|

बाँके : नेपालगञ्ज नाकाबाट चालू आर्थिक वर्षको १० महिनामा एक अर्ब १५ करोड ९० हजार २१ रुपैयाँको आलु आयात भएको छ। बैशाख मसान्तसम्म पाँच करोड ५९ लाख ५५ हजार १४१ किलो आलु भारतबाट आयात भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ।

कार्यालयका सूचना अधिकारी समेत रहेका भन्सार अधिकृत परमानन्द जोशीले भने, ‘खानका लागि सर्वसाधारणले साइकल, मोटरसाइकल, रिक्सा र अटोरिक्सामा राखेर ल्याएको ५–१० किलोबाहेक ट्रकमा ल्याएको आलुको परिमाण हो यो।’ 

यस्तै, सोही अवधिमा पाँच अर्ब ५६ करोड ३५ लाख ४० हजार ७३६ रुपैयाँ बराबरको १० करोड ६७ लाख ७९ हजार ६९ किलो चामल आयात भएको छ। सोही नाकाबाट ७९ करोड ६२ लाख ७८ हजार ८५३ रुपैयाँ बराबरको दुई करोड ६२ लाख २४ हजार ८५७ किलो मकै पनि आयात भएको छ। 

नेपालगञ्ज नाकाबाट ६० करोड ६३ लाख चार हजार ९३१ रुपैयाँको तोरी, रायो र तील भित्रिएको छ। गहुँ ४७ करोड १५ लाख ७० हजार ५०९ रुपैयाँको आयात भएको कार्यालयमा तथ्यांक छ।

भारतले प्याज आयातमा कडाई गरिए पनि सलाडको नाममा प्याज आयात हुने गरेको छ। चालु आर्थिक वर्षको १० महिनामा २७ करोड ७१ लाख १३ हजार ४१८ रुपैयाँ बराबरको ८९ लाख १९ हजार २३६ किलो प्याज भित्रिएको कार्यालयले जनाएको छ। यस अवधिमा २० करोड ४९ लाख ५८ हजार ९३२ रुपैयाँको केरा र १५ करोड १० हजार १८६ रुपैयाँको १७ लाख २७ हजार ६२३ किलो कागती पनि आयात भएको भन्सार अधिकृत जोशीले बताए। 

नेपालगन्ज नाकाबाट मूल्यको आधारमा हाई स्पिड डिजेलपछि दोस्रोमा चामल आयात हुने गरेको छ। खाना पकाउने एलपी ग्यास आयात हुने सूचीको तेस्रो स्थानमा रहेको छ।

चालू आवको १० महिनामा ९ अर्व ४४ करोड ४२ लाख ७५ हजार ६१० रुपैयाँको हाइस्पिड डिजेल, दुई अर्ब ३६ करोड ५१ लाख ७८८ रुपैयाँको एलपी ग्याँस र दुई अर्ब ६२ लाख ५२ हजार ६२४ रुपैयाँको पेट्रोल आयात भएको भन्सार अधिकृत जोशीले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.