|

दार्चुला : सुदूरपश्चिम प्रदेश सरकारको सडक योजनका कारण एक गाउँपालिका र एक नगरपालिका दुई वडा जोड्ने खलंगा–काटै–दल्लेक सडक, बांगागड खानेपानी लाइन प्रभावित भएको छ। यस्तै, स्थानीयको पनि घर जोखिममा परेका छन्।

प्रदेशको पूर्वाधार विकास कार्यालयअन्तर्गत निर्माण भइरहेको महाकाली नगरपालिका–३ मालबेला क्षेत्रमा निर्माणाधीन सडकले नौगाड गाउँपालिका जोड्ने खलंगा–काटै–दल्लेक सडकखण्ड र महाकाली नगरपालिका–४ को खानेपानी लाइन अवरुद्ध भएको हो।

खलंगा–काटै–दल्लेक सडक अवरुद्ध

नयाँ सडक निर्माण सुरु भएपछि पुरानो खलंगा–काटै–दल्लेक सडक प्रभावित भएको छ। सदरमुकामसँग जोड्ने उक्त सडकखण्ड अवरुद्ध भएपछि नौगाड गाउँपालिकाका ६ वटै वडा र महाकाली नगरपालिकाका दुई वटा वडा सम्पर्कविच्छेद भएको छ।

नियमित रुपमा जिप चल्ने उक्त सडकखण्डको माथि माथिबाट प्रदेश सरकारले सडक निर्माण थालेपछि जिप सञ्चालन बन्द भएको हो। सडक निर्माणका क्रममा सडकमाथिबाट आएको ढुंगामाटोले सडक पुरिने गरेको छ। ढुंगामाटो मेसिनले हटाएर सडक खुलाएको बेला मात्र जोखिम मोलेर जिप चलाउनु परेको खलंगा–काटै–दल्लेक सडकमा जिप चलाउने गजल कुँवरले बताए। उनले भने, ‘उसै त साँघुरो बाटो, त्यसमाथि बाटो खुलेको बेला सडकमाथिबाट आएको ढुंगामाटो पञ्छाएर जिप चलाउनु परेको छ।’ 

प्रदेश सरकारको ५० लाख रुपैयाँ बजेटमा निर्माण भइरहेको सडक निर्माण कार्यले करिब तीन किलोमिटर दूरी राम्ररी नबनेसम्म उक्त सडकखण्ड अवरुद्ध कायमै रहने स्थानीयको भनाइ छ।

खानेपानीको समस्या 

सडक निर्माण कार्यले महाकाली नगरपालिका–४बांगाबगडमा आपूर्ति गर्ने खानेपानीको लाइन नै अवरुद्ध भइरहने समस्या छ। वडा नम्बर ३ को गाराकु मुल र सोही वडाको मालबेला मूलबाट वडा नम्बर ४ बांगाबगडमा ल्याइएको खानेपानीका पाइपहरु सडक निर्माण गर्दा प्रत्येक दिन काटिने गरेको स्थानीयको गुनासो छ। 

लाइन काटिँदा खानेपानीको चरम समस्या झेल्नु परेको स्थानीय राजमती बोहराले बताइन्। खानेपानीको लाइनमा केही दिन पानी नै नआउने, आए पनि कतिबेला आउँछ भन्ने थाहै नहुने उनको भनाइ छ।

जोखिमा घर

घरमाथिबाट सडक खन्ने काम हुँदा हसिराम पार्कीका दुई भाइको घर जोखिममा परेको छ। अमरराम पार्की र जनकराम पार्कीको घर पनि जोखिममा परेको उनीहरुको गुनासो छ।

घरमाथि भिरालो स्थानमा डोजर चलाएर सडक निर्माण गर्दा खोजिम हुने सक्ने कुरालाई सरोकारवालाहरुले ध्यानै नदिएको हसिरामको गुनासो छ। घरभन्दा माथि सडक खन्दा तलतिर रहेको बस्ती मात्रै होइन, खोलापारि रहेका घरहरुमा समेत क्षति पुग्ने अवस्था आएको महाकाली नगरपालिका–१ का राजेन्द्रसिंह धामीले बताए। उनले भने, ‘पार्की दाजुभाइहरुको घरमा क्षति पुग्ने त देखिन्छ खोलावारि भएका हाम्रो घरहरुमा समेत क्षति पुग्ने सम्भावना छ।’

कार्यालयको प्रष्टीकरण

निर्माणाधीन सडक बैतडीमा रहेको प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयको प्रत्यक्ष निगरानीमा छ।

खलंगा–काटै–दल्लेक सडक सञ्चालन गर्न मेसिन नै सडकमा राखेर काम भई रहेको पूर्वाधार विकास कार्यालय बैतडीका ईन्जिनियर मदनराज जोशीले जानकारी दिए। उनले भने, ‘माथिबाट आएको ढुंगामाटो हटाउँदै खलंगा–काटै–दल्लेक सडकलाई सञ्चालन गर्ने गरी सडक मै मेसिन राखिएको छ।’ 

स्थानीयले जुन ठाउँबाट सडक निर्माणको माग राखेका हुन् सोही स्थानबाट सडक निर्माण हुने गरी डिपीआर निर्माण गरेरै सडक निर्माण गरिएको उनको भनाइ छ। सडक र खानेपानीको लाइनमा क्षति भए तत्काल मर्मत गर्ने व्यवस्था गरिएको र स्थानीयको घर बचाउन पनि योजना बनाइने उनको भनाइ छ।

स्थानीयको घरलाई कसरी सुरक्षित गर्न सकिन्छ भनेर फिल्डमा रहेका सबइन्जिनियर जितेन्द्र धामीले निर्देशन दिइसकिएको जोशीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.