प्रक्रिया पूरा गरेर नेपालकै क्लबबाट खेल्ने तयारी

|

इलाम : पछिल्लो समय नेपाली फुटबलमा एकछत्र राज गरेको क्यामरुनी टोली दाफिन्स अन्ततः आफ्नै देश फर्कर्ने भएको छ। ६ वटा गोल्डकपको उपाधी र २ उपविजेता बनेको दाफिन्स भिषा म्याद सकिने लागेपछि क्यामरुन फर्किन लागेको हो।

टोलीका ९ जना खेलाडी फर्किसकेका छन भने ६ जना आगामी जुन १३ मा फर्कन लागेको दाफिन्सलाई नेपाल ल्याएको द फुटबल प्लेयर एजेण्ड नेपालका प्रतिनिधि सुगन तण्डुकारले जानकारी दिए। सिजनको सर्वाधिक राशिको खप्तड गोल्डकपको लागि नेपाल आएको टोलीले त्यसपछि नेपालमा आयोजना भएको साना ठूला गरी १० भन्दा बढी प्रतियोगितामा सहभागीता जनाएको थियो।

दाफिन्सले पोखरा कप, २१औँ बूढासुव्वा गोल्डकप र २१औँ तिलोत्तमा गोल्डकप जित्दै उपाधीमाथि ह्रयाट्रिक गरेको थियो। त्यसपछि उस्ले भरौल गोल्डकप, मनमोहन दुहवी गोल्डकप र इलामको माइभ्याली गोल्डपको उपाधी जितेको थियो। हेटौँडाको शहीद स्मृती गोल्डकप र धनकुटाको भीमनारायण गोल्डकपमा उपविजेता बनेको थियो।

दाफिन्सले नेपाली फुटबलका पावर हाउस रुस्लान थ्रीस्टार, लिग लिडर मनाङ, विभागीय टिमहरू त्रिभुवन आर्मी, शसस्त्र प्रहरी र नेपाल पुलिस क्लबमाथि बलियो चुनौती पेश गरेको थियो।

एन्फाले नेपालको प्रतियोगितामा दाफिन्सको सहभागीता गैरकानुनी भन्दै आए पनि कारवाही गर्न सकेको थिएन। गोल्डकप प्रतियोगितामा दर्शक र आयोजकको क्रेजपछि एन्फा कारवाही प्रक्रियाबाट पछि हट्न बाध्य भएको थियो। दाफिन्सका यान्निक ओवाना र विक विकले संकटा क्लबबाट भारतको आसाममा सम्पन्न सिइएम गोल्डकपमा समेत सहभागीता जनाएका थिए।

त्यसैगरी अन्य खेलाडीले च्यासल युथ क्लब, गोर्खा व्वाइज, चितवन एफसी, नुवाकोट एफसी लगायतका क्लबबाट विभिन्न गोल्डकपमा सहभागीता जनाए।

प्रक्रिया पूरा गरेर नेपालकै क्लबमा अनुबन्ध हुने

खेलाडी क्यामरुन फर्किए पनि प्रक्रिया पूरा गरेर नेपालको क्लबमा आवद्ध भएर खेल्ने तण्डुकारले बताए। दाफिन्सका खेलाडी मछिन्द्र क्लब, भ्याली च्यासल, न्युरोड टिम (एनआरटी) र संकटाबाट ३/३ जना तथा सरस्वतीबाट २ जना खेल्ने प्रक्रियामा रहेको उनले बताए।

‘खेलाडीले यो साताभित्रमा क्लबमा साइन गरेर फर्किनेछन्’ उनले भने ‘वर्क पर्मिट बनेको खण्डमा गोल्डकपमा समेत सहभागिता जनाउनेछन्, नभए आगामी शहिद स्मारक लिगमा क्लबबाट अनुबन्ध भएर खेल्नेछन।’ ५ महिने भिषामा नेपाल आएको दाफिन्सको समयावधी अझै १ महिना रहेको तण्डुकारले बताए।

यसअघि पनि सगुनले नेपालका विभिन्न क्लबबाट खेल्दै आएको अफ्रिकी मुलका खेलाडीलाई समेटेर अफ्रिकन युनाइटेड नामबाट फुटबलमा सहभागी गराउँदै आएको थिए। उनले लिगपछि क्लबबाट रिलिज भएको खेलाडीलाई समेटेर बनाएको क्लबले १५औँ बूढासुव्वा गोल्डप र सन २०१४ को उदयपुर गोल्डकपको उपाधी जितेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.