|

२०१७ को जनवरीमा फिफा कंग्रेसमा एउटा महत्‍पूर्ण प्रस्ताव प्रस्तुत भयो। त्यो थियो विश्वकप फुटबलको बढ्दो लोकप्रियतालाई थप व्‍यवस्थित र सहभागितामुलक बनाउन ४८ राष्ट्रको विश्वकपलाई २०२६ बाट लागू गर्ने। यो प्रस्ताव सर्वसम्मत पारित मात्र भएन युरोपियन केही राष्ट्रबाहेक विश्वभर यसको खुलेर प्रशंसा भयो।

तर, यही बीचमा फिफा अध्यक्ष जियानी इन्फान्टिनोले केहि महत्वपूर्ण निर्णयको प्रयास गरे। उनले ४८ राष्ट्रको सहभागिता २०२२ को कतार विश्वकपमै पुर्‍याउने असफल प्रयास गरे। त्यसको पछि पश्चिमा मिडियाहरूले इन्फान्टिनोलाई नोवेल शान्ति पुरस्कारको अपेक्षा रहेको दाबी गरेका छन्। उनीहरूको दाबी छ ‘इन्फाटिनो फुटबलमार्फत बढ्दो अरब संकट अन्त गर्न चाहन्थे। फुटबल कूटनीतिको उनले भरपुर प्रयोगको प्रयास पनि गरे। उनको मनमा नोवेल पुरस्कारको अपेक्षा थियो।’

त्यसो त इन्फाटिन्नोको सक्रियाता कतारमाथिको नाकाबन्दीपछि थप बाक्लिएको थियो। तर, उनको प्रयासलाई नाकाबन्दी गरिरहेका साउदी अरेबेया र युएईलगायतले घुमाउरो पाराले अस्वीकार गरे। त्यसपछि कतार संकटमा सहयोगी रहेका कुवेत र ओमानलाई पनि उनले सहआयोजकका रूपमा हेरेका थिए। तर, उनीहरू कतार आफैँले यति ठूलो लगानी गरेपछि त्यसको जस आफूहरू लिनुहुन्न भन्ने पक्षमा थिए।

ओमान र कुवेतले सिधै नाइँ नभने पनि तोकिएको समयमा पूर्वाधार निर्माण नहुने सम्‍भावना इन्फान्टिनोलाई देखाएर अप्रत्यक्षरूपमा सहआयोजकका रूपमा नरहने संकेत दिए। जसका कारण इन्फाटिनोको कतार विश्वकपबाटै ४८ राष्ट्र पुर्‍याउने सपनाको औपचारिक अन्त भयो। कतार विश्वकपमा ३२ राष्ट्रनै रहने निर्णय गर्दै इन्फाटिन्नोले भने, ‘यो २१ औं शताब्दी हो। यो चरणमा विश्वलाई फुटबलमा थप अपनत्व महसुस गराउने प्रयास गरिएको थियो। तर, बढ्दो अरब संकटलाई मध्यनजर गर्दै तत्काल ४८ राष्ट्रबाट पछि हट्ने निर्णय गरिएको छ। तर, २०२६ बाट भने यो लागू हुने निश्चित छ।’

फिफाले पनि औपचारिक धारणा सार्वजानिक गर्दै भनेको छ, ‘४८ राष्ट्रको विषयमा व्‍यापक र गहन छलफल भयो अब छोटो समयमा यो ठूलो आयोजनालाई परिवर्तन गर्न सकिँदैन।’ यद्यपि, फिफाले कतार आफैँ ४८ राष्ट्रको आयोजना गर्न सक्षम भएको स्वीकारेको छ। उसले भनेको छ, ‘सुरुवातबाटै यो तयारीको जिम्मेवारी दिएको भए कतार सक्षम हुन्थ्यो। अब छोटो समय र उमाथिको नाकाबन्दीलाई ध्यानमा राखेर ४८ राष्ट्रको आयोजनाको जिम्मेवारी दिन नहुने निष्कर्षमा हामी पुगेका छौँ’ उसले भनेको छ।

काफ्रिन विपक्षमा

युरोपियन फुटबल महासंघ (युएफा) का अध्यक्ष अलेक्जेन्डर क्याफ्रिनले गत नोभेम्बरमानै २०२२ मा कतारमा गर्ने तय भएको विश्वकपमा ४८ राष्ट्र पुर्‍याउनुनहुने बताएका थिए। उनले भनेका थिए, ‘२०२२ मा १६ टिम थपिए, यसले धेरै समस्या निकाल्न सक्छ। त्यसैले यो विचार वास्तविक अवस्थाभन्दा धेरै टाढा छ।’

कतारलाई राहत

अब कतारमाथि ३२ या ४८ राष्ट्र हुने भन्ने मानसिक दबाब हटेको छ। अब  ३२ टिमको विश्वकपलाई ऐतिहासिक बनाउन आफू केन्द्रित हुने उदघोष गरेको छ।  साथै कतारलाई एकल आयोजनाको जिम्मेवारी खोसिने चिन्ताबाट समेत मुक्त भएको छ। यदि फिफाले टिमको संख्या बढाएको भए कतारले अन्य छिमेकीसँग विश्वकप आयोजनाका साझेदारी गर्नुपर्‍थ्यो। जुन कतार चाहँदैनथ्यो। किनकि कतार अहिले अरब राष्ट्रहरूबाट घेरिएकाले कम्तीमा आफ्नो एकल प्रयासमा विश्वलाई आफूमा केन्द्रित गर्न चाहन्छ।

कतार विगत लामो समययता बलिया छिमेकी राष्ट्रहरू साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइनलगायत देशबाट नाकाबन्दीको सिकार भइरहेको छ। कतारको संकटमा कुवेत र ओमानले साथ दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.