँदै १८ किलोमिटर लामो ३३ केभीए दुहबी–कटहरी प्रसारण लाइन ल्याउन पोल गाडिसकेको छ। तर, अन्तिम समयमा स्थानीयले अवरोध गरेपछि तीन किलोमिटर क्षेत्रमा गाडिएको पोलमा तार टाँग्न सकिएको छैन। उक्त प्रसारण लाइनमध्ये दुहबी क्षेत्रको राजमार्गमा डेढ किलोमिटर अन्डरग्राउण्ड गरिएको छ।

एसियाली विकास बैंकको सहयोगमा बनिरहेको उक्त प्रसारण लाइन तयार भएर कटहरी–१ स्थित महेशपुर खोरियामाको सबस्टेसनमा चार्ज हुनसके विराटनगरमा लोभोल्टेजको समस्या हल हुनेछ । यसले कटहरी क्षेत्रका उद्योगलाई पनि राहत पुग्ने विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख राजीव सिंह बताउँछन्।सिंहले कटहरी सबस्टेसन सञ्चालन गर्न नसके विराटनगरको मागअनुसार बढी लोड भएर लोडसेडिङ गर्ने अवस्था आउनसक्ने बताए।

स्थानीय अवरोध हट्ने हो भने ५ देखि ७ दिनभित्र कटहरीको सब-स्टेशनमा विद्युत् चार्ज गर्न सकिने प्राधिकरण विराटनगर डिभिजनका डिभिजन इन्चार्ज शैलेश सापकोटा बताउँछन्। ‘अवरोध हट्ने हो भने ५/७ दिनभित्रै कटहरी सब-स्टेसनबाट चार्ज गरेर विद्युत् सप्लाइ गर्न सकिन्छ,’ सापकोटाले भने।

विवादको जड

मंगलबार संसदको सार्वजनिक लेखा समितिमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नेकपाका सांसद अमनलाल मोदीबीच भनाभन भयो। भनाभनकै क्रममा घिसिङले सांसद्को असहयोगले दुहबी-कटहरी प्रसारण लाइनको तार टाँग्न नदिएको आरोप लगाए। सांसद् मोदी त्यही क्षेत्रबाट निर्वाचित भएका हुन्।

३३ केभीए प्रसारण लाइन ल्याउन गाडिएको पोल ।


किन रिसाए स्थानीय ?

प्राधिकरणले बस्ती छल्दै सडकै सडक प्रसारण लाइन लैजान खोजेको थियो । उसले अब रुट परिवर्तन गर्न नसकिने पनि जनाएको छ। तर, स्थानीयले भने रुट परिवर्तन नगर्दा समाधानका तीन विकल्प अघि सारेका छन्।

स्थानीयबासीले विकल्पमा प्रसारण लाइन अन्डरग्राउण्ड गर्नुपर्ने, कभरसहितको तार टांग्नुपर्ने या टावरमार्फत लैजानु पर्ने, हाल गाडिएको पोल घरमाथि नै पर्ने र अत्यन्तै होचो भएकाले जोखिम हुने भन्दै पोलभन्दा दोब्बर अग्लो टावर निर्माण गरेर विद्युत्को तार लैजान सुझाव दिएका छन्।

सुझावअनुसार प्राधिकरणले कभरसहितको तार टांग्ने विकल्पमा प्रयास गरेको थियो। तर पनि अहिले भने स्थानीयले त्यही विकल्प मानेका छैनन्। सो विकल्प स्थानीयले नमान्नुमा भित्रभित्रै चलाइएको अनावश्यक हल्ला देखिएको छ। ३३ केभीए प्रसारण लाइन लगिए गर्भपतन हुने, क्यान्सरको जोखिम हुने, छालामा समस्या हुने र मानसिक समस्या आउने लगायत हल्ला चलेको बुझियो।

‘विश्व स्वास्थ्य संगठनले हाइटेन्सन लाइनको छेउछाउमा हुनेलाई गर्भपतन हुने, क्यान्सरको जोखिम हुने, छालामा समस्या हुने, मानसिक समस्या हुने भनेको छ,’ स्थानीय भरतलाल खाँ चौधरीले भने, ‘हामी आदिवासीलाई हेपेर बिनाजानकारी सडकको सर्भे भन्दै विद्युत् पोल गाडियो।’

त्यसबाहेक स्थानीय भड्किनुमा अर्को कारण पनि देखियो। ‘पहिलो कुरा बस्तीबाट यति ठूलो क्षमताको तार टांग्नु नै गलत छ,’ स्थानीय आशनारायण माझीले भने, ‘प्राधिकरणकै कर्मचारीले अण्डर ग्राउण्ड गरे पनि कभर लगाए पनि झनै खतरा हुन्छ भने, पोल अग्लो बनाउन पनि हुँदैन भने, त्यसो भनेपछि खुल्ला राख्दा झनै खतरा हुन्छ भन्ने हामीलाई लाग्यो।’

