|

पर्वत : पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङका धनबहादुर भण्डारीको जीवनको जोहोको आधार थियो सुन्तला व्यवसाय। हरेक वर्ष ठूलो परिमाणमा सुन्तला बेच्ने गरेका उनले आफ्नो परिवार सुन्तला बिक्री गरेर आएको आम्दानीले पाल्ने गरेका थिए। तर, यस वर्षका लागि अब जहान कसरी पाल्ने, भन्ने चिन्ताले उनलाई सताएको छ। 

गत बुधवार अपराह्न चलेको हावासहितको मुसलधारे वर्षा र असिनाले उनको १६ रोपनी क्षेत्रफलमा लगाएको सुन्तला खेतीमा पूर्ण रूपमा क्षति भएको छ। उनले लगाएका सुन्तलाका बोटमा लटरम्म लागेका दानाहरू भुईँभरि भएका छन्। ‘हरेक वर्ष सुन्तला बिक्री गरेर नै परिवार पाल्दै आएको थिएँ, यस वर्ष दैव लाग्यो।’ भण्डारीले भने, ‘घर नै उडाउने गरी हावा चल्दा सुन्तलाका बोटहरू भाँचिएका छन्, पछि मुसलधारे वर्षा भयो, ठूला ठूला असिना परे सुन्तलाका भएभरका सबै दानाहरू झारेको छ।’ उनले वर्षमा झण्डै तीन लाख रुपैयाँ भन्दा बढीको सुन्तला बिक्री गर्दै आएका थिए।

धनबहादुर जस्तै दुर्लुङको केसरे गाउँका ३१ जना कृषकहरूले समूहमा मिलेर व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन्। सुन्तलाको पकेट क्षेत्रको रूपमा विकास गरिएको उक्त गाउँका सबैजसो बासिन्दाको प्रमुसख आम्दानी सुन्तला खेती हो। तर, यस पटकको हावा, हुरी, वर्ष र असिनाले ती सबै कृषहरुको क्षति पुर्‍याएको छ। सुन्तला मात्र होइन लप्सी उत्पादनमा पनि अब्बल मानिएको दुर्लुङमा रहेका लप्सीका बोटहरू दाना र पातविहीन भएका छन्। असिनाले लप्सीको दाना त के पात पनि नरहने गरी झारिदिएको छ।

दुर्लुङकै अर्का स्थानीय यामप्रसाद पाध्याको त घरको भित्ता नै भत्कीएको छ। उनको घरको पालीको छाना जोडसँग चलेको हावाले उडाएको छ भने घरको बुइँगलको भित्ता नै भत्किएर घरमा बस्न नै जोखिम भएको छ। ‘धन्न घरमा कोही नभएको बेला पर्‍यो र मानवीय क्षति हुन पाएन।’ उनले भने, ‘भित्ता भत्किएर घरमा बस्न नै जोखिम छ, भित्ताका ढुङ्गा खसेका छन्, घरको पालीको छाना उडाएको छ।’ पाध्याको घर मात्र होइन १४ रोपनी क्षेत्रफलमा लगाएको मकै बाली पनि असिनाले सखाप पारेको छ। 

जिल्लाका विभिन्न स्थानका कृषकहरूले दिएको जानकारी अनुसार बारीमा लगाइएका ठूलो परिमाणका काँक्रा, घिरौँला, सिमी, टमाटर लगायतका नगदे बालीहरूमा पनि ठूलो क्षति भएको छ। नगदे बालीको बिक्री गरेर जीविका गर्दै आएका कृषकहरूलाई यो पटक आर्थिक सङ्कट पर्ने भएको छ। जिल्लाको कुस्मा नगरपालिकाको दुर्लुङ सहित, कटुवाचौपारी, चुवा, खरेहा, पकुवा फलेवास नगरपालिकाको फलेवास, मुडिकुवा, शंकरपोखरी, लिमीठाना, कार्कीनेटा मोदी गाउँपाािलकाको बाजुङ, पातिचौर, राम्जा, क्याङ लगायतसातै स्थानीय तहमा हावा, वर्षा र असिनाले क्षति पुर्‍याएको छ।

कृषि ज्ञान केन्द्र कार्यालय पर्वतका प्रमुख वासुदेव रेग्मीका अनुसार पर्वत जिल्ला सहित बागलुङ जिल्लामा भएको क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको छ। यस वर्ष फागुनदेखि नै भइरहेको वर्षा र असिनाले कृषकहरूलाई ठूलो असर गरेको उनले बताए। यस वर्ष पटक पटक भइरहेको निरन्तरको वर्षा र पटक पटक परेको असिनाका कारण जिल्लाका अधिकांश कृषकहरू मारमा परेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.