|

सोलुखुम्बु : वसन्त ऋतुको यो सिजनमा आजसम्म चार सयभन्दा बढी आरोहीले सगरमाथाको आरोहण गरेका छन्। पर्यटन विभागबाट आरोहण अनुमति लिएका आरोही र उनका सहयोगीसहित ४०० भन्दा बढीले आरोहण गरेको पर्यटन पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।

सम्पर्क अधिकृत श्रेष्ठका अनुसार आज बिहीबार मात्रै १२० जना भन्दा बढी शिखरमा पुगेर फर्कदैछन्। ५५ जना विदेशी र ३ नेपाली आरोही सहित उनीहरूको सहयोगी समेत गरि १२० भन्दा बढी शिखरमा पुगेको बताइएको छ।

'बिहीबार र शुक्रबारको मौसम रिपोर्ट अनुसार आरोहणको लागि अनुकुल मानिएको छ' आधार शिविरबाट टेलिफोन सम्पर्कमा पर्यटन विभागका सम्पर्क अधिकृत श्रेष्ठले भने, 'भोलिसम्म आरोहीको चाप हुन्छ। अनी त केही कम मात्रमा जान्छन्।' आरोहण अनुमति लिने मात्रै के कति शिखरमा पुगे भन्ने रिपोर्ट संकलन गर्न केही समय लाग्ने उनको भनाई छ।

यो वर्षको आरोहण बैशाख ३१ गते मंगलबारदेखि सुरु भएको थियो। आरोहण सुरु भएको तीन दिन पछि मौसम अनुकूल नहुने भएपछि जेठ ३ गते देखि पाँच गते सम्मको लागि आरोहण स्थगीत गरिएको थियो। सम्पर्क अधिकृत श्रेष्ठले भने, 'आरोहणको क्रममा हुनसक्ने क्षति न्यूनीकरण गर्नको लागि हदै सम्मको सचेतता अपनाइएको छ।'

यो सिजनमा सगरमाथा अरोहणका लागि ४१ समुहका ३६७ जनाले आरोहण अनुमति लिएका थिए। आरोहीलाई सफल आरोहण गराउने जिम्मेवारी उनीहरूका सहयोगीको हुने भएकाले सगरमाथको शिखरमा पुग्नेको संख्या भने बढी हुन्छ।

दुई एकल महिला सगरमाथाको शिखरमा

आरोहण यात्रामा रहेका दुई एकल महिलाले सगरमाथाको शिखरमा पाईला टेकेका छन्। ‘हामी पनि गर्न सक्छौं’ भन्ने नारासहित सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–४ खुम्जुङका निमाडोमा शेर्पा र फुरदिकी शेर्पाले सगरमाथाको सफल आरोहण गरेका हुन्।

सगरमाथा क्षेत्रमै पति गुमाएका निमा डोमा शेर्पा र फुरदिकी शेर्पाले बिहीबार बिहान ५ः२५ मा सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागका सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिए। निमा डोमा शेर्पाका पति छिरिङ वाङछु शेर्पाले ५ वर्षअघि सगरमाथामा गएको हिमपहिरोमा परेर ज्यान गुमाएका थिए भने फुरदिकीका पति मिङमार शेर्पाको ६ वर्षअघि सगरमाथा चढ्ने बाटो बनाउँदै गर्दा खर्पसमा भासिएर ज्यान गएको थियो।

हिमालबाट खोसिएको खुशी हिमालमै खोज्ने भन्दै फरदिकी र निमा डोमाले आरोहण यात्रा तय गरेका थिए। एकल महिला सँधै शोकमा बस्ने होइन शोकलाई शक्तिमा बदल्नुपर्छ भन्ने सन्देश दिनको लागि आरोहण गरेको आरोही महिलाको भनाई छ। वर्षेनी हिमाली क्षेत्रको पदयात्रमा गएका सयौ आरोही र उनका सहयोगीको मृत्यु हुने गरेको छ। आरोही महिलाले भने आफूहरू जस्तै हिमालमा पति गुमाएका एकल महिलालाई सहयोग गर्ने लक्ष्य राखेका छन्।

आफन्त बियोगले कोठामै दिन कटाइरहेका एकल महिलालाई विभिन्न सीप र योजना दिएर संघर्षको मैदानमा उतार्ने लक्ष्यसहित अभियानका लागि सगरमाथा अरोहणमा गएको उनीहरूको भनाई छ। पतिसँगै जोक्पे लिएर धेरैपटक आधारशिविर पुगेका फरदिकि र निमाले पति गुमाएपछि पनि यो पेशालाई निरन्तरता दिँदै उचाई तर्फ लगेका हुन्। सगरमाथाको शिखरमा पुगेर फर्केपछि सगरमाथालगायत हिमालयमा ज्यान गुमाउनेका पत्निलाई संगठित गर्दै संस्था खोल्ने समेतको उनीहरूको योजना छ।

पाँच जनाको मृत्यु

आरोहण सिजन सुरु भएदेखि आजसम्म पाँच जना आरोहीको मृत्यु भएको छ। सबैभन्दा बढी भारतीय नागरिकको मृत्युको भएको छ। उनीहरूको आरोहण सकेर फर्कने क्रममा मृत्यु भएको सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.