गिधनीयामा अवरोध भइरहे बल प्रयोग गर्ने चेतावनी

|

विराटनगर : विद्युत् प्राधिकरणले एडिबीको ऋण सहयोगमा देशभरमा २५ वटा ३३ केभिए प्रसारण लाइनको सबस्टेशन निर्माण गरिरहेको छ। त्यसमा नारायणी नदी पूर्व १३ वटा र पश्चिममा १२ वटा सव स्टेसन पर्ने नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख बोधराज ढकालले जानकारी दिए। 

सबै आयोजना अबको ४/५ महिनाभित्र सम्पन्न हुने उनको भनाइ छ। एडिबीले उक्त २५ वटा शवस्टेशन निर्माणका लागि १४ करोड अमेरिकी डलर ऋण सहयोग गरेको हो। सन् २०१६ जुनमा सम्झौता भएको उक्त परियोजनाअन्तर्गत कटहरी ३३-११ केभी सवस्टेशन भने २०१६ अगस्ट २४ देखि निर्माण सुरु भएको हो। काम सम्पन्न गर्नुपर्ने समायावधि २०१८ अगस्ट २४ भए पनि विभिन्न अवरोधका कारण सम्पन्न हुन नसकेको ढकालले बताए। 

नारायणी पूर्वका आयोजना मध्ये झापाको घैलाडुब्बामा निर्माण सम्पन्न भइसकेको छ भने सप्तरीको बाधेबर्साइनमा एकहप्ताभित्र संचालनमा आउने ढकालले बताए। उनका अनुसार पर्साको सेढुवा, रौतहटको मौलापुर, मोरङको उर्लाबारी, झापाको जुरोपानी लगायतका शवस्टेन निर्माण भइरहेको भए पनि विभिन्न अवरोध झेल्नु परिरहेको छ। ‘दुहबी-कटहरीको ३३ केभी प्रसारण लाइन निर्माणको क्रममा भएको अवरोध अलिक जटिल छ’, ढकालले भने, ‘सोही कारण समयमै काम सम्पन्न हुन सकेन।’

सवस्टेशन निर्माण हुनुभनेको आफ्नै लागि हो भन्ने कुरा सर्वसाधारणमा चेतना नहुँदा समस्या भएको उनको भनाइ छ। ‘विद्युत्को लाइन निर्माण गर्दा हामीले जनताको घरबाट २ मिटर परबाट मात्रै निर्माण गर्ने गरेका छौं’, ढकालले भने, ‘तर केही कुत्सित मनसाय भएका व्यक्ति तथा अगुवाले नै सर्वसाधारणमा भ्रम फिँजाएको कारण समस्या भएको छ।’

‘गिधनीयामा अवरोध भइरहे बल प्रयोग’

विद्युत् प्राधिकरणले सडकको डिल हुँदै १८ किलोमिटर लामो ३३ केभिए दुहबी-कटहरी प्रसारण लाइन ल्याउन पोलसमेत गाडिसकेको छ। तर अन्तिम समयमा स्थानीयको अवरोधका कारण ३ किलोमिटर क्षेत्रमा पोल भएर पनि तार टांग्न सकेको छैन। प्राधिकरणको उक्त परियोजनाका प्रमुख ढकालले राजनीतिक हिसावले उब्जिएको समस्या भएको कारण अवरोध खुलाउने त्यही अनुसार पहल भइरहेको बताए।

यद्यपि समस्या हल गर्न सबै उपाया अपनाउँदा पनि सम्भव नभए बल प्रयोग गरेर प्रसारण लाइन सम्पन्न गर्ने उहाँले बताए। ‘हामीले स्थानीय जनप्रतिनिधि, गाउँपालिकाका प्रमुख, उपप्रमुख प्रदेशसभाका सांसद, प्रतिनिधिससभाका सांसद, स्थानीय संघर्ष समितिका मान्छेहरूसँग पटकपटक छलफल गरेका छौं’, ढकालले भने, ‘अब पनि समस्या समाधानका लागि ठोस निष्कर्ष ननिस्कने भए सुरक्षा संयन्त्रको सहयोगमा बल प्रयोग हुन्छ।’ 

उनले ग्रामथान ५ गिधनीयाका स्थानीयले भनेजस्तो वस्तीबाट प्रसारण लाइन विस्तार गरेको नभइ सडकको डिलबाट ल्याइएको बताए। अन्तिम समयमा आएर लाइनको रुट परिवर्तन हुनै नसक्ने उनको भनाइ छ। ‘अब हामीले त्यो एलाइनमेन्ट भन्दा अर्को विकल्प सोच्न थाल्यौं भने झन् ठूलो समस्या आइलाग्छ’, उनले भने, ‘त्यसकारण फकाएर हुन्छ। या बलप्रयोग गरेर हुन्छ त्यसैलाई हामी क्लियर गर्छौं।’

