नेपाल बन्दसहितका कार्यक्रम घोषणा

|

काठमाडौं : आफ्ना कार्यकर्ताको प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आक्रोश व्यक्त गरेका छन्। 

युवा संगठनका सदस्य तीर्थराज घिमिरेलाई भोजपुरको ट्याम्के-मैयुङ गाउँपालिकास्थित धोद्रे जंगलबाट प्रहरीले गिरफ्तार गरी हत्या गरेको भन्दै विप्लवले यसको बदला लिने चेतावनी दिएका हुन्। उनले यो घटनालाई भिडन्तको झुटो प्रचार नगर्न पनि सरकारलाई भनेका छन्। 

चन्दले राज्यले आफ्ना कार्यकर्ताको हत्या र दमन अभियान चलाएको आरोप लगाएका छन्। उनले सामान्य कार्यक्रममा हिँडिरहेका युवा संगठनका कार्यकर्ता तीर्थ घिमिरे ‘राजु’लाई नियन्त्रण लिई भिडन्तको बहानामा प्रहरीले हत्या गरेको भन्दै बदला लिने चेतावनी दिएका हुन्।

विप्लवले विज्ञप्तिमा जेठ १३ गते नेपाल बन्दसहितका चरणबद्ध संघर्षका कार्यक्रमसमेत घोषणा गरेका छन् ।‘केपी ओलीको सामाजिक फासीवादी सरकारका विरुद्ध सबै क्षेत्रबाट जनआक्रोश देशव्यापी बढिरहेको छ। यही अवस्थामा हाम्रो पार्टीप्रति जनताको आकर्षण, विश्वास र भरोसा बढ्दै गएको सर्वविधितै छ', उनले भनेका छन्, 'सरकाले हाम्रा नेता र कार्यकर्ताको हत्या र दमनको अभियान चलाउँदै आएको छ। कमरेड तीर्थ घिमिरेलाई नियन्त्रणमा लिएर निर्ममरुपमा हत्या गरिनुले यो सरकारको फासीवादी अनुहार नाङ्गिएको छ। सरकारले हत्याको सहारा लिएर जनमुक्ति अभियानलाई रोक्ने दुस्साहास गरिराखेको छ । उनीहरुले यस्तो दुस्सपना नदेखे हुन्छ ।’

हत्याको साहारा लिएर  मुक्ति अभियान नरोकिने उनले बताएका छन्। 'केपी सरकारले बुझ्न जरुरी छ कि उसले गरेको जघन्य हत्याको बदला जनताले उचित समयमा लिने नै छन् । केपी-पीके सरकारले हाम्रो पार्टीमाथि लगाएको प्रतिबन्ध, गिरफ्तारी, दमन, चरम यातनाका साथै हत्यासम्म उत्रिएर देशलाई योजनाबद्ध तरिकाले गृहयुद्धमा धकेल्ने कुचेस्टा गरिराखेको छ', विप्लवले भनेका छन्, 'केपी सरकारको यस्तो निकृष्ट हर्कतको सबै मानवअधिकार कर्मी, नागरिक समाज, पत्रकारले डटेर विरोध गर्नुका साथै कमरेड तीर्थराज घिमिरेको हत्या घटनाको सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न माग गर्दछौँ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.