|

पोखरा : कुल गार्हस्थ उत्पादन (जीडीपी) मा प्रदेश ३ ले सबै प्रदेशलाई उछिनेको छ। १४ खर्ब ३२ अर्ब ७५ करोड कुल गार्हस्थ उत्पादन रहेको प्रदेश तीन पछि दोस्रोमा प्रदेश १ रहेको छ। प्रदेश नम्बर १ को कुल गार्हस्थ उत्पादन ५ खर्ब ५ अर्ब ८४ करोड रहेको तथ्यांक विभागले जनाएको छ।

त्यस्तै, तेस्रोमा प्रदेश ५ रहेको छ। यस प्रदेशको कुल गार्हस्थ उत्पादन ४ खर्ब ५२ अर्ब ७९ करोड रहेको छ। चौँथो नम्बरमा प्रदेश २ रहेको छ। प्रदेश नम्बर २ को कुल गार्हस्थ उत्पादन ४ खर्ब ४४ अर्ब, ४९ करोड देखिएको छ। पाँचौँमा आफ्नो आर्थिक समृद्धिको प्रमुख आधार मानेको गण्डकी प्रदेश रहेको छ। गण्डकी प्रदेशको कुल गार्हस्थ उत्पादन २ खर्ब ८८ अर्ब, २० करोड रहेको छ।

६ नम्बरमा सुदूरपश्चिम प्रदेश रहेको छ। यस प्रदेशको कुल गार्हस्थ उत्पादन २ खर्ब २० अर्ब ९५ करोड रहेको छ। त्यस्तै, अन्तिममा कर्णाली प्रदेश रहेको तथ्यांक विभागका तथ्यांक अधिकृत अवजेश शुक्लाले जानकारी दिए। कर्णालीको सबैभन्दा कम कर्णाली प्रदेश १ खर्ब १९ अर्ब २५ करोड रहेको छ। यस्तै, आर्थिक वृद्धिदरमा प्रदेश ३ सबै भन्दा अगाडि छ। गण्डकी प्रदेश दोस्रो नम्बरमा छ।

तथ्यांक विभागका अधिकृत अबजेश शुक्लाका अनुसार जिडिपीमा प्रदेश नम्बर-३ को प्रतिव्यक्ति आय २०४९ डलर छ भने भने गण्डकी प्रदेशको प्रतिव्यक्ति आय ९ सय ४८ डलर रहेको छ। राष्ट्रिय प्रतिव्यक्ति आय जिडिपीअनुसार १ हजार ३४ डलर रहेको छ। तथ्यांकअनुसार प्रदेश नम्बर ५ को आर्थिक वृद्धिदर ७ दशमलव ३७ प्रतिशत र गण्डकी प्रदेशको ७ प्रतिशत छ। तथ्यांकअनुसार नेपालको कुल गार्हस्थ उत्पादन ३४ खर्ब रहेको छ।   

प्रदेशको कुल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान धेरै छ। अहिले सेवा क्षेत्रबाट ५२ प्रतिशत योगदान बताइएको छ। सेवा क्षेत्र अन्तर्गत थोक तथा खुद्रा व्यापार, होटेल तथा रेस्टुरेन्ट, यातायात, सञ्चार, तथा भण्डारण, वित्तीय मध्यस्थता, रियल स्टेट, तथा व्यावसायिक क्षेत्र पर्ने तथ्यांक विभागले जनाएको छ।

जिडिपीमा प्राथमिक क्षेत्रको योगदान ३१ प्रतिशत रहेको बताइएको छ। यस क्षेत्र अन्तर्गत कृषि तथा मत्स्य र खानी तथा उत्खनन् क्षेत्र पर्छन्। द्वित्तीय क्षेत्र अर्थात् निर्माण, उद्योग, र विद्युत, ग्यास तथा पानीको योगदान १७ प्रतिशत छ। कुल गार्हस्थ उत्पादनमा कृषिको झन्डै ३० र गैरकृषि क्षेत्रको योगदान ७० प्रतिशत रहेको तथ्यांक विभागले जनाएको छ।    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.