|

प्यूठान : प्यूठानमा विगतका वर्षमा गाउँमा मकै छरेर उम्रने समय भइसक्यो तर पानी परेको छैन। पानी नपर्दा मकै राम्रोसँग उम्रन पनि पाएन भने खेतमा धानको बीउ पनि राख्न नपाएपछि स्थानीयले भजनकीर्तन र पूजापाठ गरी भगवानसँग पानी मागेका छन्।

दुई महिनादेखि पानी नपर्दा गाउँघरमा किसानले चैतमा छर्ने मकै छरेका छैनन्। जेठमा राखिने धानको बीउ राख्न पनि नसक्ने अवस्था छ। केही बारीमा छरिएका मकै सुक्ने थालेपछि स्थानीय चिन्तित बनेका छन्। वर्षभरी खाने खेतीपाती लगाउने समयमा पानी नपरेपछि बाली लगाउन र जोगाउन समस्या भएपछि पानीको माग राख्दै भगवान् गुहार्न पुगेका हुन्।

झिमरुक गाउँपालिका १ गर्तुङखोलाका कृषकहरुले बाजागाजा बजाएर भजन किर्तन र पूजापाठ गरी इन्द्रको प्राथना गरेको स्थानीय झविन्द्र ज्ञवालीले बताए। हिन्दु संस्कारअनुसार पानी नपरे देवदेवताको पूजापाठ गर्ने, बाजा बजाउने, भ्यागुताको बिहे गरिदिइ भगवान् इन्द्रले धर्तीमा पानी पारिदिने विश्वास रहिआएको उनी बताउँछन्।

सोहीअनुसार स्थानीयले गौमुखी गुफामा पुगी प्राथना गरेका हुन्। स्थानीयले भोको पेट, खाली खुट्टा चार किमि ओरालो झरेर पुरानो संस्कारअनुसार आठ घण्टा पूजापाठ गरेको ज्ञवालीले जानकारी दिए।

वडा अध्यक्ष पनि भगवान्‍सँग पानी माग्न

भगवान् इन्द्रसँग पानी माग्न झिमरुक गाउँपालिका १ का वडा अध्यक्ष ध्रुव खनाल पनि पुगेका थिए। परापूर्वकालदेखि नै यहाँ पूजापाठ गरेर पानी माग्ने चलन भएका कारण स्थानीयलाई लिएर पानी माग्न आएको वडा अध्यक्ष खनालले जानकारी दिए।

उनका अनुसार लामो समय पानी नपरेपछि किसानका खेतबारी बाझै रहने स्थिति आउन थालेपछि यसरी भजनकीर्तन र पूजापाठ गरिएको हो। इन्द्रलोकमा भगवान् इन्द्रले सुन्ने गरी बाजा बजाए पानी पर्ने पुरानो मान्यता रहेकाले यो बर्ष पनि बाजा बजाएर पूजा पाठ  गरिएको उनको भनाइ छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.