|

प्यूठान : पाँचऔले जटामसी, यार्सागुम्मा, बुकी, सुगन्धवाल, कुट्की, टिमुर, अल्लो, धस्रिङग्रे लगायतका बहुसंख्यक बहुमूल्य जडिवुटी पाइने ठाउँ हाे प्यूठानकाे स्याउलिवाङ। स्याउलिवाङ चारै तिरको मनोरम दृश्याबलोकन नेपाल तथा भारतसम्मका समथर भूभाग होस् या दन्त्य लहरको रुपमा उत्तरको हिमाल होस्, मान्छे जव यहाँ आइपुग्छन तव चुम्न पुग्दछन्, लालायित हुन्छन् तर विकासको दृष्टिकोणमा भने ठगिएको याे स्याउलिवाङ। 

प्यूठानको नौबहिनी गाउँपालिका धार्मिक पर्यटकीय गन्तब्य हो। पर्या तथा साहसिक पर्यटनको खानी स्याउलिवाङ मानिन्छ। तर सडक, विद्युत लगायतका विकासका पूर्वाधारमा भने अभाव खड्किएको छ। सदरमुकाम देखि करिव ३५ कोषको दूरीमा रहेको यस गाउँमा न त विद्युतीकरणबाट घर झममल्ल बनाउन सकिएको छ। न त विरामी परेकै समयमा यातायातबाट स्वास्थ्य संस्था पुग्न सकिएको छ। वर्षौदेखि विकासका पर्खाइमा रहेका स्थानीय यातायात तथा विद्युतको पहुँचमा पुग्न नसक्दा चिन्तित छन्।

सडक विस्तारको अभावका कारण स्याउलीवाङको विकासमापछि परेका स्थानीय बताउछन्। जिल्लाको मुख्य बजार बाग्दुलादेखि २५ कि.मि. दूरी कच्ची सडक हिडेपछि लिघासम्म पुग्न सकिन्छ। लिघाबाट करिव १० किमी करिव दुई घण्टा पैदल यात्रा गरेर मात्रै स्याउलिवाङ पुग्न सकिन्छ। तर प्यूठानको गौमुखी गाउँपालिकाको रजवारा हुँदै स्याउलीवाङसम्म मोटरबाटो रहे पनि स्थानीय लिघाबाट हिडेर छिटो पुग्ने गरेको स्थानीय पूर्ण बुढामगरले बताए। 

पर्यटनका अनेक संभावनाले युक्त नौबहिनी क्षेत्र पर्यटनको भर्जिन ल्यान्ड हो। यहाँका थुप्रै पर्यटकीय गन्तव्य पर्यटकको पर्खाइमा रहेका छन्। आन्तरिक तथा बाह्य पर्यटकको प्रतीक्षा गरिरहेका नौबहिनी, कोठीभिर लगायतका पर्यटकीय गन्तव्यमा पर्यटक पुर्‍याउन राज्यको तर्फबाट गर्नुपर्ने कामहरू बाँकी नै छन्।

 पर्यटनका बहुआयामिक सम्भावनालाई प्राप्त गर्न सरोकारवालाको समयमै ध्यान पुग्नु अत्यन्तै जरुरी रहेको उत्तर प्यूठानबासी तथा नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष महाविर रानामगरले बताए।

‘विकासका पूर्वाधारको अभावमा उत्तरी प्यूठान तड्पिरहेको छ’ अध्यक्ष रानामगरले भने‘अव विकास दुर्गमबाट शुरु गर्नुपर्ने देखिएको छ।’ उत्तरी प्यूठानको विकास जडिवुटी, स्थानीय उत्पादन, कला कौसलको वजारीकरणको लागि पनि ग्रामीण पर्यटन खाँचो रहेको र अव्वल गन्तब्यहरू आफूसँग रहेका कारण पनि पर्यटक प्रवद्र्धन मुख्य रणनीति हुनु जरुरी रहेको उनको भनाई छ। 

प्यूठानको सर्वोच्च शिखरमा राष्ट्रिय झण्डा

प्यूठानको सर्वोच्च शिखर कोठीभिरमा राष्ट्रिय झण्डा फहराई नौबहिनी गाउँकार्यपालिकाको बैठक बसेको छ। प्यूठानका साहसिक तथा पर्या पर्यटनको रुपमा विकास हुँदै गइरहेको स्याउलिवाङको कोठीभिरमा गाउँ कार्यपालिकाको बैठक बसेको हो। भौगोलिक रुपमा दुर्गम र विकास प्रक्रियामा  पिछडिएका पछाडि परेकोे स्याउलिवाङमा रहेको उच्च भूभाग कोठिभिरबाट विकास सन्देश प्रवाह गर्ने उद्देश्यले बैठक बसेको नौबहिनी गाउँपालिकाका अध्यक्ष शिव रिजालले बताए। 

गाउँपालिकाका अध्यक्ष शिब रिजालको अध्यक्षतामा सोमबार बसेको वैठकले प्रत्यक्ष सडक सन्जालले नजोडिएको जिल्लाकै एकमात्र गाउँ स्याउलिवाङमा आगामी एकवर्ष भित्रमा मोटर बाटो पुर्‍याउने, नौबहिनी, कोठीभिर, कोट्वारा दह लगायत गाउँपालिका क्षेत्रभित्र रहेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन एवं विकास गर्ने, गाउँपालिकाको समृद्धिका लागि नमूनायोग्य र योजनावद्द कार्यक्रमहरू संचालन गर्ने लगायतका निर्णयहरू गरेको नौबहिनी गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत थानेश्वर भण्डारीले जानकारी दिए। 

समुन्द्री सतहबाट ३६५९ मिटर उचाइमा रहेको कोठिभिर नौबहिनी गाउँपालिका १ स्याउलिवाङमा अवस्थित छ। बैठक अघि कोठिभिरको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा फहराइएको थियो भने उक्त बैठकमा बिभिन्न राजनीतिक दल,अगुवा समाजसेवी र पत्रकारलाई पनि सहभागी गराइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.