सर्वसाधारणले भनेको अन्डरग्राण्ड गर्ने, पोल अग्लो बनाउने या कभर दिने कुरा पनि अब सम्भव नहुने विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना विराटनगर डिभिजनका इन्जिनियर प्रमोद खनालको भनाइ छ। इन्जिनियर खनालले अण्डरग्राउण्ड गर्दा अहिलेभन्दा १३ गुणा महँगो पर्न जाने बताए। ‘अन्डरग्राउण्ड गर्ने भनेको स्टिमेट अनुसार पनि भएन। अत्याधिक महँगो पनि भयो’, उनले भने, ‘अन्तिम समयमा त्यसो गर्न सकिँदैन।’ उक्त प्रसारण लाइनमध्ये दुहबी क्षेत्रको हाइवेमा डेढ किलोमिटर अन्डरग्राउण्ड गरिएको छ।

प्रसारण लाइन निर्माण भएर कटहरी १ स्थित महेशपुर खोरियामा रहेको सवस्टेशनमा चार्ज हुने छ भने कटहरी क्षेत्रका उद्योग र ग्राहस्थ फिडरमा विद्युत् वितरण हुने छ। उक्त स्टेशन संचालन हुनसके विराटनगरमा हाल देखिएको लोभोल्टेजको समस्या हल हुने र कटहरी क्षेत्रका उद्योगलाई पनि राहत पुग्ने इन्जिनियर खनालले बताए।

खनालका अनुसार कटहरी सवस्टेशन तत्कालै संचालन गर्न नसके विराटनगरको माग अनुसार बढी लोड हुने र लोडसेडिङ गर्न बाध्य हुनुपर्ने अवस्था आउने छ। स्थानीय अवरोध हट्ने हो भने २५ दिनभित्रमा सबस्टेशनमा विद्युत् चार्ज गर्न सकिने ढकालको दाबी छ। 

भ्रममा नपर्न स्थानीयलाई आग्रह

इन्जिनियर खनालले जनता भ्रममा परेको विषयमा आफू जानकार रहेको बताए। ३३ केभिए प्रसारण लाइनको आसपासका सर्वसाधारणमा क्यान्सरको जोखिम हुने, गर्भपतन हुने, छालामा समस्या हुने, जग्गाको मूल्यांकन कम हुने विषय हल्ला मात्रै भएको उनको भनाइ छ। ‘मैले विद्युतकै विषयमा डिग्री गरेको छु। मैले कोही पनि विद्युतकाे प्रसारण लाइनको कारण समस्या भएको पढेको पनि छैन। देखेको पनि छैन’, उनले भने, ‘यस्तो समस्याको विषयमा अझै बुझ्नु परे सर्वसाधारणले विशेषज्ञ डाक्टरसँग बुझ्न आवश्यक छ। त्यस्तो हुने हो भने दुहबी स्टेसनमा त त्यो भन्दा बढी पावरको प्रसारण लाइन छ त। खोइ कसैलाई केही भएको छैन त।’

ढकालले पनि अहिलेसम्म ३३ केभी प्रसारण लाइनबाट देशभरमा १ जना मानिसमा पनि समस्या आएको रेकर्ड नभएको बताए। ‘बरु साना साना लाइनबाट समस्या आएको छ’, उनले भने, ‘यो त सबैभन्दा सुरक्षित लाइन हो। यसमा धेरै विज्ञता हासिल गरेकाहरूबाट स्वीकृत भएको विषय हो। हल्लाको पछि सर्वसाधारण दौडने होइन।’

मंगलबार संसदको सार्वजनिक लेखा समितिमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नेकपाका सांसद अमनलाल मोदीबीच भनाभन भयो। भनाभनकै क्रममा घिसिङले सांसदको असहयोगकै कारण दुहबी-कटहरी प्रसारण लाइनमा तार टांग्न नदिएको आरोप लगाएका थिए। सांसद मोदी सोही क्षेत्रबाट निर्वाचित जनप्रतिनिधि हुन्।

प्राधिकरणले बस्ती छल्दै सडकै सडक प्रसारण लाइन लैजान खोजिएको र रुट परिवर्तन गर्न नसकिने जनाएको छ। तर, स्थानीयले भने बस्तीबाट कुनै पनि हालतमा प्रसारण लाइन जान नदिने बताउँदै आएका छन्।

 ग्रामथान गिधनीयाका ५०० बढी घर परिवार एक्स्टेन्सन लाइनबाट प्रभावित हुने संघर्ष समितिका संयोजक भक्कुलाल विश्वास बताउँछन्। विश्वासका अनुसार संघर्ष समितिमा बुढीगंगाका स्थानीय पनि जोडिँदा १ हजार घरधुरी हुने दाबी गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.