ग्रामथान–५ का वडाध्यक्ष खड्ग नारायण खाँ चौधरीको भनाइमा पनि स्थानीय भड्किनुमा प्राधिकरणकै कर्मचारीको हात छ। ‘पहिले खतरा भने, पछि कभर लगाउने प्रस्तावमा झन् खतरा भने। त्यसो भए खुल्लामा चाहिँ अझै खतरा हुने भनेपछि यहाँका समुदाय भड्किएका हुन्,’ उनले भने, ‘विकल्पको रूपमा अब एलाइनमेन्ट  परिवर्तन मात्रै सम्भव छ।’

ग्रामथान गिधनीयाका ५ सय बढी घर परिवार एक्स्टेन्सन लाइनबाट प्रभावित हुने संघर्ष समितिका संयोजक भक्कुलाल विश्वास बताउँछन्। विश्वासका अनुसार संघर्ष समितिमा बूढीगंगाका स्थानीय पनि जोडिँदा १ हजार घरधुरी हुने दाबी गर्छन्। विद्युत् प्राधिकरणले स्टिमेटअनुसार लाइन परिवर्तन गर्न नसक्ने बताइरहे पनि स्थानीयले दुहबीबाट विराटनगर रिङ रोडको बाटोबाट लखन्तरी हुँदै सिधै कटहरी लैजाने प्रसारण लाइन एक्कासी परिवर्तन गरी बस्तीतिर ल्याइएको बताए।तेतरिया बजारसम्म नहरको बाटो हुँदै ल्याइएको ३३ केभिए प्रसारण लाइन 


‘प्रसारण लाइन लैजाने विषयमा बनाएको यसअघिको नक्सामा गिधनीया बस्ती छुँदैन,’ स्थानीय भरतलाल खाँ चौधरी बताउँछन्, ‘लखन्तरीमा महेश आचार्य लगायतका जमिन्दारको जग्गामा पर्ने भएपछि आफूखुसी हामीलाई हेपेर बस्तीतिर घुमाएर ल्याइयो।’ उनले बस्तीतिर घुमाउन सक्नेले सुनसरी-मोरङ सिँचाइ आयोजनाको नहरै नहरबाट नेताचोक पुर्‍याएरदक्षिणतिर शाखा नहरको डिलैडिल ल्याउनु पर्ने बताए।

प्रसारण लाइन आफ्नो जग्गा माथिबाट आएको खण्डमा जग्गाको मूल्यांकन घट्ने, बैंकले धितो नदिनेजस्ता समस्या आउनसक्ने स्थानीयको भनाइ छ। ‘हाम्रो जग्गाको मूल्यांकन अब घट्छ, ऋण पनि पाउन सकिँदैन’, स्थानीय भरतलालले भने।

स्थानीयलाई कसले उकासे ?

लेखा समितिको बैठकमा प्राधिकरण प्रमुख घिसिङले सांसद मोदीले जनता भड्काएको आरोप लगाए। तर, यो वडामा कांग्रेसले जितेको छ। ९५ प्रतिशत चौधरीहरूको बसोबास रहेको उक्त वडाका वडाध्यक्ष कांग्रेसबाट विजयी भएका हुन्। उनले पनि सांसद मोदीले जनतालाई मिलाउन खोजे पनि असम्भव भएको बताए। ‘माननीय अमनलाल मोदी हामीलाई मिलाउन आउनु भएको थियो, तर जनताले मानेनन्,’ उनले भने।

यता स्थानीय भरतलाल खाँले आफूहरूलाई कसैले नउचालेको र पैसा पनि नमागेको बताएका छन्। ‘हामीलाई सांसदले, सिडिओ, एसपी, विद्युत्का कर्मचारी सबैले प्रसारण लाइन बनाउन दिन भनेका थिए, तर हामीले मानेनौँ,’ उनले भने। स्थानीयले भने आफूहरू आदिवासी पहिलेदेखि थिचिएको र अहिले पनि विभिन्न चलखेल गरेर पेल्न खोजिएको बताए।

प्राधिकरणले स्वीकृत भइसकेको प्रसारण लाइनको एलाइन्मेन्ट परिवर्तन गर्न नसक्ने र स्थानीयले वस्तीबाट लानै नदिने अडानले कटहरी सबस्टेशन २ महिनाअघि निर्माण सम्पन्न भएपनि चालू हुन सकेको छैन। आफूहरू विकास विरोधी नभएको दाबी गर्दै स्थानीयले भने जबर्जस्ती प्रसारण लाइन लगिए जे पनि हुनसक्ने धम्की दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.